Translate

Tuesday

सिंहदरबारभित्र फेसबुक



















केही दिनअघि सिंहदरबारभित्र 'फेसबुक' चलेन। त्यसको केही दिनअघि इन्टरनेटमा समस्या आएको थियो। इन्टरनेट बनेपछि फेसबुक नचल्दा अड्कल काटियो, 'फेसबुकलाई सिंहदरबारभित्र प्रतिबन्ध लगाइयो।'यो खबर सिंहदरबारभित्रका कर्मचारीमाझ सीमित भएन, फेसबुककै माध्यमबाट यत्रतत्र फैलियो। प्रतिबन्ध हल्लालाई धेरैले 'स्टाटस' बनाए, पक्षविपक्षमा बहस चल्यो। फेसबुकमा लागेको हल्ला-प्रतिबन्ध तेस्रो दिन खुलेपछि सिंहदरबारभित्र फेसबुक चल्नुपर्छ भनी वकालत गरेकाहरुले विजयबोध गरे। केन्द्रमा बसेका र कम्प्युटर पहुँच रहेका कर्मचारीमा फेसबुक लोकप्रियताको बोध यस घटनाले गरायो। अप्रत्यक्षतः कर्मचारीलाई आफ्नो टेबुलमा बाँधिराख्न फेसबुकले भूमिका खेलेको रहेछ भन्ने बुझ्न पनि मदत गर्‍यो। पहिले फुर्सत हुँदा कर्मचारीहरु कम्प्युटरमै तास खेलेर बस्थे रे! अचेल व्यस्त कर्मचारीसमेत फेसबुकलाई समय दिनभ्याउँछन्।
'विदेशमा कसैलाई 'जब' दिनुअघि उसको फेसबुक अध्ययन गरिन्छ!' फेसबुकका राम्रा-नराम्रा पक्षमा बहस भइरहँदा साथीले राखेको यो कुरा मननीय लाग्यो। व्यक्तिले फेसबुक कसरी 'मेन्टेन' गरेको छ, त्यसबाट उसको दृष्टिकोण मात्र होइन, क्षमताको पनि आँकलन गर्न सकिन्छ। व्यक्तिले फेसबुकमा प्रयोग गर्ने भाषाशैली, कुनै सन्दर्भमाथि गर्ने टिप्पणी, अरुका धारणामा गर्ने 'रेस्पोन्स'ले उसको व्यक्तित्व प्रतिविम्बित गरेका हुन्छन्। आखिर व्यक्तित्व अलौकिक र निराकार वस्तु नभई व्यक्तिले सोच्ने स्तर र देखाउने प्रतिक्रियाकै समिश्रण न हो! फेसबुकलाई सामाजिक सञ्जालका रुपमा बुझिन्छ। त्यसो त कैयन् व्यक्ति 'फेसबुक बेकार' भन्न पछि पर्दैनन्। धेरैजसोका लागि फेसबुक जीविकाको अभिन्न अंग बनिसकेको छ। फेसबुक प्रयोग गर्नेमध्ये, कतिले मनका भाव निसंकोेच विनिमय गरेका छन् भने कतिले अनुशासन कायम राख्ने भन्दै आफ्नै विचारमा सेन्सर गरेका छन्। फेसबुक धारणा र व्यक्तित्व-मापनको सूचक बनेको छ।
फेसबुक साथी बनाउने माध्यम हो। धेरै साथी बनाएर धेरै विचार आदानप्रदान गर्ने सोख राख्ने व्यक्ति धेरै हुन्छन्। यस्ता व्यक्ति स्वयम्लाई थाहा हुँदैन, उसको साथीको सूचीमा कति र को छन्। साथी बन्न चाहने भन्दै अनुरोध गर्न आउने हरेक प्रस्ताव तिनलाई स्वीकार्य हुन्छ। 'पहिलेदेखि चिनेकालाई मात्र फेसबुकमा इन्ट्री दिइने हो भने फेसबुक चलाउनुको अर्थ छैन' उनीहरु ठान्छन्। जीवनमा मित्रताको ठूलो स्थान छ भन्ने बुझेर पनि साथीको संख्या मात्र बढाउन नचाहने व्यक्तिसमूह ठूलै छ। उनीहरु संख्याभन्दा गुणस्तरमा ध्यान दिन्छन्। गुणस्तर सापेक्ष विषय हो। सम्बन्ध गाँस्नुहुँदैन र गाँसेपछि तोड्नुहुँदैन भन्ने सोच भएका यस्ता व्यक्ति मित्रता सुरु गर्नुअघि दसपल्ट सोच्छन्। फोटो 'राम्रो' देखेकै आधारमा राम्रो साथी बन्ने/बनाउने भूल गर्दैनन् उनीहरु। मित्रतामा भावना जति विचारको स्थान छ; उनीहरु मान्छन्। सम्भवतः यसरी गाँसिएको मित्रता नब्बे प्रतिशत सफल हुन्छ। बाँकीको ग्यारेन्टी कसरी लिनू, ताली एक हातले बज्दैन!

