Translate

Thursday

कुरा हाम्रो दलनको !

image
'कसौटी जिन्दगीकी' र 'कुमकुम'का फ्यानका अगाडि नेपाली टेलिशृंखला निर्माण गर्नु कम्ती चुनौतीपूर्ण थिएन । भारतीय टेलिशृंखलाको फोटोकपीको आरोप नेपाली टेलिशृंखलाले खेपेकै थिए ।
स्वयम्भू विजेश्वरीमा एउटा समाज विकास छात्रावास छ जहाँ दलित समुदायका उच्च शिक्षा अध्ययन गर्ने विद्यर्थीले निःशुल्क बस्न पाउँछन् । म पनि केही समय त्यहाँ बसेँ । त्यही छात्रावासदेखि भृकुटीमण्डपको खुला चौरबाट जागरण मिडिया सेन्टरको यात्रा थालियो । मेरो दसवर्षे यात्रामा अघिल्लो वर्षबाट विराम लाग्यो, मिडिया सेन्टरमा । 'हामी सबै बराबरी' भन्ने हाम्रो आदर्श गलत थियो, सायद संस्थामा । दलित एनजिओभित्रको टुटफुटको शृंखला रोक्ने आदर्श र विभेदविरुद्ध मिलेर लड्ने प्रणका साथ जुटेका थियौँ हामी । तर, विडम्बना हाम्रै नेतृत्व गरिरहेका केही व्यक्तिले दलित एनजिओ फुटाउने कामको ठेक्का लिए । गलत प्रवृत्ति र व्यवहारलाई गलत भन्दा सहकर्मीविरुद्ध षड्यन्त्रको लहरो लगाउने प्रवृत्तिका एनजिओले उत्पादन गरेको ठूला मान्छेलाई केको सह्य हुन्थ्यो र ? अन्ततः मैले जागरण मिडिया सेन्टरबाट बिदा लिएँ । र, अहिले मानवअधिकार चलचित्र केन्द्रको अर्को यात्रामा छु 
एक दिन मानवअधिकार चलचित्र केन्द्रको कार्यालय बालुवाटार जाँदै गर्दा एकजना मित्रको फोनबाट थाहा पाएँ- 'दलन'बारे 'नयाँ पत्रिका'मा ठूलै स्टोरी आएको छ । 'दलन'बारे राम्रो स्टोरी आएको छ भनेपछि उत्साहित हुँदै पत्रिका पल्टाएँ । करिब पाँच वर्षको मेरो प्रयत्न, निकै ठूलो समूह परिचालन, संस्थाभित्रै र बाहिरबाट आएका अवरोध, असहयोग सम्झँदै पत्रिकामा प्रकाशित पर्वत बाजुङका कृष्ण विकजीको 'दलनको नदेखिएको पाटो' स्टोरी पढेँ । 'दलन' निर्माणमा त्यति ठूलो योगदान दिने कृष्णजीको फोटोसहितको फिचर देख्दा म निकै खुसी भएँ । चलचित्र निर्माणको पर्दापछाडि योगदान दिने कृष्णजीजस्ता व्यक्तिका कथा काठमाडौंको दैनिकमा छापिनु चानचुने कुरा थिएन । फिचर लेख्ने संगीतश्रोतालाई हार्दिक धन्यवाद दिएँ, फोनबाट 
पत्रिकामा लेखिएका विषयले निकै गम्भीर बनायो । अनि सम्झायो ती दिनहरू- जतिवेला हामी पर्वतका गाउँका अप्ठ्याराहरूसँग पौंठेजोरी खेल्दै थियौँ । खौलाका उकाली-ओराली जहाँ हामीले पहिलो पाइला टेकेका थियौँ । त्यसैले हामीलाई दलन निर्माणको बाटो पनि देखायो । चुवा, दुर्लुङ, कुश्मा र ब्ााग्लुङका कुइनेटासँगको दलन निर्माणको