Translate

Sunday

कस्तो हुनुपर्छ त्रिभुवन विश्वविद्यालय ?

भोला धनकौल

आधा शताब्दी पार गरेको त्रिभुवन विश्वविद्यालय प्रतिपस्र्धा र गुणस्तरीय शिक्षाको क्षेत्रमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त विश्वविद्यालय पनि हो । चिकित्सा र  इन्जिनियरिङ शिक्षाको क्षेत्रमा यो एसियाकै दसौं उत्कृष्ट विश्वविद्यालय मानिन्छ । त्रिभुवन विश्वविद्यालय सरकारी क्याम्पस तथा उच्च शिक्षाका कार्यक्रमहरू  सञ्चालन गर्ने एकमात्र सरकारी केन्द्रीय विश्वविद्यालयका रूपमा स्थापित छ । यो विश्वविद्यालयले प्रदान गर्ने मानविकी संकायअन्तर्गतको सैद्धान्तिक शिक्षा अरू  प्रतिष्ठित राष्ट्रिय, अन्तराष्ट्रिय विश्वविद्यालयको तुलनामा सस्तो र गुणस्तरीय भएको शिक्षाविद्हरूको ठहर छ ।

शिक्षाक्षेत्रमा गरिएको बृहत् लगानी र विभिन्न प्रयासका बावजुद मुलुकमा गुणस्तरीय शिक्षा र रोजगारीको अवसर उपलब्ध हुन नसकेको कारण देखाउँदै बर्सेनि  उल्लेख्य संख्यामा विद्यार्थीहरू बिदेसिनु हाम्रो शिक्षाको सबैभन्दा ठूलो कमजोरी र चिन्ताको विषय हो । उच्च शिक्षालाई भीडतन्त्र बनाइएको, कोटा र भौतिक-शै क्षिक पूर्वाधारको दाँजोमा स्ववियुको राजनैतिक दबाबमा विद्यार्थी-शिक्षक भर्ना हुने, तोकिएको शैक्षिक पात्रोअनुसार अध्ययन, अध्यापन र परीक्षा नहुनेजस्ता  तथ्यहरू त्रिभुवन विश्वविद्यालयका प्रमुख कमजोरीका रूपमा देखिएका छन् ।

कस्तो हुनुपर्छ ? उत्पादन र रोजगारमूलक आधुनिक शिक्षा देशलाई आवश्यक आधुनिक शिक्षाको परिकल्पना गर्ने हो भने युवा पुस्तालाई उत्पादक बनाउन सीपयुक्त, व्यावसायिक, उत्पादनमूलक एवं प्राविधिक शिक्षा  उपलब्ध गराउनुपर्छ । त्यसैले प्रवेशिकाभन्दा माथि प्लस टु र स्नातक तहमा उत्पादित जनशक्तिलाई कुनै खास प्रकारको सीप, व्यवसाय, रोजगारसँग सम्बन्धित  तालिम, प्रशिक्षण, सीप सिकाउने शिक्षाको व्यवस्था हुनुपर्छ ।

इन्जिनियरिङ तथा प्राविधिक विषयको स्नातक तहमा बहुदेशीय बाँध, सिंचाइ, नहर, राजमार्ग, रेल यातायात, सुरुङ, सडक, पुल, बिजुली उत्पादन, पर्यटन  व्यवस्थापन, जडीबुटी खेती, आधुनिक खेती र खेती प्रणाली, उत्पादन प्रविधि, उधोग-धन्दा व्यवस्थापन र औद्योगिक उत्पादन तथा विकास योजनाहरू कार्यान्वयन  गर्ने प्रविधिको अनुभवगत अध्ययन गर्न सकिने शिक्षाको अवसर उपलब्ध गराइनु आवश्यक छ । यस्तो शिक्षालाई विषयगत दक्षता तथा विशेषज्ञता हासिल गर्ने  स्तरको बनाउनुपर्छ ।

अहिले मुलुकमा कुनै पनि विकास योजना कार्यान्वयन गर्न विदेशी परामर्शदाता झिकाउनुपर्ने, हाइवे इन्जिनियरिङ र पुल डिजाइन सम्बन्धी अध्ययन गर्न विदेश  पुग्नुपर्ने र यस्ता क्षेत्रको काम परिआएमा विदेशी प्राविधिज्ञ नै झिकाउनुपर्ने अवस्था छ । उच्च शिक्षालाई विषयगत विशेषज्ञता र अनुसन्धानमूलक बनाउनु छ भने  प्लस टुसम्मको शिक्षालाई शास्त्रीय र सैद्धान्तिक शिक्षा भन्दा पनि अध्ययनकै क्रममा केही गर्ने, सिक्ने र अनुभव बटुल्न सक्ने तालिम वा सीप प्रदान गर्न सक्ने  व्यावहारिक शिक्षाको खाँचो छ ।

