Translate

Saturday

वैदेशिक रोजगारको डरलाग्दो तस्बिर

नेपालीको प्रतिव्यक्ति आय बढाउन सघाउँदै आएको वैदेशिक रोजगारीबारे गत साता वैदेशिक रोजगार प्रबर्द्धन बोर्डले एउटा डरलाग्दो तथ्याङ्क प्रस्तुत गरेको छ । बोर्डले प्रस्तुत गरेको तथ्यांकअनुसार गत वर्षभरिमा विभिन्न मुलुकमा रोजगारीका सिलसिलामा गएका नेपालीहरूमध्ये ३ सय ९६ जनाले ज्यान गुमाएका छन् । यो आधिकारिक तथ्याङ्क भने होइन । बोर्डका कार्यकारी निर्देशक स्थानेश्वर देवकोटा यो तथ्यांकलाई वैदेशिक रोजगारीको अनुमति लिएर जानेहरूको मात्र तथ्यांक भन्छन् । बोर्डका अनुसार सरकारसँग अनुमति लिएर विदेशमा कामदारका रूपमा जानेको संख्या १५ लाखभन्दा बढी
छ । बोर्डका निर्देशक मुकुन्द अधिकारीकै अनुमानलाई मान्ने हो भने झन्डै त्यतिकै संख्यामा नेपाली अवैध रूपमा वैदेशिक रोजगारीमा छन् । अनुमति लिएर जानेको त यो हाल छ भने सरकारले अनुमति नै नदिएका र खतरा देखेर कामदार पठाउन प्रतिबन्ध लगाएका मुलुकमा गएका नेपाली कामदारको हाल के होला सहजै अनुमान लगाउन सकिन्छ । वैधको संख्या जत्तिकै अवैध विदेशमा रहेको हुँदा प्राप्त मुत्यु जत्तिकै संख्यामा अरू नेपालीको मृत्यु भएको अनुमान सहजै गर्न सकिन्छ । पैसा जीवन रहेसम्मका लागि हो । जीवनै नरहे पैसा केका लागि चाहियो र ?
वैदेशिक रोजगार प्रबर्द्धन बोर्डले नेपालीको मृत्युका धेरै कारणहरूमध्ये सवारी नियमको जानकारीको अभावमा दुर्घटनाका कारण, खाडीका मुलुकमा बढी तापक्रम झेल्न नसकेर, जोखिमयुक्त काम र त्यहाँ गर्नपर्ने कामबारे जानकारी नहुनुलाई मुख्य रूपमा लिएको छ । हाम्रोजस्तो विकासोन्मुख मुलुकका कामदारलाई विकसित मुलुकहरूले आफ्ना नागरिकले नगर्ने वा गर्न नसक्ने काम दिने गरेका छन् । थि्रडी अर्थात् डर्टी, डेन्जरस र डिफिकल्ट -फोहोर, खतरनाक र कठिन) काम रोजगारी खोज्न गएका हाम्रो मुलुकका जस्ता कामदारको भागमा आउँछ ।
मुलुकमै रोजगारीको अवसर भए कोही पनि विदेश जान तयार हुँदैन । बाध्यताले विदेश जानेहरू अर्काको देखासिकी, रहर र हतारमा जाने गरेका छन् । वैदेशिक रोजगार प्रबर्द्धन बोर्डका निर्देशक अधिकारी आफूू जाने मुलुकको कानुन, त्यहाँको वातावरण, रहनसहन र गर्नुपर्ने कामको प्रकृतिबारे पर्यात्प जानकारी लिएर वैदेशिक रोजगारीमा गए जोखिम कम हुने बताउँछन् । रोगजारीमा जानेले त्यहाँको सानोभन्दा सानो कुराको समेत जानकारी लिनैपर्छ । सवारी साधनलाई देव्रे वा दाहिने साइड दिने भन्ने थाहा नपाएर सडक दुर्घटनामा पर्न सकिन्छ । अत्यधिक गर्मी हुने मुलुकमा त्यसबाट कसरी आफूलाई जोगाउने भन्ने पहिल्यै सिकेर नजाँदा धेरै दुःख त पाएकै छन्, मृत्युको मुखमा पर्न पर्ने अवस्थासमेत आएको अधिकारी बताउँछन् । कोठामा रहेको एयरकन्डिसनसमेत चलाउन जानिएन भने त्योभन्दा विडम्बना के होला ?
