Translate
Tuesday
फिल्म मात्र हैन, निर्माताको जीवनै भयो 'फ्लप'
त्यो बेलाका चर्चित स्टारहरूसहित २०४८ सालमा एउटा फिल्म बन्यो, 'संकल्प'। खासा व्यापारमा रमाइरहेको केदार श्रेष्ठ र छिटिङ शेर्पाको जोडीले फिल्ममा लगानी गरेको थियो। शिव श्रेष्ठ, भुवन केसी, सुनिल थापा र कृष्टि मैनाली मुख्य भूमिकामा रहेको फिल्म २८ लाखमा बन्ने भनिएको थियो। तर, लगानी पुग्यो ५२ लाख।
त्यत्रो लगानी उठ्छ कि उठ्दैन भन्ने कुरा पतिपत्नी केदार र छिटिङलाई थाहा थिएन। उनीहरूको दुर्भाग्य, फिल्म फ्लप हुनपुग्यो। ऋणको भारमा थिचिएका केदारले आत्महत्याको बाटो समाते, पत्नी र छोरीलाई छाडेर। लगभग ३५ लाखको ऋण छिटिङले १७ वर्ष लगाएर जसोतसो तिरिन्। छिटिङकी छोरी अहिले २३ वर्षकी छिन् र अमेरिकामा पढ्दैछिन्। उनी साथीभाइसँग पैसा मागेर छोरीको खर्च जोहो गर्दैछिन्।
सासुससुराबाट पैसा नपाएपछि उनी यसो गर्न बाध्य भएकी हुन्। ससुराले आफूलाई अंश नदिएकोमा उनी दुःखी छिन्। 'अंशमात्र होइन, म र मेरो श्रीमानले कमाएको सम्पति पनि ससुराले नन्दको नाममा गरिदिनुभएको छ,' छिटिङले सोमबार आफ्नो निवासमा पत्रकारहरूसँग रुँदै दुखेसो पोखिन्।
बिजुलीबजारस्थित उक्त घरबाट कहिले निस्किनु पर्ने हो उनलाई थाहा छैन। किनभने घर सासुकै नाममा छ। 'ससुराले बेलाबेला घर छाड्न दबाब दिइरहनुहुन्छ,' छिटिङले भनिन्।
प्रहरीबाट सहयोग नपाएकोले राष्ट्रिय महिला आयोगकहाँ समेत छिटिङले कुरा पुर्याइसकेकी छिन्। आयोगले पटकपटक बोलाउँदा पनि उनका सासुससुरा गएका छैनन्। त्यसैले आयोगकै सल्लाहमा उनले अंश मुद्दा हालेकी छिन्।
गीत गाउने र केही एल्बम निकालिसकेकी छिटिङको मुद्दामा शेर्पा महिला संघले सघाइरहेको छ। 'सबै कुरा बुझ्दा उहाँमाथि धेरै अन्याय भएको पायौं, महिला आयोग र अदालतमा हामीले नै लगिदिएका हौं, न्याय मिलेन भने कडा कदम चाल्छौं,' संघकी अध्यक्ष न्हिमी शेर्पाले पत्रकारहरूसँग भनिन्।
nagarik
Subscribe to:
Post Comments (Atom)








0 comments:
Post a Comment