Translate
Sunday
सहरियालाई तान्दै नेपाली सिनेमा
सविता रिजाल हिन्दी फिल्म भनेपछि मरिहत्ते गर्थिन् । त्यो लगाव केही समययता नेपाली सिनेमातिर मोडिएको छ ।
यी पोखरेली युवती मात्रै होइन, अधिकांश सहरिया युवा पुस्ता केही समययता हलतिर तानिन थालेका छन् । नेपाली सिनेमा नै हेर्न । यसको कारण हो- पछिल्लो समयमा सिनेकर्मीहरूले
सहरिया युवा दर्शकहरूको रुचि बुझेर चलचित्र निर्माण गर्नु ।
भर्खर मात्रै 'फ्ल्यास ब्याक' -फर्केर हेर्दा) हेरेकी सविताका अनुसार अचेल नेपाली सिनेमाको धार बदलिँदै गएको छ । 'यस्तै खालका -'फ्ल्यास ब्याक' जस्तै) सिनेमा बने युवा दर्शकहरू हलसम्म नजाने कुरै छैन,' उनले भनिन्, 'अहिलेको पुस्ताले यस्तै सिनेमा चाहेका छन् ।' 'मेरो एउटा साथी छ,' 'सानो संसार' को शैलीलाई चलचित्रकर्मीहरूले निरन्तरता दिनुपर्ने उनी सुझाउँछिन् ।
यतिबेला पोखराका तीन हलमा 'फ्ल्यास ब्याक' र 'गंगाजल' प्रदर्शित छन् । भर्खर मात्रै 'कन्यादान' हटाएर 'गंगाजल' चलिरहेको विन्ध्यवासिनी हलमा दर्शकको चाप बढिरहेको त्यसका सञ्चालक उत्तम झाले बताए । यसअघि 'कन्यादान' मा समेत दर्शकको भीड थामिनसक्नु थियो । कतिपय दर्शकहरूले उठीउठी उक्त सिनेमा हेरेका थिए ।
'दुई-तीन वर्षयता नेपाली सिनेमाका दर्शक बढेका छन्,' तीन हलका मालिक झाले भने, 'नेपाली सिनेमा कहिल्यै नहेर्ने दर्शकहरू पनि हलमा आउन थालेका छन् ।'
मुलुकमा राजनितिक परिवर्तनसँगै सिनेमा निर्माणमा आएको बाढीले पनि हलवालाले राहत अनुभव गरेका हुन् । वर्षमा मुस्किलले २० वटासम्म सिनेमा बन्ने नेपाली उद्योगमा अहिले ७० को हाराहारीमा बन्न थालेका छन् । पहिले सिनेमा नपाउने हल सञ्चालकहरूलाई पनि एकै पटकमा दर्जन सिनेमाको बुकिङ आउन थालेको छ ।
पोखरामा हाल ४ हल सञ्चालनमा छन् । विन्ध्यवासिनी, वाराही र पूणिर्मामा नियमित रूपमा नेपाली सिनेमा प्रदर्शित हुन्छन् । 'नेपाली सिनेमा हेर्ने पोखरेली दर्शक निकै पाएँ,' पोखरामा सुटिङ भइरहेको 'आई एम सरी' का निर्माता हरि महतले भने, 'राम्रो चलचचित्र भयो भने दर्शकले नेपाली सिनेमा मन नपराउने कुरै छैन ।' कुरा गलत छैन ।
Subscribe to:
Post Comments (Atom)








0 comments:
Post a Comment