विदेशमा बढ्दो दक्ष जनशक्तिको मागलाई ध्यानमा राखेर प्लस-टु तहमा आधुनिक रोजगारमूलक शिक्षा खासगरी प्रविधि अध्ययनसम्बन्धी, सीप सिकाउने,  व्यावसायिक, व्यावहारिक तालिम, प्रशिक्षण प्रदान गर्ने, नयाँ कुरा सिक्ने-सिकाउने तथा पत्ता लगाउनेसम्बन्धी अध्ययन-अध्ययापन गर्नु-गराउनुपर्छ । यसैगरी  स्नातकोत्तर तहको शिक्षालाई देशको सम्बन्धित विषयको आवश्यकतालाई मध्यनजर गर्दै सीमित कोटा संख्या तोकेर विद्यार्थी भर्ना गर्ने र विद्यार्थीले विषयगत  विशेषज्ञता हासिल गर्ने गरी शिक्षा प्रदान गरिनुपर्छ ।

स्नातकोत्तर तहको शिक्षालाई अनुसन्धान र सम्बन्धित विषयको दक्षता तथा विशेषज्ञतामा आधारित बनाउनुपर्छ । यसका लागि उपयुक्त किसिमको पाठ्यक्रम निधार् रण, शैक्षिक भौतिक पूर्वाधारहरूको व्यवस्था, शिक्षक र शैक्षिक प्रशासनको सुव्यवस्था हुनुपर्छ भने पाठ्यक्रम तथा विभिन्न तहगत शैक्षिक कार्यक्रमहरू कम्तीमा ५  वर्षपछि एकपटक समयसापेक्ष पूनरावलोकन गर्ने परम्परा बसाल्नु आवश्यक छ ।

विभागहरूको समायोजन र पुनर्संचना तथा विकेन्द्रीकरण

स्नात्तकोतर तहको अध्ययनअध्यापन हुने त्रिभुवन विश्वविद्यालयका कतिपय केन्द्रीय विभाग बेहाल अवस्थामा छन् । हिन्दी, संस्कृति, राजनीतिशास्त्र, भूगोल,  इतिहास आदि केन्द्रीय विभागहरूको आकर्षण र अवस्था दिन-प्रतिदिन खस्कँदो छ । यस्ता केही विभागमा विद्यार्थीभन्दा शिक्षक धेरै भएको, शिक्षक-विद्यार्थीहरू  कामविहीन हुन पुगेको अवस्था छ भने केही वर्षअघि आकर्षक विषय मानिएको ग्रामीण विकास, जनसंख्या, पुस्तकालय तथा सूचना विज्ञान विभागमा पनि  विद्यार्थीहरूको आकर्षण दिन-प्रतिदिन घट्दै गएको भर्ना आवेदन र विद्यार्थी भर्ना तथ्याङ्कले देखाएको छ ।

त्रिभुवन विश्वविद्यालयको शैक्षिक स्थितिमा सुधार गर्ने हो भने सर्वप्रथम त्रिभुवन विश्वविद्यालयको शिक्षालाई यस्तो शिक्षाको अवधारणाबाट मुक्त गर्नु आवश्यक  छ । यसका लागि स्नात्तक तहसम्मको शिक्षालाई विभिन्न विषय र क्षेत्र समेटर व्यावहारिक, प्राविधि, व्यवसायिक, उत्पादनमूलक, सिपमूलक बनाउनुपर्छ भने  स्नात्तकोत्तर तहको शिक्षालाई निश्चित कोटा निर्धारण गरेर अनुसन्धानामूलक बनाउनु आवश्यक छ । त्रिभुवन विश्वविद्यालयले साधारण विषयसँग सम्बन्धित  स्नात्तकोत्तर तहको समस्यालाई समाधान गर्न दयनीय अवस्थामा रहेका विभागहरूको समायोजन तथा अवस्था सुधार्न योजनाबद्ध कदम चाल्नु आवश्यक छ ।

उदाहरणका लागि इतिहास केन्द्रीय विभागलाई राजनीति शास्त्र केन्द्रीय विभागमा, संस्कृति केन्द्रीय विभागलाई मानव तथा समाज शास्त्र केन्द्रीय विभागमा, हिन्दी,  मैथिली आदि विभागलाई भाषा विज्ञान केन्द्रीय विभागमा, भूगोल केन्द्रीय विभागलाई भूगर्भ विज्ञान केन्द्रीय विभागमा समायोजन गरेर स्नातकोत्तर तहका आकर्षक  कार्यक्रमहरू सञ्चालन गर्न सकिन्छ । अझ संस्कृत विश्वविद्यालयलाई भाषा विश्वविद्यालयमा रूपान्तर गरी सम्पूर्ण भाषागत शिक्षण तथा संस्कृतिसम्बन्धी  अध्ययन-अनुसन्धानको जिम्मा दिनुपर्छ, तर केही गर्नुभन्दा पहिले सरोकारवाला निकाय र विश्लेषकहरूमा विस्तृत छलफल र बहस चलाउनु आवश्यक छ ।

