अर्काको नाममा फेसबुक अकाउन्ट खोलेर पीडा दिने अपराध मनोवृत्तिको सिकार नेपालका चर्चित कलाकार र नेता मात्र होइन गृहमन्त्री र प्रधानमन्त्रीसम्म भइसकेका छन्। सन्त गाहा मगर को रिपोर्ट सन्त गाहा मगर
भानु भट्टर्राई  | 
प्रविधिप्रति जिज्ञासु प्रधानमन्त्री माधवकुमार नेपालले तीन महिनाअघि फेसबुक अकाउन्ट खोलेका र व्यस्तताका बीच पनि लगइन गर्ने समय निकाल्ने गरेका उनका प्रेस-सल्लाहकार विष्णु रिजाल बताउँछन्। तर, नेपालले एउटै अकाउन्ट खोलेको भए पनि उनको फोटो र विवरणसहितका १५ वटा अकाउन्ट चालु छन्।
नेपालमा चर्चित व्यक्तिहरूको नाममा ८-१० वटा फेसबुक अकाउन्ट भेटिनु सामान्य जस्तै भइसकेको छ। एमाले अध्यक्ष झ्लनाथ खनाल, अर्का नेता केपी 'ली, मा'वादी उपाध्यक्ष डा. बाबुराम भट्टराई, काङ्ग्रेस नेतृ सुजाता कोइराला, पूर्वराजा ज्ञानेन्द्र शाह, अभिनेता राजेश हमाल, अभिनेत्रीहरू निरुता सिंह, रेखा थापा, जेनिशा मोक्तान आदिका नाममा फोटोसहित थुप्रै अकाउन्ट भेटिन्छन्, जसमध्ये अधिकांश नक्कली हुन्। अकाउन्ट नै नक्कली भएपछि तिनमा भएका सूचना र सन्देश सक्कली हुने कुरै भएन।
प्रधानमन्त्री र गृहमन्त्री नै पीडित
तत्कालीन प्रधानमन्त्री दाहाललाई २०६५ चैतमा पार्टीका अर्का नेता डा. भट्टराईले फेसबुकबाट तथानाम गाली गरेको विषयले मा'वादी बैठकमै प्रवेश पाएको थियो। यो अरू कसैको करामत भएको थाहा भएपछि विवाद त टुङ्गियो, तर त्यसपछि डा. भट्टराईले आफ्नो फेसबुक अकाउन्ट नै बन्द गरे। जति गर्दा पनि आफूले चलाएको र अर्कैले चलाइदिएको अकाउन्ट छुट्याउनै नसकेपछि भट्टराईले ५ वैशाख २०६६ मा फेसबुक बन्द गरेको उनका स्वकीय सचिव विश्वदीप पाण्डे बताउँछन्। उनका अनुसार डा. भट्टराईको नाममा हाल चालु सबै अकाउन्ट अनधिकृत हुन्। भट्टराईसँगै कृष्णबहादुर महरा, हरिभक्त कँडेल, वर्षमान पुनलगायत पार्टीका नेताहरूले पनि फेसबुक चलाउन छाडेका छन्।
दुई महिनाअघि वर्तमान गृहमन्त्री भीमबहादुर रावलको नाममा अनधिकृत अकाउन्ट खुलेको थाहा भएपछि नेपाल प्रहरीका उपल्लो तहका अधिकृतहरू राम्रैगरी रन्थनिएका थिए। गृहमन्त्रीबाट भएको नक्कली अकाउन्ट तत्काल बन्द गर्ने र दोषीलाई समात्ने ठाडो आदेशले प्रहरी प्रधान कार्यालय र महानगरीय प्रहरी अपराध महाशाखाका अधिकृतहरूको घण्टी बजायो। अन्ततः प्रहरी प्रधान कार्यालयको कम्प्युटर महाशाखा र महानगरीय प्रहरी अपराध महाशाखाका अधिकृतहरूको दिन-रातको कसरतले अमेरिकाको क्यालिफोर्नियास्थित फेसबुकको प्रधान कार्यालयलाई नै पत्र पठाउने उपाय त निस्क्यो, तर अश्लील तस्बिर वा शब्द प्रयोग नभएकाले एक पक्षले अनुरोध गर्दैमा अर्को पक्षको अकाउन्ट बन्द गर्न नमिल्ने जवाफ फेसबुक कार्यालयबाट आयो। अनुरोधपत्रको आधिकारिकतामै शङ्का गरिएको ठानेर नेपाल प्रहरीले लेटर हेडमै अर्को पत्र फ्याक्स गरेपछि मात्र रावलको नाममा चालु अकाउन्ट बन्द भयो। गृहमन्त्रीको नक्कली अकाउन्ट बन्द भए पनि दोषीमाथि कारबाही त परको कुरा उसको पहिचानसम्म हुनसकेको छैन।