कामको प्रकृतिबारे थाहै नपाई विदेश जाने प्रवृत्ति पनि बढ्दो छ । लेबर भनेर लगिएका कामदारले त्यहाँ जुनसुकै खतरनाक काम पनि गर्नुपर्ने हुनसक्छ । लेबर त लेबरै हो तर काम खतरनाक र सामान्य हुनसक्छ । बहुतले भवनमा झुन्डिएर गर्नुपर्ने, कारखानामा मेसिनसँग खेल्नुपर्ने आदि काम खतरनाक हुनसक्छन् । कामको प्रकृति राम्रोसँग बुझ्ने हो भने कतरनाक काम भए पहिल्यै विदेश नजान सकिन्छ ।  अत्यधिक श्रम गर्ने तर खानामा ध्यान नदिने प्रवृत्ति पनि विदेशमा बस्नेहरूका लागि खतरनाक हुनसक्छ । कमाउन गएकाहरूले पेट मारेर दुई पैसा जोगाउ भन्ने चाहना गर्नु स्वाभाविक पनि हो । अर्को कुरा त्यतिकै सत्य के पनि हो भने आफू नै नरहे पैसाको पनि के काम हुन्छ र ? त्यसैले आफूलाई अनुकूल हुने स्वास्थ्यकर र पोषिलो खाना खानु त्यतिकै आवश्यक छ ।
रोजगार बोर्डले विदेशमा मृत्यु भएकाका परिवारलाई वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा भएको रकमबाट १ लाख रुपैयाँ राहत दिने गरेको छ । अवैध रूपमा जानेले त्यो पनि पाउँदैनन् । कोषमा उनीहरूको योगदान नहुने भएकाले अवैध रूपमा जानेहरूलाई सहयोग गर्न नसकिएको बोर्डका निर्देशक अधिकारी बताउँछन् । अवैध रूपमा जाँदा विदेशमा मृत्यु भए उनीहरूको शव स्वदेश नआउने मात्र हैन, मृत्युको जानकारीसमेत परिवारजनले नपाउने अवस्था छ । अवैध रूपमा गयो भन्दैमा आफ्ना नागरिकलाई परेको अप्ठ्यारोबाट सरकार पन्सिन मिल्दैन ।
मृत्युको तथ्यांकमात्र डरलाग्दो छैन, दुर्घटनामा परेर अंगभंग हुने र विदेशमा अलपत्र पर्नेको अवस्था पनि उस्तै छ । एक वर्षअघि अपि|mकी मुलुक लिबिया पुगेका १ सय ८ जना नेपाली न त्यहाँ काम गर्ने न फर्केर स्वदेश आउने अवस्थामा रहेको दुई महिना बितेको छ । सरकारी श्रमस्वीकृति लिएर त्यहाँ पुगेका नेपालीलाई सरकारले समेत उद्धार गरेर फर्काउन सकेको छैन । अन्तर्राष्ट्रिय आप्रवासी संघलाई सरकारले गुहारे पनि त्यसले कुनै प्रभाव देखाएको छैन । त्यहाँ अलपत्र पर्नेहरूले स्वदेशमा रहेका आफन्तलाई पाखेको पीडा मन थामी नसक्नु छ । एउटै कोठमा कहिलेकाही नुन र भातमात्रै खाएर बस्नुपर्दा तिनको हालत के भएको होला ।
वैदेशिक रोजगारीमा जानुअघि क्षमता अभिवृद्धि तालिम, प्री डिपार्चर ओरिन्टेसन -जानुपूर्व अभिमुखीकरण) दिनुपर्ने कानुनी व्यवस्था छ । त्यस्ता तालिम लिएर गए अधिकांश कामदार जोखिमबाट जोगिन सक्ने निर्देशक अधिकारी बताउँछन् । हतारमा वा सबै कुरा जानेको छु भन्दै किनेका तालिम प्रमाणपत्र देखाउँदै विदेश जाने प्रवृत्ति मौलाउँदै गएको उनको जानकारीमा छ । त्यसले कामदार स्वयंलाई जोखिममा पार्छ । बोर्डले महिलाहरूले बाहिर त्यस्तो तालिम लिएर बिलसहित आए तालिम लिँदा लागेको खर्च फिर्ता गर्ने व्यवस्था मिलाएको छ । आगामी वर्षदेखि त्यस्तो तालिम बोर्ड आफैंले सञ्चालन गर्न लागेको उनले जानकारी दिए । त्यसैले वैदेशिक रोजगारीमा जाँदा सीप र अभिमुखीकरण तालिम लिएर जोखिमबाट बच्ने उपाय सिकेर मात्र जानु आवश्यक छ ।

0 comments:

Post a Comment