Translate

Tuesday

कारबाही भए पनि हामी सूचना लिक गरिरहनेछौँ : विकिलिक्स

image

प्रतिशोधको कारबाही भए पनि हामी निरन्तर सूचना लिक गरिरहनेछौँ : विकिलिक्स


अमेरिकी विदेश मन्त्रालयको सूचना 'लिक' गरेर विश्व हल्लाउने विकिलिक्सका संस्थापक जुलियन पल असान्ज गिरफ्तार भएका छन् । तर, विकिलिक्सले गोप्य दस्ताबेज सार्वजनिक गरिरहने जनाएको छ ।
सर्वशक्तिमान राष्ट्र अमेरिकाले कूटनीतिक आवरणमा कसरी रणनीतिक सञ्जाल बनाइरहेको छ भन्ने खुलासा विकिलिक्सबाट भएको छ । वेबसाइटले विश्वभर रहेका दुई सय ७० अमेरिकी नियोगबाट विदेश मन्त्रालयले संकलन गरेका दस्ताबेज क्रमशः खुलासा गरिरहेको छ । इराक र अफगानिस्तान युद्धका अन्तरकथा तथा इरान र चीनलगायतका विभिन्न देशबारे अमेरिकाको भित्री धारणा विकिलिक्सबाट छरपस्ट भएका छन् । विभिन्न देशबारे अमेरिकाको वास्तविक धारणा छरपस्ट भएपछि विकिलिक्सविरुद्ध अमेरिका आक्रोशित भएको छ भने कयाँै देश अमेरिकालाई साथ दिँदै असान्जविरुद्ध खनिएका थिए । यही क्रममा स्विडेनले यौन दुव्र्यवहारको पुरानो मुद्दामा असान्जविरुद्ध गतसाता इन्टरपोलमार्फत वारेन्ट जारी गरेको थियो ।
स्विडेनले जारी गरेको वारेन्टबारे जानकारी लिन असान्ज आफ्ना वकिलका साथ मंगलबार लन्डन प्रहरीमा गएका थिए । त्यहीँबाट उनलाई पक्राउ गरिएको हो ।
उनले स्विडेनमा रहँदा दुई महिलालाई यौन दुव्र्यवहार गरेको आरोप छ । तर, असान्जले भने यसबारे यसअघि नै प्रष्टीकरण दिइसकेका छन् । 'स्विडेनमा रहँदा दुई महिलासँग यौनसम्पर्क भएको हो, तर सहमतिमा,' उनले भनेका छन् ।
तर, एउटी महिलाले असान्जले आफूमाथि दुव्र्यवहार गरेको आरोप लगाएकी छन् । यो विषयमा प्रारम्भिक छानबिनपछि बेलायती प्रशासनले असान्जलाई स्विडेनसमक्ष सुपुर्दगी गर्ने भएको छ । तर, उनका वकिलहरूले स्विडेनले पर्याप्त आधारसमेत नदेखाई वारेन्ट जारी गरेको दाबी गरेका छन् ।
आफ्ना संस्थापकविरुद्ध प्रतिशोधात्मक कारबाही भएको भन्दै विकिलिक्सले दस्ताबेज सार्वजनिक गर्न नछाड्ने घोषणा गरेको छ । विकिलिक्सले आफूलाई प्राप्त दस्ताबेज विभिन्न सञ्चारमाध्यमबाट प्रसार गर्ने तयारी यसअघि नै पूरा गरिसकेको छ ।
असान्जले यसअघि नै दुई सयभन्दा बढी गोप्य वेबसाइट बनाई अमेरिकी गोप्य दस्ताबेज 'अपलोड' गरिसकेका छन् । विकिलिक्सजस्ता कयौँ वेबसाइट बन्द गरिए पनि त्यस्ता थुप्रै वेबसाइटबाट सूचना आइरहने भएको छ । विकिलिक्सले आफूलाई सहयोग गर्न र बलियो बनाइराख्न प्रशंसकसँग आग्रह गरेको छ । जवाफमा लाखौँ प्रशंसकले विकिलिक्सलाई प्रोत्साहित गरिरहेका छन् ।
अमेरिकी विदेश मन्त्रालयका दुई लाख ५१ हजार दस्ताबेजसम्म पहुँच पुर्‍याउने र तिनलाई विश्वसामु पुर्‍याउने जुलियन असान्ज विद्यालयको ढोका पनि नकुल्चेका व्यक्ति हुन् । धेरै जान्ने भए सम्पत्तिमा लोभ गर्छन् भनेर बाबुआमाले नै पढ्न नदिए पनि असान्ज आफैँ यस्ता असाधारण व्यक्ति साबित भए, जसले कम्प्युटर, वेबसाइट र ह्याकिङमा अहिलेसम्म नगरेको काम गरे ।
असान्ज र विकिलिक्सबारे सात समाचार