कारण हो― इन्टरनेट प्रोटोकल (आईपी) नम्बर नपाउनु। फेसबुकले आफ्नो स्टेटमेन्ट अफ राइट एण्ड रेस्पोन्सबिलिटी अनुसार कुनै पनि प्रयोगकर्ताको आईपी नम्बर दिँदैन। प्रहरीले पक्राउ पुर्जी जारी गरेको प्रयोगकर्ताको मात्रै आईपी दिन सकिने उसको वेबसाइटमा उल्लेख छ, तर पहिचान नै नभएको अपराधी को नाममा पक्राउपुर्जी जारी हुने कुरै भएन। त्यसबाहेक, ७० भन्दा बढी भाषा प्रयोग हुने फेसबुकमा अङ्ग्रेजीमा लेखिएको रहेछ भने मात्र कार्यालयले अश्लील शब्द-वाक्यलाई अश्लील मान्छ, नेपाली युनिकोडमा जतिसुकै आपत्तिजनक कुरा लेखिए पनि फेसबुकको नियमन शाखाले अश्लील ठहर्याउँदैन। पटक-पटक अनुरोध गरे पनि अभिनेत्री गरिमा पन्तको नक्कली अकाउन्ट बन्द नहुनुको कारण यही थियो।
विकृतिको माध्यम
मानसिक रूपमा विकृत प्रयोगकर्ताहरूले फेसबुकलाई राजनीतिकदेखि यौनजन्य तुष्टिको माध्यम बनाएका छन्। गएको वैशाखमा एमा'वादी आमहडतालताका नेपाली सेनाको नौ वटा वाहिनीको नाममा फेसबुक र इमेलबाट प्रसारित वक्तव्यहरूको खण्डन गर्न सेनाले विज्ञप्ति निकाल्नु परेको थियो। ती नक्कली वक्तव्यहरूमा सेनाका कमाण्डरहरूको आदेश पालना गर्नुअघि मातहतले राजनीतिक विवेक प्रयोग गर्नुपर्ने उल्लेख थियो।
१४ जेठमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार रिजालको नाममा फेसबुकबाट प्रधानमन्त्रीको राजिनामासम्बन्धी झ्ूठो प्रचार गरिएको नक्कली विज्ञप्ति आयो। यसका लागि जीमेलमा पनि रिजालकै नक्कली आईडी प्रयोग गरिएको थियो। रिजाल भन्छन्, “कसैले प्रविधिको दुरुपयोग गर्दा अनाहकमा सास्ती खेप्नुपर्यो।” गलत प्रयोगकर्ताहरूले फेसबुकलाई राजनीतिक दलका नेता, प्रधानमन्त्री, मन्त्री, पूर्व राजा, चर्चित कलाकारलाई अपमानित गरेर तुष्टि लिन शब्द र तस्बिरका साथै ग्राफिक इमेज र भिडियो समेत प्रयोग गरेको देखिन्छ।
प्रहरीको साइबर क्राइम सेलमा महिलाहरूको नाममा नक्कली अकाउन्ट खोलेर अश्लील तस्बिरसहित शारीरिक सम्बन्धका लागि आह्वान गरिएको भन्ने व्यहोराका उजुरी दर्ता भएका छन्। सेलमा पुगेकी राजधानीको एउटा सम्भ्रान्त परिवारकी महिलाले धेरै जनाले फोन गरेर मोलमोलाइ गर्न थालेपछि आफ्नो फोन नम्बरसहित नक्कली फेसबुक अकाउन्ट खोलिएको थाहा पाएको बताएकी थिइन्।
छैन कानुनी उपचार
अर्काको फोटोसहित प्रोफाइल राखेर अकाउन्ट खोल्नुलाई इन्टरनेटको भाषामा इम्पोस्टर भनिन्छ। सर्वसाधारणदेखि प्रधानमन्त्रीसम्मलाई सिकार बनाइरहेको इम्पोस्टर लाई अनुगमन र नियन्त्रण गर्न सक्ने कानुन र दक्ष जनशक्ति दुवै छैनन्, नेपालमा। त्यही भएर हो, कतिपय निकायले यो प्रविधिबाटै पन्छिने उपाय अपनाएका छन्। प्रहरी र सेनाले फेसबुक, टि्वटर जस्ता सामाजिक सञ्जाल साइट चलाउनै प्रतिबन्ध लगाएको छ। पत्रकारहरूले नयाँ समाचारलाई आफूसम्बद्ध सञ्चारमाध्यममा भन्दा अगाडि ब्रेकिङ न्युज भनेर आफ्नै स्टाटस्मा अपलोड गर्न थालेपछि केही सञ्चारगृहले पनि फेसबुक चलाउन नदिने नीति लिएका छन्।
