Translate

Saturday

मुहार फेर्दै तानसेनको टुँडिखेल



तानसेनको एक मात्र खेलमैदान टुँडिखेलले मुहार फेर्ने भएको छ । खेलमैदान मर्मत सुरु भएपछि खेलाडीहरूसमेत हौसिएका छन् । खेलाडी र  तानसेनवासीको दबाबपछि तानसेन नगरपालिकाले टुँडिखेलको मर्मत कार्य प्रारम्भ गरेको हो, जसमा उद्योग वाणिज्य संघ तथा नेपाली सेनाको गरुडदल  गणले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । साउन १५ भित्रै टुँडिखेल सम्याउने काम सकिने तानसेन नगरपालिकाले जनाएको छ । टुँडिखेल मर्मतका  लागि नगरपालिकाले आफ्नै डोजरमा तेल हालेर काम सुरु गरेको कार्यकारी अधिकृत शिशिर पौडेलले बताए ।

 'हामीले सकेसम्म मैदानलाई राम्रो बनाउने प्रयास गरेका हौं,' उनले भने, 'साउन महिनाभित्रै दूबो रोप्न सकियो भने दुई-तीन महिनामै मैदान हरियो  हुनेछ भन्ने विश्वास छ ।' लामो समयदेखि खेलमैदान जीर्ण बनेको थियो । उद्योग वाणिज्य संघले टुँडिखेलमा आयोजना गरेको व्यापार मेलाको  अम्दानीबाट दूबो खरिदका लागि आर्थिक सहयोग गर्ने आश्वासन दिएको छ । संघका अध्यक्ष भूषण राजलवटले के-कति सहयोग गर्ने भन्ने कुरा बैठक  नबसी भन्न नसकिने बताए ।

'हामी बैठक बसेर यसको निर्णय गर्छौं,' उनले भने, 'सहयोग गर्ने भनेपछि हामी धेरै थोरै सहयोग गर्नेछौ ।' तानसेन नगरपालिकाले भने उद्योग वाणिज्य  संघले दूबो खरिद तथा ढुवानीका लागि सहयोग गर्ने वचन दिएको कुरा बताएको छ । नेपाली सेनाको गरुडदल गणले दुबोरोपण गर्नेछ । 'हामीलाई  आग्रह भयो भने रोप्न जति जनशक्ति चाहिन्छ त्यसका लागि सहयोग गर्न तयार छौं,' गरुडदल गणका गणपति कृष्ण जीसीले भने ।

साउन १ गतेदेखि तानसेन नगरपालिकाले डोजर लगाएर मैदान सम्याउने काम सुरु गरेको छ । नेपाल खेलकुद पत्रकार मञ्च तथा खेलाडीहरूले पटक -पटक यो मैदान मर्मतका लागि दबाब दिँदै आएका थिए । औद्योगिक व्यापार मेलाले हरियो दँबोको टुँडिखेलाई धुले मैदानमा परिणत गरेको आरोप  नगरवासीको छ । मेलाको आम्दानीले मैदान मर्मत गर्न संघलाई दबाब दिएको अखिल नेपाल फुटवल संघ -एन्फा) का महासचिव भरत शर्माले बताए ।

टुँडिखेलसँगैको सेनाको गणले यही शारिरीक अभ्यास गर्दै आएको छ । टुँडिखेल पछिल्लो समयमा निर्माण सामग्री राख्ने र गाडी पार्किङको थलो बन्दै  आएको थियो । 'अब भने सवारी साधनले प्रवेश पाउनेछैनन्,' कार्यकारी अधिकृत पौडेलले भने, 'त्यसैले टुँडिखेलको प्रवेशद्वारमा पर्खाल लगाइएको छ ।'  छाडा चौपाया र सवारी प्रवेशमा रोक लगाउन पर्खाल उठाएको उनले बताए । टुँडिखेल मैदान मर्मत सुरु भएपछि खेलाडीहरूसमेत हौसिएका छन् । मै दान तयार भयो भने जिल्ला, क्षेत्र र राष्ट्रिय स्तरकै क्रिकेट प्रतियोगिताका लागि आह्वान गर्न सकिने जिल्ला क्रिकेट संघका उपाध्यक्ष शैलेन्द्र भट्टराईले  बताए ।

'हामीले खेल मैदान राम्रो नभएकाले नै प्रतियोगिता गर्न नसकेको हो,' उनले भने, 'मैदान राम्रो भयो भने राष्ट्रिय मात्र होइन, इन्डो-नेपाल क्रिकेट पनि  आयोजना गर्न सकिन्छ ।' पहाडी बस्तीको बीचमा रहेको टुँडिखेल संरक्षणको अभावमा धुलाम्मे र मरुभूमि बनेको थियो । त्यसैले पनि यहाँ कुनै प्रतियो गिता हुन सकेको थिएन ।

टुँडिखेल जुठा दुना, प्लास्टिकका थैला, जताततै धूलो माटो, बदामका बोक्रा, नुन पोका पार्ने कागजका टुक्राले भरिएको थियो । पछिल्लो समयमा  टुँडिखेल तरकारीको थोक व्यापार गर्ने थलो बनेपछि खेलाडीहरू चिन्तित थिए । यहाँ कवाडी र निर्माण सामग्री पनि थुपारिँदै आएको थियो । यो खेलमै दान मोटरसाइकल र साइकल सिक्ने थलो बनेको थियो । अमरसिंह थापाले आफ्नो पराक्रम र कीर्तिको स्मारक स्वरूप बनाएको टुँडिखेलको मुखको  चौतारो र यसमा गाडिएका शिलालेख अहिले ध्वस्त भैसकेको छ ।

यहाँ विभिन्न जातीय संगठनहरूले आफ्ना सहिद र स्मारक राख्ने भन्दै टुँडिखेललाई मिच्दै आएका छन् ।    टुँडिखेल गाडि पार्किङ गर्ने, निर्माण सामग्री  राख्ने, घर बनाउँदा निस्कने माटो फ्याँक्ने थलो बनाउनबाट रोकिने कार्यकारी अधिकृत पौडेलले बताए ।

पाल्पामा स्तरीय मैदानको अभाव छ, जसले गर्दा १५ वर्षदेखि कुनै राष्ट्रिय र क्षेत्रीय फुटबल प्रतियोगिता हुन सकेको छैन । टुँडिखेललाई रंगशाला  बनाउन सहयोग गर्ने अखिल नेपाल फुटबल संघ -एन्फा)को योजना सर्वपक्षीय सहमति जुट्न नसक्दा अलपत्र परेको अध्यक्ष भीमसेन कार्कीले बताए ।

0 comments:

Post a Comment