ताजा स्मरण गरायो । अनगिन्ती मोडमध्येका केही मोड निर्माण समूहका पि्रय साथी कृष्णजीले समेट्नुभएको रहेछ । त्योभन्दा रोचक र गला अवरुद्ध पार्ने अनुभूति र प्रसंग थुप्रै छन्, आगामी दिनमा दस्तावेजीकरण होलान् नै । छापिएका धेरै प्रसंग सत्यका नजिक छन् । केही सत्यभन्दा पर र केही अतिरञ्जित भएका छन् । मलाई लाग्यो- 'दलन' निर्माणबारे मैले पनि केही भन्नैपर्छ 
०००
छ वर्षअघि ०६१ सालमा 'दलन'को निर्माण-यात्रा थालनी भएको थियो । दलितसम्बन्धी टेलिशृंखला निर्माणका लागि युरोपियन युनियनमा परियोजना प्रस्ताव गर्‍यो जागरण मिडिया सेन्टरले । युनियनले प्रस्ताव स्वीकार गर्‍यो र २५ भागको टेलिशृंखला बन्ने पक्का भयो । अनुभवको आधारले निर्माणको जिम्मा संस्थाले मलाई सुम्प्यो । त्यसवेलादेखि अहिलेसम्म 'दलन' निर्माणका थुप्रै घुम्तीको म प्रत्यक्ष साक्षी छु । यसमा जोडिएका प्रायः पात्रसँग मेरो प्रत्यक्ष अन्तरसंवाद हुन्छन् 
'कसौटी जिन्दगीकी' र 'कुमकुम'का फ्यानका अगाडि नेपाली टेलिशृंखला निर्माण गर्नु कम्ती चुनौतीपूर्ण थिएन । भारतीय टेलिशृंखलाको फोटोकपीको आरोप नेपाली टेलिशृंखलाले खेपेकै थियो । जुन अहिलेसम्म मुक्त हुन सकेको छैन । टेलिशृंखला बन्दै छ भन्ने प्रचार नेपाली चलचित्रवृत्तमा पुगिसकेको थियो । दुई महिनाभित्र नेपाल टेलिभिजनबाट टेलिशृंखला प्रसारण गरिदिने र विनाझन्झट दातृ निकायलाई बुझाउन सिडी ल्याइदिने प्रस्ताव आउन थाले । नेपाली सिरियल निर्माण गरिरहेका र नेपाल टेलिभिजनलाई रिझाउन सक्ने व्यक्तिको हातमा निर्माणको जिम्मा दिए संस्थालाई टाउकोदुखाइ नै नहुने कुरा सर्वत्र सुनिए/सुनाइए । धेरै सस्तो रकममा निर्माण सकिने र संस्थालाई आधा पैसा बचत हुने प्रस्ताव पनि आए । यसरी नै बन्दा रहेछन् टेलिसिरियलहरू नेपाल टेलिभिजनका लागि 
'बजारका टेलिशृंखलाभन्दा हाम्रो अलग हुनुपर्छ । दलित आन्दोलनको मात्र होइन नेपाली समाजको पनि दृश्य दस्तावेज बन्नुपर्छ । पलपल मरिरहेका दलितको मुक्तिको आवाज उठेको हुनुपर्छ । यसले दर्शकको परम्परागत सौन्दर्य चेतनामा प्रहार गरेको हुनुपर्छ । यसले समग्र निर्माणको परम्परा तोड्नुपर्छ,' -अन्ततः हामीले अप्ठ्यारै बाटो रोज्यौँ । यो बाटोमा अघि बढ्न तयार भयौँ- आहुति, नवीन सुब्बा, अनुप सुवेदी, अनुप बराल, म र अरू थुप्रै साथीहरू । ०६१ साउन १ गते आहुतिले पहिलो कथासार सुनाए । सबले कथासार पढ्ने र अर्को बसाइमा टुंगो गर्ने योजना बन्यो । यसबीचमा