कतिपय व्यक्ति फेसबुकमा 'प्राकृतिक' देखिन्छन्। उनीहरु फेसबुक-भित्तामा त्यसरी खुसी बाँड्छन्, जसरी हाँस्छन्। तिनको फेसबुकमा विचार समेट्ने शैली इमानदार हुन्छ। इमानदार व्यक्ति थरीथरीका हुन्छन्। कोही इमानदार हुन्छन् त केवल इमानदार हुन्छन्, तिनको इमानदारी अरुका लागि खेल्ने माध्यम बन्छ। कति इमानदार इमानदारीसँगै चातुर्य प्रदर्शन गर्ने क्षमता राख्छन्। फलतः त्यस्तो इमानदारी दुरुपयोग हुँदैन। आज हरेक इमानदारभित्र इमानदारीकै सन्तुलनमा रहने खालको चातुर्य जरुरी छ। फेसबुक प्रयोगकर्ता कति यस्ता व्यक्ति छन्, जो भित्र एउटा सोच बोक्छन् र फेसबुकमा आउँदा 'देखिने दाँत' बन्छन्। फेसबुकमा सामेल हुने पात्र सधैँ नयाँ हुँदैनन्। 'व्यक्ति एक, नाम अनेक' को बिगबिगी छ। जब व्यक्ति एउटै परिचयमा टिक्दैन, तब उसले फरक नाममा उभिएर प्रविधिको दुरुपयोग गर्छ। ऊमाथि भर गर्ने साथीको विश्वासको हत्या गर्छ। मित्रताको मर्म नबु‰ने केही नमुना नक्कली व्यक्तिसँग दुर्भाग्यवश मेरो पनि जम्काभेट भएको छ।

फेसबुकलाई कुन रुपमा बु‰ने र कसरी प्रयोग गर्ने भन्ने व्यक्तिमा भर पर्ने विषय हो। स्मरण रहोस्, फेसबुक दुईचार 'क्लिक'को मनोरञ्जक साधनमात्र होइन, सामाजिक र व्यावसायिक सम्बन्ध तथा व्यक्तित्व निर्धारण र परिचालन गर्ने संवेदनशील औजार पनि हो। फेसबुकको संवेदनशीलता पुष्टि गर्न पछिल्ला समयमा आएका फेसबुक-ब्ल्याकमेलिङका समाचार पर्याप्त छन्।
'केही दिन फेसबुक बन्द हुँदा इन्टरनेट फास्ट थियो, फेसबुक ओपन गरेदेखि स्लो भयो। फेसबुक त बन्दै गर्नुपर्ने हो।' सिंहदरबारभित्रको फेसबुक बहसकै क्रममा एउटा धारणा आयो। 'प्रविधिविमुख हुने कुरा नगर्नोस्', अर्काले सभ्य प्रतिवाद गरे। बहसै भयो र निष्कर्ष निस्कियो, 'सिंहदरबारमा ३ बजेपछि फेसबुक खोले हुन्छ।' यसबाट काम गर्ने मूल समय हानि हुँदैन, इन्टरनेट स्लो पनि हुँदैन। साथी-सम्पर्क टुटिहाल्ने पनि भएन। आधादर्जन साथीबीच छलफल भई यस्तो निष्कर्ष निस्किएपछि, मैले थप साथीको धारणा बु‰ने अभिप्रायले फेसबुक स्टाटस 'सिंहदरबारभित्र ३ बजेपछि मात्र फेसबुक खोल्दा कसो होला?' मार्फत अभिमत संकलनको प्रयास गरेँ। धेरैले सिंहदरबारभित्र फेसबुक आंशिक बन्द गर्ने प्रस्ताव अस्वीकार गरे, यसरी-
- किन र? ३ बजेपछि अफिस नै बिदा गर्ने हो कि!
- किन ३ बजेपछि मात्र खोल्ने नि? पूरै खोल्नुपर्छ, साइड-बाई-साइड अरु काम गर्न सकिहालिन्छ नि!
- फेसबुक अनावश्यक लाग्छ भने पूरै बन्द गरे हुन्छ। नत्र किन बन्द गर्नु? यस्तै हो भने, मोबाइल फोन पनि तीन बजेपछि मात्र प्रयोग गर्न दिँदा कसो होला?
- कम्प्युटरमा बन्द गरे मोबाइलमा चलाउँछन्, झन् डिस्टर्व हुन्छ। अनि मोबाइल पनि बन्द गर्ने!
यिनै अस्वीकृतिबीच प्रस्तावको समर्थनमा केही फरक मत पनि आए,
- एकदम राम्रो हुने थियो।
- गज्जब हुने थियो। ३ बजेसम्म इन्टरनेट मजाले चल्ने थियो। अफिस पुग्नासाथ फेसबुक लाइन गरेर बस्ने बानी पनि हराउँथ्यो!
अर्को एउटा कमेन्ट यस्तो आयो, जो सोचनीय थियो-
- सिंहदरबारभित्र के काम हुन्छ र फेसबुक बन्द गर्न?

0 comments:

Post a Comment