एक सातादेखि पोखराको आकास बाक्लो हुस्सुले ड्याम्मै ढाकिएको छ। टलक्क टल्किने हिमाल हुस्सुभित्र लुकेको छ। तैपनि मुम्बईबाट आएका अभिनेता इरफान खानलाई पोखरा सुन्दर लाग्यो रे।
सोमबार दिउँसो पोखरा झरेका उनी मंगलबार बिहानदेखि पोखरामा रमाउँदै थिए। पोखरा आसपासका क्षेत्रको भ्रमण गर्नुका साथै प्याराग्लाइडिङबाट फेवातालको दृश्यावलोकन गर्न समेत भ्याए।
उनी यसअघि कतै पनि प्याराग्लाइडिङमा उडेका थिएनन्। हुस्सुको पर्वाह नगरी उनले आकासमा कावा खाँदै आधा घन्टा बिताए। चितवनको जंगल घुम्न र त्यहाँका जनावर अवलोकन गर्ने चाहना राखेका इरफान साथीहरूको सुझावपछि पोखरा हानिएका रहेछन्। पत्नीसँगै आएका उनले पोखरालाई 'सुन्दर सहर' को रूपमा चित्रण गरे। 'बाक्लो बस्ती, शान्त र सुन्दर रहेछ पोखरा त,' उनले भने, 'धुवाँधुलो नभएकोले साह्रै आनन्द आयो पोखराको यात्रा।'
उनले सोमबारै फेवातालमाथिको अनदुडाँडास्थित शान्तिस्तुपाबाट पोखराको अवलोकन गरेका थिए। उनले फेवातालमा डुंगा सयर गर्न भने भ्याएनन्। दुई दिनका लागि पोखरा आएका इरफानले यात्रा फलदायी भएको बताए।मंगलबार बिहान लेकसाइड घुमे। उनलाई पर्यटकीय गतिविधि भन्दा पनि जंगली जनावर हेर्ने चाहना रहेछ। त्यसैले त भेट हुनासाथ पोखरामा जंगल र जंगली जनावर हेर्न पाइने वा नपाइने भन्दै जिज्ञासा राखेका थिए। 'मलाई जंगली जनावर हेर्न साह्रै मन लागेको छ,' उनले भने, 'तर पोखरामा त्यो हेर्न पाइन्छ की पाइँदैन?'
उनले नेपालमा फिल्म छायांकन गर्ने चाहना पनि पोखे। 'नेपाल र यहाँका गाउँ साह्रै सुन्दर रहेछन्, त्यसैले नेपालका कुनै गाउँमा आएर फिल्म सुटिङ गर्ने चाहना जागेको छ,' खानले भने।
प्याराग्लाइडिङ गर्दा उनलाई सबैभन्दा राम्रो फेवाताल लागेछ। टेन्डम (दुईजना उड्न मिल्ने) उडान गरेका उनलाई रसियन पाइलट एन्टोनले उडाएका थिए। 'वरपरका डाँडासम्म उड्न पाइयो, साह्रै रमाइलो लाग्यो,' प्याराग्लाइडिङबाट ओर्लिएलगत्तै उनले पाइलटलाई धन्यवाद दिँदै भने, 'साह्रै राम्रो दृश्य देखाउनुभयो, मौका मिले अर्काेपटक आउँदा उडौँला।' उनले आधा घन्टाको लागि ७० युरो तिरेका थिए।
इरफानसँगै मुम्बई फिल्मका म्युजिक डाइरेक्टर अभिषेक रोय पनि प्याराग्लाइडिङबाट उडान भरेका थिए। उनले पनि पोखराले आफुलाई लोभ्याएको बताए। 'आकाशबाट हेर्दा त पोखरा बयान गर्न नसकिने सुन्दर रहेछ,' रोयले भने, 'फेरिफेरि पोखरा आउँदा पनि चढ्नुपर्ला।'
इरफानलाई लेकसाइडमा देखेपछि भारतीय मजदुर हतारहतार गाडीमै भेट्न पुगेका थिए। मुम्बईमा कहिल्यै भेट्न नपाएका उनीहरूले नेपालमा आएर खानलाई भेट्न पाएकोमा खुशी भएका थिए। 'मुम्बईमा प्रहरी र निजी सुरक्षाकर्मीले नजिक जानै दिँदैनथे, बल्ल पोखरामा भेट्न पाइयो,' भारतको राजस्थानबाट आएर पोखरामा काम गरिरहेका कश्मिरीलालले भने, 'उहाँले मलाई मुम्बईको सट्टा पोखरामै बस्ने सल्लाह दिनुभयो।' फिल्ममा देखेका दर्शकले पछ्याउने भएकाले आफूलाई अप्ठेरो पर्ने भन्दै इरफान गाडीबाटै नओर्ली प्याराग्लाइडिङ चढ्न सराङकोट गएका थिए।
सन्तोष पोखरेल,








0 comments:
Post a Comment