इराकमा १२ जना नेपालीको हत्या घटनाले काठमाडौं बल्यो । दोस्रो बसाइ बस्यौँ । २००७ सालदेखि ०५२ सम्मको समय र पश्चिम भेरी हुदै पर्वतको सेरोफेरो र काठमाडौं स्थानमा बाँधिएको कथा थियो । २५ भागको सिरियलमा ०५२ पछिको चरणलाई छुँदा टेलिशृंखला लामो हुने भएकाले त्यसभन्दा पर नजाने निर्णय भयो । कथा सबैलाई राम्रो लाग्यो । ऐतिहासिक कथामा काम गर्ने पक्कापक्की भयो 
यसैवेला कान्तिपुर टेलिभिजनबाट दलितसम्बन्धी 'भिमा' टेलिशृंखला प्रसारण भएको थियो । यथार्थलाई अतिरञ्जित ढंगले देखाएकाले समुदायले यसको बहिस्कार गरे र प्रसारण बन्द गरिदिए । यसअघि प्रसारण भएको दलितसम्बन्धी अर्को टेलिशृंखला 'कालीगण्डकीको सेरोफेरो'ले पनि गलत सन्देश दिएको भनेर निकै आलोचित बनेको थियो । यसखालका आरोपबाट बच्न र अन्य व्यक्तित्वको सुझाव समेट्नका लागि टेलिशृंखला निर्माणसम्बन्धी समूहगत छलफल आयोजना गरियो । विगतमा बनेका दलित तथा सामाजिक विषयका टेलिचलचित्र, चलचित्र र वृत्तचित्रको विषयगत विश्लेषण र पाँच विकास क्षेत्रका दर्शकम्ााझ सर्वेक्षण गरियो । समाजशास्त्री, मानवशास्त्री, राजनीतिज्ञ, नीतिनिर्माता, कला तथा चलचित्र समीक्षक, चलचित्रकर्मी र दलित आन्दोलनकर्मीसँग गरी ३ दिन छुट्टाछुट्टै समूहगत छलफल सम्पन्न भयो । यी सबै छलफल, अध्ययन प्रतिवेदन लेखक आहुतिका लागि सन्दर्भ-सामग्री बने र निर्माण समूहका लागि अध्ययन सामग्री । ता कि सबै कुरा दृश्यको भाषामा भन्न सकियोस् 
नेपाली चलचित्र लेखनमा सजिला विधिहरू हुँदारहेछन् । अति काल्पनिक पात्र र परिवेश सिर्जना गरी तर्कहीन दृश्यको चाङ थुपारेपछि लेखनलाई समय नै नलाग्ने रहेछ । तर, हामीले त्यो विधिलाई पनि पन्छाएर र लेखनको क्रमबद्ध शृंखला पछ्यायौँ जुन अन्तर्राष्ट्रिय चलचित्र निर्माणले गर्ने गर्छन् । टि्रटमेन्ट (प्रस्तुतीकरण) र दृश्यमा देखिने महत्त्वपूर्ण पात्रको जीवनी लेखियो । लेख्ने, छलफल गर्ने, उठेका कुराको तर्क दिने र तर्क नपुगे सुधारेर फेरि अर्को छलफलमा जुट्ने । लेखन, पुनर्लेखन र लेखन अगाडि बढ्यो । प्रस्तुतीकरण नै निकै लामो थियो । समग्र चलचित्रको मार्गचित्र यसले तय गर्दथ्यो । एउटा पात्रको जीवनी नै ४ पेजको थियो । यस्ता जीवनी लेख्ने महत्त्वपूर्ण पात्र निकै थिए । प्रस्तुतीकरण र पात्र जीवनीले दृश्य लेख्नेमा पुग्न सकिएकै थिएन । मंसिरदेखि माघसम्म सुटिङमा जाने भन्ने योजना थियो । लेखन सकिएन । योजना बदलियो । यसैवेला ज्ञानेन्द्रको 'कू'मा परियो र निर्माणमा पनि अस्तव्यस्त भयो 
