उमेश्वरप्रसाद जोशी अहिले सोचमग्न छन्। दुई वर्षपछि स्विट्जरल्यान्डको जेनेभा जाने कि अमेरिकाको इलिनोइस राज्यको बातभियामै बसेर अनुसन्धान गर्ने। किनकि, अमेरिकाले थुप्रै विरोधका कारण आफ्नो राष्ट्रिय ऊर्जा प्रशोधनमा ख्याति कमाएको फर्मी ल्याब (फर्मी नेसनल एक्सिलरेटर ल्याबोरेटरी) बन्द गर्दैछ। सबैलाई अचम्म लाग्न सक्छ, विश्वकै दोस्रो सर्वाधिक ठूलो ऊर्जा प्रशोधन केन्द्र बन्द हुनुमा उमेश्वरप्रसादको के सरोकार?
उनी २६ वर्षदेखि फर्मी ल्याबमै नेपाली वैज्ञानिकको परिचय बनाएर काम गर्दै आइरहेका छन्। र, अहिले आफ्नो समूहको नेतृत्व गर्छन्। उनी सिकागोमै बसेर जेनेभामा रहेको युरोपेली ल्याबमा काम गर्छन्, अनलाइन सिस्टममा बसेर। युरोपेली ल्याबमा अहिले ४ वटा अनुसन्धानात्मक समूह खटिएको छ। एउटै समूहमा ३०/४० देशका वैज्ञानिक सम्मिलित हुने गर्छन्, जसमा ३/४ हजार फिजिसिस्ट, कम्प्युटर इन्जिनियर र इन्जिनियर खटिन्छन्।
उमेश्वरप्रसादको काम फर्मी ल्याबको 'डेटा' लिने हो। यसका लागि फिजिक्सको जानकारमात्र भएर पुग्दैन, इलेक्ट्रोनिक्स, सफ्टवेयर र डिटेक्टिभ्समा पनि उत्तिकै दखल हुनु आवश्यक छ। फर्मी ल्याबमै अढाई दसक लामो सोधपछि उमेश्वर यसमा पोख्त भइसकेका छन्।
अमेरिकामा अहिले उनको दैनिकी भनेकै सिकागोदेखि ३५ माइल टाढा बातभियास्थित करिब साढे ६ किलोमिटर क्षेत्रफल ओगटेको फर्मी ल्याबमा एकाबिहानै पुग्ने र प्रकृतिको नियम बुझ्न सोधमा व्यस्त भइहाल्ने।
प्रोटन र प्रोटन जुधाउँदा नयाँ आविस्कार के हुन्छ? र, यसलाई फेरि आफ्नो पुरानो 'कम्पोनेन्ट' मा कसरी राख्न सकिन्छ? मुख्यतः यिनै विषयमा सोध गर्दागर्दै उनलाई आफ्नो कपाल फुलेको याद छैन। 'हाम्रो काम भनेको फिलोसोफिकल नलेज लिने हो। हामीले गरेको सोधबाटै आउँदो पुस्ताले धेरै फाइदा लिन सक्छ,' ५८ वर्षे नेपाली वैज्ञानिक भन्छन्।
उमेश्वरप्रसाद यहाँ पहिलो नेपाली वैज्ञानिकका रूपमा प्रवेश गरेका थिए। उनी ल्याबको पुरानो र अनुभवी वैज्ञानिक मानिन्छन्। अहिले यो ल्याबमा उनीबाहेक ४ नेपाली वैज्ञानिक संलग्न छन्। उनकी श्रीमती रमी प्रधान पनि अमेरिकाकै एउटा सफ्टवेयर कम्पनीमा काम गर्छिन्।सफलताको यात्रा
२०१७ सालमा राजा महेन्द्रले 'कू' गर्दा उमेश्वरप्रसाद जोशी सेन्ट जेभियर स्कुलमा कक्षा १ पढ्दै थिए। उनका बाबु तत्कालीन कानुन राज्यमन्त्री होराप्रसाद जोशी पनि पक्राउ परे। त्यसपछि जोशी परिवारलाई घर चलाउन हम्मे पर्यो। त्यतिबेला उमेश्वरको स्कुलको शुल्क थियो, ९० रुपैयाँ। होराले आफ्नो जेठो छोरालाई जेभियरबाट निकालेर साधारण स्कुलमा हाल्ने निधो गरे।
एकपल्ट होराले जेलमा भेट्न गएका आफ्ना साथी (हाल मर्कन्टायलका मालिक) गोपाल राजभण्डारीलाई भनेछन्- 'खर्च धान्न गाह्रो पर्यो। फादर मोरानलाई भनिदेऊ, म छोरालाई जेभियरबाट निकाल्छु।'