विद्युतीय कारोबार ऐन, २०६३ मा कम्प्युटर, इन्टरनेटलगायतका विद्युतीय सञ्चारमाध्यमबाट हुने अपराधसम्बन्धी सजायको व्यवस्था छ। ऐनको दफा ४७ भन्छ, “कम्प्युटर, इन्टरनेटलगायतका विद्युतीय सञ्चारमाध्यममा प्रचलित कानूनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ।” तर, यो कानूनी दायराभन्दा परै छ― अरूलाई पीडा दिएर आनन्द लिने साइवर अपराध।
अन्तर्राष्ट्रिय साइबर सन्धिको पक्ष राष्ट्र नभएकाले फेसबुकको नीति अनुसार आईपी नम्बर लिन सबभन्दा पहिले नेपालले अमेरिकी सरकारलाई गुहार्नुपर्ने हुन्छ। त्यसपछि, अमेरिकी सङ्घीय अदालतको आदेश भए मात्र आईपी नम्बर पाइन्छ। नम्बर पाएपछि कुन कम्प्युटरबाट नक्कली अकाउन्ट खोलिएको थियो भन्नेसम्म पत्ता लाग्छ, तर मानिस पत्ता लगाउन त्यस कम्प्युटरमा कतिखेर को बसेको थियो भन्ने थाहा हुनुपर्छ। महानगरीय प्रहरी अपराध महाशाखा साइबर क्राइम सेलका प्रहरी निरीक्षक एयम चन्द्रबहादुर धामी यसका लागि साइबरहरूको दर्ता गर्ने, त्यहाँ आउने प्रत्येक ग्राहकको तथा वाइफाइ र केवल इन्टरनेट प्रयोगकर्ताको फोटोसहित पूर्ण विवरण राख्ने र सार्वजनिक स्थानमा अश्लील साइट रोक्ने कानुन चाहिने बताउँछन्।
गृह मन्त्रालय स्रोतका अनुसार प्रहरीको प्रतिष्ठासँग जोडिएको गृहमन्त्री रावलको नक्कली अकाउन्ट बनाउनेको पहिचानका लागि इन्टरपोलको सहयोग मागिएको छ। तर यसलाई साइबर अपराधको सही उपचार मानिँदैन। २०६६ मङ्सिरमा पिलर फाइभ नाम दिएर साइबर क्राइम सेल गठन गरेका अपराध महाशाखा प्रमुख एसएसपी रणबहादुर चन्द नेपालले सकेसम्म छिटो साइबर क्राइम सन्धिमा हस्ताक्षर गर्नुपर्ने बताउँछन्। उनी भन्छन्, “नत्र, नेपालले मुलुक भित्र-बाहिर जहाँसुकैबाट हुने कुनै पनि साइबर अपराधको छानबिन गर्न सक्तैन।”
इन्टरनेटकै हाराहारीमा
मार्क जुकेरवर्गले ४ फेब्रुअरी २००४ मा कलेजका साथीहरूबीच नेटवर्क कायम गर्न शुरु गरेको नेटवर्कको विकसित रुप नै अहिले हामीले प्रयोग गरिरहेको सामाजिक सञ्जाल फेसबुक हो, जसको विश्वव्यापी प्रयोगकर्ताको सङ्ख्या ५० करोड नाघेको छ। इन्टरनेट वर्ल्ड स्टाटस्को तथ्याङ्क अनुसार इन्टरनेट साक्षर सङ्ख्या ६ लाख २५ हजार ८०० रहेको नेपालमै पनि पाँच लाख १५ हजार २६० जनाले फेसबुक चलाइरहेका छन्। फेसबुक प्रयोग गर्ने संसारका १८७ देशमध्ये नेपाल ७९ औं स्थानमा पर्छ।
रमाइलो के छ भने, फेसबुकको सबैभन्दा बढी ग्राहक रहेको अमेरिका, बेलायत, टर्की र फ्रान्समा फेसबुक सबभन्दा बढी प्रयोग हुने साइटमध्ये दोस्रो नम्बरमा छ भने नेपालमा पहिलो नम्बरमा। एक प्रयोगकर्ताले दैनिक सरदर ५५ मिनेट फेसबुकमा बिताउने गरेको फेसबेकरडटकममा उल्लेख छ। यस हिसाबले इन्टरनेट साक्षर नेपालीमध्ये ८३ प्रतिशतले फेसबुकका लागि दैनिक ५५ मिनेट बिताइरहेका हुन्छन्।
बच्ने उपाय
• फेसबुकमा गोप्य सूचना नराख्ने।
• चिनेकालाई मात्र साथी बनाउने।
• आफ्ना सूचना, तस्बिर, भिडियो साथीले मात्र हेर्न मिल्ने बनाउने।
• आफ्नो गाउँ-ठाउँ, छोराछोरी वा श्रीमान-श्रीमतीको नामको पासवर्ड नराख्ने।
• पासवर्डमा अंक र अक्षर मिसाउने।
• अकाउन्ट बनाउँदा सेक्युरिटी क्वेइश्चनको जवाफ बलियो राख्ने।
• प्रयोग भएका साइटको हिस्ट्री मेटाउने।










0 comments:
Post a Comment