युरोपियन युनियनले दिएको डेडलाइन सकिनै लागेको थियो । 'कू'को कारण अलिकति समय थप भयो । तोकिएको मितिमा कार्य नसक्दा गह्रौं पर्दथ्यो । स्त्रिप्ट लेखन सकिएकै थिएन । कलाकारको खोजी र ड्रेसका काम बाँकी नै थिए । सबैभन्दा मुख्य काम स्थल छनोट गर्नु थियो । त्यसका लागि आत्मनिर्भर विकास मञ्चको सहयोगमा ल्यामबहादुर दर्जी पोखरा आइपुगे । हामी पर्वतको खौला पुग्यौँ । खौलालगायत कार्कीनेटा र अन्य गाविस पनि भ्रमण गर्‍यौँ । कुश्मा फर्किएर कलाकारका लागि अडिसन गर्‍यौँ र खौलामा सुटिङ गर्ने निर्णय गर्‍यौँ । पोखरामा अडिसन सम्पन्न गरी हामी काठमाडौं फर्कियौँ । काठमाडौंको अडिसन सकिएको केही दिनमा ५ दिने अभिनय कार्यशाला सम्पन्न भयो पोखरामा पनि । पोखराको कार्यशालासँगै हामी फेरि खौला गयौँ । खौलाको विद्यालयमा स्थानीय मान्छेको भेला डाक्यौँ । स्थानीय सहयोग समिति गठन गर्‍यौँ । पूर्व गाविसअध्यक्ष जंगबहादुर केसीलगायत सबैले सहयोगको प्रतिबद्धता जनाए । र, हामी फेरि काठमाडौं आयौँ । तयारी गर्दागर्दै वैशाखको मध्य भयो । सुटिङ सुरु हुनै सकेन । वषर्ात् र युरोपियन युनियनको डेटलाइनले तर्साउँदै थियो । बल्लतल्ल गाउँको दृश्यको स्त्रिmप्ट तयार भयो । दलन निर्माणको घोषणा भयो । फेरि बाँकी तयारी अगाडि बढ्यो । ०६२ जेठ १ गते निर्देशक टोली खौला पुग्यो । खौलाबाट दैनिक पानी परेको खबर आयो । असारमा झन् वषर्ा हुने हुँदा खौला पुगेका निर्देशक समूहले सुटिङ सार्ने कुरा गरे । हामी अक्करमा पर्‍यौँ । सुटिङ सार्दा धेरैतिर असर गर्दथ्यो । अन्ततः 'सके जति गर्ने नत्र देखा जाएगा' भन्ने निर्णयका साथ जम्बो सुटिङ टोली पोखरा बास बसेर ९ गते पर्वतको खौला पुग्यो 
खौलामा सुटिङ सुरु भयो । सोचे जसरी सुटिङ बढ्न सकेन । तीन बजेपछि पानी परिहाल्थ्यो । घान्द्रुकदेखि घोडा आएपुगे । घोडा बाँध्ने तबेला, दाना र घाँसको अतिरिक्त व्यवस्थापन झन् थपियो । जेनेरेटर बिगि्रएर रातीको दृश्य र क्यामेराको ब्याट्री चार्ज गर्नै पाइँदैनथ्यो । १० दृश्य प्रतिदिन भनेकोमा ३ दृश्य मुस्किलले सकिन्थ्यो । योजना उलटपुलट भयो । तनाबैतनाबको आँधी उर्लियो । जेठ महिना सकियोे । असारदेखि पानी पर्ने क्रममा तीव्रता थपियो । मान्छे खेतीपातीमा व्यस्त हुन थाले । सुटिङका लागि एकजना मान्छे चाहिँदा पनि गाह्रो पर्न थाल्यो । खौला पुग्ने पोखरा र पर्वतको बाटोमा यातायात बन्द हुने अवस्था आइपुग्यो । बन्द हुनेबित्तिकै हामी गाउँमा थुनिने अवस्थामा पुग्थ्यौँ । यातायातविना सुटिङ सामग्री पार गर्न सकिन्नथ्यो । सुटिङ स्थगित गर्नुको विकल्प भएन । अन्ततः दृश्यमा देखिएका घर तथा सामग्रीलाई सुरक्षित राख्ने र पुनः हिउँदमा खौला आउने योजनासहित १०५ दृश्य ३५ दिन सुटिङ गरेर टोली काठमाडौं फर्कियो 