उनको यो प्रस्ताव लिएर गोपाल सेन्ट जेभियरका तत्कालीन प्रिन्सिपल मोरानकहाँ पुगे, तर उनले मान्दै मानेनन्। कारण थियो, उमेश्वरको पढाइप्रतिको लगाव। मोरानले जेलबाट निस्किएपछि होरासँग आफैंले कुरा गर्ने भन्दै गोपाललाई फर्काएका थिए। मोरानलाई उमेश्वरका बुबा होराका विषयमा एउटा कुरा राम्रैसँग थाहा थियो, 'जे परेपनि होराले छोरालाई 'फ्रि' मा पढाउन मान्दैनन्।' त्यसैले मोरानले अर्को जुक्ति निकाले। उमेश्वरको शुल्क ९० बाट घटाएर साधारण स्कुलमा जति नै ६० रुपैयाँमा झार्ने। यसपछि भने उनले स्कुल बदल्नुपरेन।
सन् १९९० मा फादर मोरान कामको सिलसिलामा सिकागो पुगेका थिए। त्यतिबेला उमेश्वरले आफू काम गर्ने ठाउँ र अफिस देखाउँदा फादर मोरान यति गर्वान्वित भएछन्, उनले फर्मी ल्याबबाट फर्किएपछि आफ्नो पुरानो चेलाको काँध थपथपाउँदै बधाई दिएका थिए।
'त्यो मेरो जीवनकै अद्भुत क्षण थियो,' आफ्नो बाबु होराप्रसाद जोशीको निधनका कारण दुई साताअघि काठमाडौं आइपुगेका नेपाली बैज्ञानिकले नागरिकसँग भने।
अमेरिका प्रवेश
सन् १९७३ मा बिएस्सीमा राम्रो अंक ल्याएर पास गर्दासम्म उमेश्वरलाई थाहा थिएन, अमेरिका कहाँ पर्छ। अन्य नेपालीजस्तै त्यतिबेला उनको इच्छा थियो, भारतको दिल्ली विश्वविद्यालयमा पढ्ने। उनले काठमाडौस्थित भारतीय दूतावासबाट दिल्ली विश्वविद्यालयमा 'एमएस्सी'का लागि आवेदन भरेका थिए। तर, त्यतिबेला नेपालको 'डिग्री'लाई त्यति महŒव दिएन, दिल्लीले। उनी निरास हुँदै त्रिभुवन विश्वविद्यालयमै भर्ना भए। ६ महिना यहीँ पढ्ने क्रममा उनलाई 'लक' लागेछ। त्यतिबेला कानपुरको अल इन्डिया इन्स्टिच्युटका एक वरिष्ठ प्रोफेसर डाक्टर मेहता भिजिटिङ प्रोफेसरका रूपमा त्रिभुवन विश्वविद्यालय आएका थिए। उनी उमेश्वरको 'ट्यालेन्ट' बाट यति प्रभावित भएछन्, कानपुर फर्किएपछि प्रवेश परीक्षामा बस्न फर्म नै पठाइदिए। उनले सहजै नाम निकाले। पुरै कलेजमा १० जनामात्र फिजिक्स पढ्न छनोट भएका थिए। 'सँगै पढेका १० मध्ये ७ जना हामी अमेरिकामै कार्यरत छौं,' उनी भन्छन्।
त्यतिबेला भारतमा एउटा 'ट्रेन्ड' नै चलेको रहेछ, कानपुरमा पढेपछि सबै अमेरिका पलायन हुने। फाइनल परीक्षा आउँदा प्रायः सबैले अमेरिका जाने फर्म भरिसकेका थिए। 'मलाई पनि साथीहरूले अमेरिका जान फर्म भर भने। त्यसपछि मात्र थाहा पाएँ अमेरिका कस्तो रहेछ भनेर,' अमेरिका गएको रमाइलो घटना सुनाउँछन् उनी।
सुरुमा कानपुर जाँदा उमेश्वरलाई भारतबाटै पिएचडी गर्छु जस्तो लागेको थियो। तर, त्यहाँ पुगेपछि उनले अमेरिकालाई सम्भावनाको नयाँ देशका रूपमा देखे। त्यसपछि के चाहियो, पढ्दापढ्दै कानपुरबाटै क्यालिफोर्निया विश्वविद्यालयमा आवेदन भरे। कानपुरमा पढ्दा उनी प्रोफेसर बेङ्कटेश्वरको ल्याबमा पनि काम गर्थे। बेङ्कटेश्वरका एक मित्र लेजर फिजिक्सका प्रोफेसर ब्रोइडा क्यालिफोर्नियास्थित सान्ता बार्बरामा बस्थे। उमेश्वरलाई त चिठ्ठा परेजस्तै भयो। बेङ्कटेश्वरले आफ्नो साथीलाई पत्र लेखिदिए- 'होनहार केटो छ।'
उमेश्वरले काठमाडौ आएर पासपोर्ट बनाए। त्यसपछि सुरु भयो, उनको सपनाको संसार।
फर्मी ल्याबमा जागिर
उमेश्वरप्रसादको नेपालदेखि अमेरिकासम्मको पढाइ यात्रा निकै चाखलाग्दो छ। त्यसमा पनि उनले अमेरिकाकै प्रतिष्ठित मानिने फर्मी ल्याबमा कसरी जागिर पाए, त्यो पनि कम रमाइलो छैन। सन् १९७६ मा अमेरिका प्रवेशसँगै उनले थुप्रै हस्तीसँग काम गर्ने मौका पाए। सन् १९८३ सम्म उनी अध्ययनमै व्यस्त रहे। 'पोस्टडक्टर फेलो' गर्दा प्रोफेसर टम डेभलेनदेखि फर्मी ल्याबमा स्वर्गीय टेरी क्यारोलसँग समेत उनले काम गर्न भ्याए। 'यी दुवैको प्रेरणाले मलाई अगाडि बढ्न सजिलो भयो,' उनी भन्छन्।