अमेरिकी विदेश मन्त्रालयका सूचना चुहाउने अस्ट्रेलियन नागरिक जुलियन पल असान्ज र अमेरिकी मिडिया सिएनएनबीच भने लडाइँ नै चलेको छ । गत जुलाईमा इराक युद्धसँग सम्बन्धित ४० हजार दस्ताबेज सार्वजनिक गरेपछि असान्जलाई सिएनएनले अन्तर्वार्ताका लागि बोलाएको थियो । इराक विषयमा कुरा गर्दा गर्दै अतिका सुबर्टले सोधिन्, 'तपाइंले त स्विडेनमा महिलामाथि जबर्जस्ती गर्नुभएछ नि ?' प्रश्न सुन्नसाथ असान्जले कोटमा लगाएको माइक फुकालेर स्टुडियोबाट बाहिरिए । पछि उनले भने, 'इराक युद्धका दस्ताबेजबारे मात्र कुरा गर्ने सर्तमा म गएको थिएँ, तर सिएनएनले सस्ता कुरा गर्न थाल्यो त्यसैले मैले कार्यक्रम छाडेर हिडिदिएँ ।' केही दिनपछि सिएनएनका ल्यारी किङले फेरि असान्जलाई इराक युद्धका दस्ताबेजबारे अन्तर्वार्ता लिन बोलाए । तर, फेरि सोधे, 'तपाइंले त स्विडेनमा....।' ल्यारीको प्रश्न पूरा हुँदा-नहुँदै असान्ज भड्किए । 'गम्भीर विषयमा कुरा गर्ने भन्छौ, सस्ता कुरामा लोकपि्रयता कमाउन खोज्छौ । तिमी ल्यारी र तिम्रो सिएनएन, लाज लाग्छ मलाई तिमीहरूलाई देखेर ।'
सन् १९७१ मा उत्तरी अस्ट्रेलियामा जन्मिएका असान्ज सानोमा पनि एकै ठाउँ कहिल्यै बस्न पाएनन् । रंगमन्चमा काम गर्ने उनका बाबुआमा कार्यक्रम देखाउन जहाँजहाँ जान्थे, असान्ज त्यहाँत्यहाँ पुग्थे । ठूलो भएपछि असान्ज आफँै पनि एकै ठाउँ बसेनन् । पक्राउ परेपछि उनलाई लन्डनबाट स्विडेन लगिँदै छ ।
सूचना 'लिक' भइरहेको छ भनेर अमेरिकी अधिकारीले थाहा नपाऊन् भनेर देश फेरीफेरी सूचना संकलन गरेको असान्जको भनाइ छ । बिबिसीलाई अन्तर्वार्ता दिँदै उनले भनेका छन्, 'एकै देशबाट काम गर्दा शंका हुन्छ भनेर हामी धेरै देश घुम्यौँ । तर, हामीले सूचना सार्वजनिक नगर्दासम्म कसैले पत्तो पाएन । सूचना पाउन मात्र होइन, स्रोत जोगाउन पनि हामी सफल भयौँ ।'
कयौँ घन्टासम्म नखाई र नसुती काम गर्नु असान्जको आदत भइसकेको छ । उनीसँग केही समय बिताएका न्युयोर्कर म्यागेजिनका एक पत्रकार भन्छन्, 'असान्जले आफ्नो वरिपरिको माहोल यस्तो बनाइदिन्छन्, अरू पनि उनको योजनामा पागलजस्तै काम गर्न तत्पर हुन्छन् ।'
गोप्य दस्ताबेज सार्वजनिक गरेकोमा अमेरिका र उसका सहयोगी देशले एकातिर विकिलिक्स र संस्थापक जुलियन असान्जको निन्दा गरिरहेका छन् भने अर्कोतिर खोजी पत्रकारीतामा विश्व इतिहास कायम गरेको भन्दै प्रशंसा पनि भइरहेको छ । अमेरिकाको न्युयोर्क टाइम्स, जर्मनीको डेर स्पिजेल र बेलायतको द गार्जियनले त विकिलिक्ससँग सहकार्य गरेर नै समाचार 'ब्रेक' गरिरहेका छन् । साथै दुनियाँभरका लाखौँ सञ्चारमाध्यमले विकिलिक्सका समाचार 'फलो' गरिरहेका छन् । 'अहिलेसम्म देशका मात्र मिडिया थिए, विकिलिक्स संसारकै मिडिया बन्यो,' विश्लेषकको भनाइ छ ।
क्यानडाका प्रधानमन्त्रीका सल्लाहकार टम फ्लेनेगनले विकिलिक्सका संस्थापक असान्जको हत्या गर्नुपर्ने तर्क अघि सारेका छन् । सिबिसी टेलिभिजनलाई अन्तर्वार्ता दिँदै फ्लेनेगनले भने, 'असान्जबाट छुटकारा पाउन गाह्रो छ, त्यसैले हवाई हमला गरेर भए पनि उनको हत्या गर्नुपर्छ ।' प्रधानमन्त्रीका सल्लाहकारको प्रतिक्रिया सुनेर जिब्रो टोक्दै कार्यक्रम प्रस्तोताले भनेका थिए, 'तपाईंले निकै कडा पो बोल्नुभो कि ?' जवाफमा फ्लेनेगनले भने, 'होइन, म खुलेर र हृदयदेखि नै कुरा गरिरहेको छु ।'