काठमाडौं वरपर केही दृश्य सुटिङ गर्न सकिन्छ भनी स्थलको खोजी गर्‍यौँ । तर, भनेजस्तो नभएपछि योजना थन्क्यायौँ । पहिलो भागका लागि भेरी नदी र यसको सेरोफेरोको गाउँ चाहिन्थ्यो । त्यसका लागि नवीन सुब्बा र म स्याङ्जा पुग्यौँ । तर, उपयुक्त पाइएन । दसैं सकियो । यसपछि नवीन र म फेरि पर्वत पुग्यौँ । घरभित्रको दृश्य बिजुली भएको स्थानमा सुटिङ गरेर जेनेरेटर खर्च घटाउ अभियान सुरु भयो । त्यही भएर हामीले कुश्माको चुवा गाविसलाई फन्को मार्‍यौँ । कृष्णजीले चुवा र दुर्लुङको घरदैलो घुमाए । दुलुङ र चुवामा कुश्मा बसेर सुटिङ गर्न सकिने सम्भावना देखियो । र, अन्ततः खौला, चुवा, दुर्लङ र कुश्मामा केन्दि्रत भएर सुटिङ सकिने टुंगो लाग्यो 
युरोपियन युनियनबाट आएको ३० लाख रकम सुरु हुँदादेखि एकचरणको छायांकन गर्दासम्म लगभग सकिएको थियो । प्रतिवेदन बुझाएपछि करिब १० लाख आउन बाँकी थियो । तर पनि सम्झौताअनुसारको समयसीमामा परियोजना नसकिएकोले विचारणीय नै थियो । पैसाको स्थिति सन्तोषजनक थिएन । तर पनि मंसिरमा सुटिङ नगरे उपाय थिएन । सबैजना कलाकार आफ्नो काममा लाग्ने र पुनः समूह जुट्न गाह्रो हुने सम्भावना थियो । केही रकम बोकेर टोली जाँदै गर्ने र पैसाको जोहो काठमाडौंमा रहेका साथीहरूले व्यवस्थापन गर्ने निधो भयो । यति भएपछि पहिलाका पुराना सबै समूह एक ठाउँ जुट्यौँ । मंसिरको २ गते ४५ दिनमा गाउँका दृश्य सकिने योजनाका साथ हामी फेरि कुश्मा पुग्यौँ । सुटिङ थालियो । थुप्रै कठिनाइ आएपरे । सबै कठिनाइलाई पन्छाउँदै खौला, चुवा, कुश्मा, दुर्लुङ र बाग्लुङमा हामीले सय दिनसम्म सुटिङ गर्‍यौँ । सबैको घरदैलोमा गएर हरहिसाब बुझायौँ र लामो बसाइले सुटिङटोली र समुदायले बिदाइको आँसु पनि बगाए । ती गाउँबस्तीको माया र लोकपि्रयताको बीचबाट हामी काठमाडौं फर्कियौँ 