उमेश्वर सन् १९८४ मा अमेरिकाको न्यूजर्सीस्थित रकर्स युनिभर्सिटीमा 'पोस्टडक्टर फेलो' का रूपमा भर्ना पाए। उनले रकर्स युनिभर्सिटीबाटै सिडिएफ (कोलाइडर डिटेक्टर अफ फर्मुला) मा पिएचडी गरे। यहीँ पढ्दै गर्दा उनी पहिले 'पोस्ट डक्टर फेलो' का रूपमा फर्मी ल्याब प्रवेश गरेका थिए।
सुरुमा फर्मी ल्याबमा काम गर्नु त्यति सहज थिएन। किनभने उनी त्यहाँ पहिलो नेपाली वैज्ञानिक थिए। करिब ५ वर्ष करारमा काम गरेपछि अमेरिकामा कामको मूल्यांकन गर्ने परिपाटी छ। यसका लागि अनुभवी फिजिसिस्टहरूको दलबल नै हुन्छ। यसले मन्जुरी दिएको खण्डमा मात्र काममा स्थायित्व पाइन्छ।
फर्मी ल्याबमा ५ वर्ष करारमा काम गर्दा उनको कामको राम्रो मूल्यांकन भयो। त्यसपछि उनले ल्याबमा भएका विभिन्न शोधमध्ये एउटा छान्ने अवसर पाए। उनले १८ वर्ष सिडिएफमै काम गरे। सन् २००२ देखि भने उनी सिएमएफमा काम गरिरहेका छन्।
फिजिक्स पढ्दा
सन् १९७१ मा आइएस्सीको परीक्षाफल सार्वजनिक हुँदा सबभन्दा दंग थियो, जोशी परिवार नै। किनभने त्यतिबेला आइएस्सीमा बोर्ड फस्ट हुने विद्यार्थी थिए, उमेश्वरप्रसाद जोशी।
सुरुका वर्ष उमेश्वरलाई फिजिक्स पढ्ने कुनै सोख थिएन। उनलाई स्कुलदेखि नै केमेस्ट्रीमा ठूलो रुचि थियो। त्यसको पनि एउटा कारण थियो। जेभियरमा पढ्दा एकजना केमेस्ट्री शिक्षक थिए, ताङगुरुल हक। उनी निकै चाखलाग्दो पाराले पढाउँथे। त्यसैले स्कुले जीवनदेखि उमेश्वरलाई केमेस्ट्री विषयमा घत परेको थियो।
त्यतिबेला आइएस्सी गरिसकेपछि इन्जिनियरिङ गर्न भारत जाने चलन थियो। तर, उनले बिएस्सी पनि अमृत साइन्स क्याम्पसमै पढे। उनलाई पछिसम्म केमेस्ट्री नै पढ्छु भन्ने लागेको थियो। तर, बिएस्सी पढिरहँदा एकजना फिजिक्सका प्रोफेसर क्रिस्टफर मोटली भोलेन्टियरका रूपमा अस्कलमा पढाउन आएछन्। उनको पढाउने कलाबाट आकर्षित उमेश्वर फेरि केमेस्ट्रीबाट फिजिक्सतिर आकर्षित भए। त्यसयता उनको फिजिक्सतर्फको आकर्षणमा कमी आएको छैन।
आगामी योजना
अमृत साइन्स पढ्दा आफुलाई केमेस्ट्री (मोतिकाजी स्थापित) र हिसाब (मोहनवीर सिंह) पढाउने दुईजना गुरुलाई अहिले पनि बिर्सन सकेका छैनन्, उमेश्वरले। त्यसैले उनी नेपालको शैक्षिक क्षेत्र सुधारका लागि केही काम गर्ने इच्छा व्यक्त गर्छन्।
'मलाई नेपालमा के भइरहेको छ, त्यति थाहा छैन। तर, यहाँको शैक्षिक क्षेत्रमा काम गर्न सकिन्छ,' लामो समयपछि नेपाल आएका उनी भन्छन्। उनी अमेरिकामा आफैसँग काम गर्ने थुप्रै भारतीय वैज्ञानिकले भारतमा शैक्षिक सुधारका लागि काम गरिरहेको बताउँछन्।
र, भन्छन्- 'अमेरिकामा सिधै सम्बन्ध बनाएर पनि काम गर्न सकिन्छ। नभए भारतमा भएका राम्रा विश्वविद्यालयसँग मिलेर शिक्षा क्षेत्रमा ठूलो काम गर्न सकिन्छ।' उनी नेपालमा भन्दा भारतमा आफ्नो सम्पर्क धेरै भएको बताउँछन्।
नवीन अर्याल,








0 comments:
Post a Comment