Translate

Tuesday

'यिनी मेरी १६ औं श्रीमती हुन्’

 
मान्छेले एक-दुई वटा बिहे गरेको त सुनेकै हो । तर १६ औं पटक बिहे गरेको भन्दा अचम्म लाग्छ । चीनको सीमा गाविस टिमुरेका निमा तामाङ १६ औं श्रीमती पासाङसँग दिन बिताइरहेका छन् ।
'यिनी मेरी १६ औं श्रीमती हुन्,' पासाङले बिहान ओछ्यानमा दिएको तिब्बती चिया सुरुप्प पार्दै निमाले भने, 'गोठमा बस्दा कति ल्याइयो कति, कुरो गरी साध्य छैन ।' ७९ वर्षीय निमाले १३ वर्षको उमेरदेखि बिहे गर्न थालेको बताए । उनी त्यतिबेला लाङटाङ पछाडि चौंरीगाई, गोरु, भेडा र बाख्रा गरी डेढ सयको संख्यामा चौपाया पालेर गोठमा बस्थे । त्यहाँ पुग्न गाउँबाट दुई दिनको बाटो पैदल हिँड्नुपर्छ ।
'त्यतिबेला दुःख थियो,' उनले भने । धेरै माथि तिब्बत सीमा नालिङखर्क, तोङया, छोजिङजस्ता ठाउँमा गोठ लाने गरेको उनले बताए । 'सुइय... सुसेली हालेपछि केटी त पछिपछि लाग्थे,' उनले भने, 'अहिलेको जस्तो हो र जमाना राम्रो थियो ।' ०४१/४२ सालमा प्रधानपञ्च भएर गाउँमा काम गरेको उनले सुनाए । प्रधानपञ्चहरूको भ्रमणमा धनकुटामा राजा वीरेन्द्रसँग हात मिलाएको क्षण उनी सम्भिmरहन्छन् ।
उनले बिहेकै प्रसङ्ग जोडे, 'एउटी गए अर्की आइहाल्ने, म पनि राम्रो, हृष्टपुष्ट थिएँ । मन नपराउने त कमै थिए ।' उनी टिमुरे
(सेदाङ) को बरु (प्रधान् अर्थात् ठूलो मान्छे) का छोरा थिए । 'बरु भनेपछि त त्यतिबेला शानै अर्कै, अनि तरुनी त त्यसै झुम्मिन्थे,' उनले थपे, 'त्यतिबेलाका तरुनी आहा कति राम्रा, च्याप्प समातेर मोई खाउँजस्ता ।'
उनलाई १५ जना श्रीमतीले छाडेर जाँदा कुनै दुःखमनाउ नलागेको बताए । जुरुक्क उठेर उत्साहित हुँदै भने, 'खुट्टा भए जुत्ता कतिकति ।' यसोभन्दा उनकी श्रीमती अलि रिसाइन् । उनले भनिन्, 'मैले नहेरेको भए कसले हेर्‍थ्यो होला ।'
उनकी १६ औं श्रीमतीबाट २ छोरी १ छोरा छन् । छोरीको बिहे गरिदिएको उनले बताए । अर्की श्रीमतीबाट दुई छोरी कोही काठमाडौं र कोही गाउँमा छन् ।
तर ती कति औं श्रीमतीका सन्तान हुन् भन्ने थाहा नभएको उनले बताए । औंला भाँचेर गन्दै भने, 'खोइ कति औं पट्टकिो हो, बिर्सेछु ।' तिब्बती भाषामा गन्ती गर्दै निमा हाँस्न थाले । 

ekantipur

0 comments:

Post a Comment