०६२/६३ को जनआन्दोलन सुरु भयो । लेखक, कलाकार, साहित्यकारलगायत मुलुकका सबै नागरिक आन्दोलनमा होमिए । देशभक्त खनालको संयोजकत्वमा नवीन सुब्बालगायतका हामी थुप्रै परिवर्तनकामी चलचित्रकर्मी लोकतान्त्रिक चलचित्रकर्मी मञ्चको नामबाट सडकमा उत्रियौँ । मञ्चबाट जनआन्दोलनलाई १६ एमएमको क्यामेराले कैद गर्दै हामीले आन्दोलनका सबै मोर्चा छिचोल्यौँ । यता दलनको सहरी दृश्यको लेखन सकिएको थिएन । फेरि वषर्ा लाग्यो । स्त्रिप्ट पूरा गर्न आहुतिलाई धुलिखेल पुर्‍याइयो । एक साताको बसाइमा काठमाडौंका अधिकांश भाग सकाएछन् । धुलिखेलबाट फर्केपछि छलफल गर्‍यौँ र स्त्रिmप्ट सकियो । केही समयपछि फेरि काठमाडौंमा दलनको सुटिङ सुरु भयो । पहिलो भागको सुटिङ सकियो । अब हामीसँग १ देखि १९ भागसम्म देखाउन मिल्ने शृंखला तयार भयो । १९ भागपछि काठमाडौंको कथामा आधारित सुटिङ पनि ५० प्रतिशत सकायौँ । दसैँ आयो । दसैँले सुटिङ स्थगित भयो । अझै ५० प्रतिशत सुटिङ बाँकी रह्यो । दसैँ पछि सुचारु गर्ने गरी हामी सबैजना दसैँका लागि बिदा भयौँ 
यसपछि दलनको बाँकी सुटिङ सुचारु हुन सकेन । भएको पैसा सकिइसकेको थियो । पूरै सुटिङ नसकिएकोले अन्योल थपिएको थियो । टेलिभिजनको पर्दामा देखिने आशा देखिएको थिएन । विदेशी संस्थाको डलरमा मोज गरेको आरोप पनि वेलाबखत कानमा ठोकिन्न आइपुग्थे । चलचित्रहरू बन्ने र थन्किने नियतिजस्तै हुने हो कि भन्ने चिन्ताले पनि सताउन थालेको थियो । थुप्रै प्रयत्नबाट अन्ततः असार १ गतेबाट टेलिभिजनमा प्रसारण हुने पक्का भयो । -टेलिभिजन प्रसारणका क्रमका आफ्नै छुट्टै अन्तर्कथा छन् जुन कुनैवेला चर्चा गरुँला) नेपाल प्रज्ञा-प्रतिष्ठानको सभाहलमा भव्य पि्रमियर गरियो । लामो प्रतीक्षापछि दलनले पर्दामा स्थान बनायो । काठमाडौंको कथाको सुटिङ बाँकी नै थियो । पैसाको जोहो राम्रो थिएन । तर, पनि बलबुताले आन्तरिक स्रोतबाट जुटाउने प्रणका साथ हामी फिल्डमा उत्रियौँ । फेरि ४० दिनको कार्ययोजना बन्यो । १६ घन्टे लोडसेडिङ, पेट्रोलियमको हाहाकार आदि कारणले ६० दिनसम्म सुटिङ चल्यो । यहाँसम्म आइपुग्दा जम्मा दुई सय ३० दिन -८ महिना) त क्यामेरा खुलेर सुटिङ मात्रै भएछ दलनको । कुनै दिन सुटिङ नहुँदा ब्रेक गरेर बसिन्थ्यो । त्यसको लेखाजोखा छैन । जे होस्, दलन निर्माणलाई अन्तिम धक्का दिएरै छाडियो 
यहाँसम्म आइपुग्दा दलन निर्माणको थुप्र अन्तर्कथा छन् । सबैले दलनमा बाँचेका जीवनको मुक्ति र न्यायपूर्ण समाजका लागि योगदान दिएका छन् । काठमाडौं चाबहिलनिवासी जनकराज ढुंगाना जसले पहिलो भागमा जिम्वालको भूमिका निभाएका छन् तिनले पारिश्रमिक त परै जाओस् सिस्नोको कोट दलनका लागि उपहारै दिए । नेपाली मोडलिङ, रंगमञ्चका