विकिलिक्सका अनुसार अमेरिकाले विवादास्पद ग्वान्टानामो बन्दीगृहका कैदीलाई विभिन्न देशमा बाँड्न चाहेको थियो । कैदी स्विकारेमा लाखौँ अमेरिकी डलर दिने सर्त पनि अमेरिकाले राखेको थियो । दुईजना चिनियाँ मूलका कैदी स्विकार्न अमेरिकाले गरेको आग्रह जर्मनीले भने अस्विकार गरेको पनि खुलासा भएको छ । चीनसँग सम्बन्ध सुधार भइरहेकाले चिनियाँ मूलका कैदी आफूले जेलमा नराख्ने जवाफ जर्मनीले दिएको थियो । उता प|mान्सले भने अमेरिकासँगको सम्बन्ध सुधार्न दुईजना कैदी स्विकार्नु गाह्रो नभएको बताएको थियो । त्यस्तै स्लोबेनियाका प्रधानमन्त्री बोरुत पाहोरको भने आफ्नै सर्त थियो, 'ल ठीक छ दुईजना कैदी लिन्छौँ, तर बदलामा मैले ओबामालाई भेट्न पाउनुपर्छ ।' कुवेतले दुईजना कैदी लिन इन्कार गरे पनि जवाफ अनौठो थियो, 'हाम्रो देश सानो छ, मान्छे थप्न ठाउँ छैन ।'

एजेन्सीहरू

0 comments:

Post a Comment