त्रिभुवन विश्वविद्यालयले राष्ट्रिय तथा अन्तराष्ट्रिय रोजगार बजारको माग तथा प्रतिस्पर्धालाई मध्यनजर गर्दै नयाँ पाठ्यक्रमको निर्माण, पुनरावलोकन तथा सुधार  गर्नुपर्छ । तहगत शैक्षिक प्रणालीको पुनर्संरचना, शिक्षणपद्धतिमा आधुनिक सुधार गर्ने र शिक्षण भौतिक तथा जनशक्तिको सामयिक तर्जुमा गर्नुपर्छ । त्रिभुवन  विश्वविद्यालय कीर्तिपुरमा अध्ययन-अध्ययापन हुने विषयहरू देशका अरू भागमा पनि अध्ययन-अध्ययान गराउने व्यवस्था मिलाउनुपर्छ ।

निरूपण गर्नुर्पर्ने समस्या

त्रिभुवन विश्वविद्यालयभित्र हुने राजनीतिक हस्तक्षेप तथा विद्यार्थीहरूको दिनहुँजसो हुने आन्दोलन, क्याम्पस तालाबन्दी, हड्ताल, तोडफोड, धर्ना आदिले सम्पूर्ण  विद्यार्थीको भविष्य नै अन्योलग्रस्त हुन पुगेको छ । विद्यार्थी आन्दोलन र तालाबन्दीका कारण नियमित कक्षा सञ्चालन हुन नसक्नु, ढिलो परीक्षा, भौतिक साधन,  सुविधा एवं शिक्षण जनशक्तिको अभाव र शैक्षिक क्यालेन्डर समूचित ढङ्गमा कार्यान्यवन हुन नसक्नुले त्रिभुवन विश्वविद्यालयको शिक्षामा गुणस्तरीयताको मापदण्ड  कायम हुन नसकेको विज्ञहरूको विश्लेषण छ । सुविधाको अनुपातमा बढी विद्यार्थी भर्ना लिइनु, स्नातकोत्तर तहमा पनि विद्यार्थीहरूलाई अनुत्तीर्ण गराइनु र कम  अङ्क दिएर विद्यार्थीहरूको जीवन धराशायी पार्नुजस्ता समस्या आमरूपमा देखिएका छन् । यी समस्याको निराकरण विद्यार्थी-कर्मचारी-प्राध्यापक संघ, संगठन,  त्रिभुवन विश्वविद्यालय व्यवस्थापन, सरकार आदि सबै पक्ष मिलेर गर्नुपर्छ । निश्चित समयभित्र परीक्षाफल प्रकाशनका लागि आवश्यक भौतिक साधन-स्रोतको  तर्जुमा, परीक्षा कार्यको विकेन्द्रीकरण र क्षेत्रीयकरण गरिनुका साथै परीक्षा कार्यमा संलग्न शिक्षक-कर्मचारीहरूले तोकिएको काम तोकिएको समयअवधिभित्र नसके  उनीहरूलाई कम्तीमा पनि अनुशासनको कारबाही गर्नु आवश्यक छ ।

त्रिभुवन विश्वविद्यालयको आर्थिक अवस्था सुधार्न आन्तरिक स्रोतहरू परिचालन गर्नुपर्छ । उदाहरणका लागि इन्जिनियरिङ, विज्ञान तथा प्रविधि र त्रिभुवन  विश्वविद्यालय कीर्तिपुरस्थित केन्द्रीय विभागहरूमा कन्सल्टेन्सी सेवा सुरु गर्नुपर्छ । यसबाट शिक्षक, विद्यार्थी तथा विभाग सबैलाई आर्थिक, बौद्धिक लाभ प्राप्त हुन  सक्छ । त्रिभुवन विश्वविद्यालयका महत्त्वपूर्ण जग्गा-जमिनका रूपमा काठमाडौंको मुटुमा रहेका जनप्रशासन क्याम्पस, जमल, ललिकला क्याम्पस, भोटाहिटी,  सरस्वती क्याम्पस ठमेलमा रहेका जग्गाजमिनलाई व्यापारिक, प्रयोजनका लागि लिजमा दिएर आर्थिक उपार्जन गर्नुपर्छ । यी ठाउँमा अन्डरग्राउन्ड पार्किङ  सुविधासहित अफिस प्लस सपिङ कम्पलेक्स बनाएर पर्याप्त आर्थिक लाभ लिन सकिन्छ । काठमाडौंबाहिरका क्याम्पस क्षेत्रका जग्गा-जमिनलाई पनि आर्थिक दृष्टिकोणले उपयोग गर्न सकिन्छ ।

0 comments:

Post a Comment