सफल अनुहारहरू, चलचित्र र सिरियलको सफल अनुहारहरूले पनि थोरै परिश्रमिकमा चित्त बुझाए । पुराना कलाकार विष्णुभक्त फुँयाल, शक्ति पण्डित, सिडी लिम्बूजस्ता कलाकारले पनि पारिश्रमिक पाएका छैनन् । कवि, गीतकार श्रवण मुकारुङ र शुभबहादुर सुनामको पनि योगदान मात्रै भएको छ । सबैलाई अलिअलि जोहो गरिदिने भन्दाभन्दै पनि सकिएको छैन । नेपाल टेेलिभिजनको कमाइ कुनै दिन कहुँला । निर्देशकले पनि सुरुदेखि अन्त्यसम्म एउटै पारिश्रमिकमा चित्त बुझाए । निर्माताको चर्चा पनि वेलाबखत सुनिन्थ्यो तर म दलन निर्माणकालभरिको स्वयंसेवी नै भएँ । अरू थुप्रै समूह छन्, जसले अतुलनीय योगदान गरे । कुश्माबजारका भीम नेपाली उस्तै बिर्सन नसकिने नाम हुन् जसले हामीलाई पर्वत बसुन्जेल खाद्यान्न उपलब्ध गराए 
संगीतजीले भनेझैं दलनको महायात्राका थुप्रै पात्र चर्चाको सहरमा गुननाम नै छन् । ती गुमनामहरूलाई हाम्रो पत्रकारिताले न खोज्ने प्रयत्न गर्‍यो न सोधनी नै । मिडियामा दलन ओझेलमै पर्‍यो भन्दा हुन्छ । कसौटी जिन्दगीकी, कुमकुमको पछि कुद्ने हाम्रा मिडियाबाट दलन नै झन्डै गुमनाम भयो 
मुस्किलले आप+mैंले भनेर 'एउटा अलग सपना' शीर्षकमा दलनको कभरेज भयो नयाँ पत्रिकामा । टेलिभिजन र विज्ञापनको भीडमा दलनले आफ्नो अस्तित्व कायम राख्न कम्ती संघर्ष गर्नुपरेन । दलन फिल्म क्लब नभइदिएको भए बजारिया टेलिभिजनको टिआरपी (टेलिभिजन रेटिङ प्रोग्राम) ले निलिदिन्थ्यो । अन्य कलाकार पनि चर्चाको सहरमा गुमनाम नै छन् । कलालाई भन्दा बजारिया ढर्रालाई बढवा दिएर काम गर्नेहरूको हुलमा मिसिएपछि हाम्रै पत्रकारिताले केहीलाई महान् बनाइदियो होला । तर धरातल त त्यहीँ छ 
दलन निर्माणको सुरुदेखि अन्त्यसम्म अत्यन्त मायाका साथ खौलादेखि चुवा, दुर्लुङ र कुश्माका समुदायको अथक योगदान रहेको छ । ती समुदायको अनुहार, हिँडेका गोरेटाले अहिलेसम्म पनि उसैगरी ब्यँुझाउँछन् । सुनेको छु, सयौँपल्ट तरेको फड्के साँघु अहिले सबैभन्दा लामो पुल बनेर पर्यटक बोलाउँदै छ रे । दलनमा बाँचेका जीवनहरूसँग भलाकुसरी गर्दै लामो पुल हेर्न दलनको प्रदर्शन लिएर म फेरि त्यहाँ आउँदै छु । निर्माण संस्था जागरण मिडिया सेन्टर के गर्छ थाहा छैन । तर, निर्माताको हैसियतले म पक्कै आउनेछु । अनि फेरि हामी छलफल गरौँला ती दिनको, ती बाटाहरूको, ती अनुहारहरूको, ती बस्तीहरूको, ती विद्यालयहरूको अनि ती दलनहरूको 

पूर्णसिंह बराइली

0 comments:

Post a Comment