दाङ (देउखुरी), १६ साउन। जिल्लामा यौनव्यवसाय मौलाएको तथ्याङ्क सार्वजनिक भएको छ। यहाँका प्रमुख बजार तुलसीपुर, घोराही, लमही, भालुवाङ, नारायणपुरलगायत स्थानका होटेलमा यौनव्यापार हुने गरेको जिल्लास्थित एक गैरसरकारी संस्थाको अध्ययनले देखाएको छ। सो संस्थाले जनाएअनुसार विशेष गरेर राजमार्गआसपासका होटेल तथा पहाडी गाउँ विकास समितिमा यौनव्यवसायी बढिरहेका छन्। चार वर्षदेखि अध्ययन गरिरहेको सामुदायिक स्वास्थ्य इन्स्टिच्युट (आइसिएच) युनिटी कार्यालयले जिल्लामा छसय ७६ जना यौनकर्मी रहेका जनाएको छ। उक्त तथ्याङ्क संस्थाको सम्पर्कमा आएकाहरूको मात्र भएको उल्लेख गर्दै आइसिएच युनिटी कार्यालयकी प्रमुख रञ्जना चौधरीले 'यी त हाम्रो सम्पर्कमा आएका यौनव्यवसायी महिलाको मात्र तथ्याङ्क हो, जिल्लामा योभन्दा धेरै यौनव्यवसायी रहेका हाम्रो अनुमान छ' भनिन्। विशेषगरी १५ देखि ४० वर्षसम्मका महिला यौनव्यवसायमा संलग्न रहेका उल्लेख गर्दै उनले १८ वर्षमुनिकाहरू पेसामा एकदमै कम रहेका बताइन्। त्यसैगरी सम्बन्धविच्छेद गरेका, श्रीमान् विदेश गएका र कर्मचारीका श्रीमतीसमेत यौनव्यवसायमा संलग्न छन्। पहिले वादी समुदायका महिला यस व्यवसायमा बढी संलग्न रहेका भनिए पनि सबै समुदाय र वर्गका महिला यसमा संलग्न रहेका भन्दै श्रीमती चौधरीले सम्भ्रान्त परिवारका केही महिला पनि मनोरञ्जनका लागि यौनव्यवसामा संलग्न भएको दाबी गरिन्। यौनव्यवसायका लागि बजारका साना होटेल प्रमुख केन्द्र भए पनि यहाँका प्रतिष्ठित होटेलमा समेत यस्ता क्रियाकलाप हुने गरेको ठोकुवा गर्दै उनले 'केही होटेलमा कामदारका रूपमा युवती राखेर उनीहरूलाई यौनव्यवसायमा लाग्न प्रेरित गरेको पाइएको छ' बताइन्। जिल्लामा यौन व्यवसाय मौलाएको कुरालाई अस्वीकार गर्दै दाङका प्रहरीप्रमुख ठाकुरप्रसाद ज्ञवालीले 'आपसी सहमतिमा हुने कुरालाई हस्तक्षेप गर्नुपर्छ जस्तो लाग्दैन' बताएका छन्।
Translate
Subscribe to:
Post Comments (Atom)








0 comments:
Post a Comment