Translate

Saturday

गर्भमै बिहेको पक्का


बाजुरा,
उमेर पुगेपछि मागी होस् वा आफूखुसी विवाह हुनु सामान्य हो । बाजुराका गाउँमा भने अनौठो चलन अझै हटेको छैन । आमाको गर्भमै रहेका बेला अभिभावकले जन्मिने बालबालिकाको बिहेको छिनोफानो गरिसक्छन् । यस गर्भमै बिहेवारी हुने पक्का गरिएका केटाकेटी १० वर्ष उमेर नपुग्दै औपचारिक रूपमा विवाहबन्धनमा बाँधिने गरेका छन् ।
जिल्लाको अति विकट बिच्छ्याँको गुम्बा गाउँमा विद्यमान यो चलन पुख्र्यौली हो । गाउँमा कुनै महिलाको
गर्भ रहेको केही महिनामै तिनका परिवारले त्यस्तै अर्की गर्भवतीको गर्भमा रहेको शिशुबीच बिहे गर्ने छिनोफानो गर्छन् । गुम्बा गाउँवासीले यसलाई मौलिक परम्पराका रूपमा लिने गरेका छन् ।
यहाँकी पेमा लामा उमेरले १० पनि पूरा भएको छैन । बिहे भने मंसिरमा गाउँकै ८ वषर्ीय देवबहादुर लामासँग भइसकेको छ । पेमा र देवबहादुरको जोडीजस्तै यही उमेर समूहका चार जोडी बालबालिका यसै वर्ष बिहेबन्धनमा बाँधिए । दस वर्षअघि नै पेमा र देवबहादुरका बुबाले सम्धी साइनो
गाँसिसकेका थिए । आमा
पासाङ लामाले भनिन्,
'मेरो गर्भ रहेको केही महिनामै देवबहादुरका बुबासँग कुरा पक्का गरिसकेका थियौं ।'
सदरमुकाम मार्तडीदेखि ४० कोस टाढाको यो गाउँमा २४ परिवारको बसोवास छ । अहिले यस गाउँमा पाँच वर्षमुनिका बालबालिकाको संख्या ३५ छ । उनीहरू कसको कोसँग बिहे हुने पक्का भइसकेको स्थानीय दोर्जे लामाले बताए ।
जनजाति समुदायका थापा, गुरुङ, लामा, कुँवरको बसोवास छ गुम्बा गाउँमा । उनीहरू बिहेका लागि पहिलो प्राथमिकता आफ्नै नातेदारलाई दिन्छन् । फुपू र मामाको छोराछोरीबीच बढी विवाह हुने गरेको छ ।
त्यसो हुन सकेन भने अर्को नातेदारसँग सम्बन्ध गाँस्न प्राथमिकता दिइन्छ ।
अभिभावकले नै बालबालिकाको बिहेलाई अनिवार्य ठान्ने गरेपछि बालबालिकाले त्यसलाई नाइनास्ती  गर्न सक्दैनन् । देउसैनाका धनबहादुर थापाका अनुसार बिहे भएको कम्तीमा तीन वर्षसम्म बेहुलीले बेहुुलाको घरमा घरजम गर्नुपर्ने हुन्छ । त्यसपछि मात्रै बेहुलीले माइतीमा भेटघाट गर्न पाउँछिन् ।
 

0 comments:

Post a Comment