Translate

Saturday

कर्के नजर पुरुषको


तिम्रो आँखाको सागरमा लहर लहर दौडिरहेछ...' नेपाली चलचित्र 'चेलीबेटी' को यो सदावहार गीत प्रकाश श्रेष्ठ तथा आशा भोसलेले गाएका  हुन् । गीतमा नायकले नायिकाको आँखाको वर्णन गरेका छन् । साप्ताहिकले ३१ जना पुरुष सेलिब्रेटीसँग उनीहरूको पहिलो नजर महिलाको  कुन अंगमा पर्छ ? भन्ने जिज्ञासा राखेको थियो । अधिकांश सहभागीले कुनै पनि महिलालाई पहिलो पटक हेर्दा 'आँखा' मा नजर जाने बताए ।  यो संक्षिप्त सर्वेक्षणमा गायक, नायक, निर्देशक, भिजे, हास्यकलाकार तथा मोडलहरू समेटिएका छन् ।

सर्वेक्षणमा सहभागी अधिकांश पुरुष सेलिब्रेटीले पहिलो नजर 'आँखा' मा जाने बताए । आँखामा पहिलो नजर जान्छ, त्यसपछि अनुहार तथा  सम्पूर्ण व्यक्तित्वमा नजर जान्छ भन्नेहरू धेरै भेटिए । तपाईंको पहिलो नजर युवतीको कुन अंगमा पर्छ ? भन्ने जिज्ञासा राख्दा अधिकांश  सहभागी लजाए । उनीहरूले खुलेर जवाफ दिन लाज मानेको अनुमान लगाउन गाह्रो भएन । सर्वेक्षणमा सहभागी साढे दुई दर्जन सेलिब्रेटीमध्ये  करिब ६० प्रतिशतले युवतीको आँखाबाटै धेरै कुरा पढ्न सकिने बताए । आँखा र अनुहारपछि सहभागीहरूले युवतीको सम्पूर्ण सौन्दर्य, ओठ,  शारीरिक उचाइ, व्यक्तित्व, शारीरिक बनावट, आनीबानी, डे्रसअपमा नजर जाने बताए ।

आँखापछि अनुहार हेर्छु भन्नेहरू पनि धेरै थिए । अनुहारले आफूलाई आकषिर्त गर्छ भन्नेहरू पनि भेटिए । केही सहभागीले युवतीको शारीरिक  बनावटमा पहिलो नजर जाने बताए भने एक जनाले युवतीको केशमा पहिलो नजर जाने बताए । ओठमा आफ्नो पहिलो नजर केन्द्रित हुन्छ  भन्नेहरू पनि देखिए । एक हास्यकलाकार तथा निर्देशकले नाम उल्लेख नगर्ने सर्तमा भने— 'मेरो मात्र होइन, अधिकांश पुरुषको पहिलो नजर  युवतीको वक्षस्थलमा जान्छ, तर सार्वजनिक रूपमा कसैले भन्न चाहँदैनन् ।' सर्वेक्षणका क्रममा केही सेलिब्रेटीले युवतीको वक्षस्थलमा पनि  आफ्नो पहिलो नजर जाने बताए पनि सञ्चारमाध्यममा त्यसो भन्न नमिल्ने बताउँदै अन्य अंगमा नजर जाने बताए । सर्वेक्षणकै क्रममा  कतिपय सहभागीले छालाको रंगमा ध्यान दिने बताए भने केहीले युवतीको सम्पूर्ण शारीरिक बनावटले आकषिर्त गर्ने धारणा व्यक्त गरे ।

वर्ष २०१० को प्रारम्भमा हलिउडमा अनलाइनमार्फत गरिएको यस्तै सर्वेक्षणमा सहभागी अधिकांश पुरुष सेलिब्रेटीले युवतीहरूको वक्षस्थल  तथा नितम्बमा पहिलो नजर जाने बताएका थिए । उक्त सर्वेक्षणमा सर्वाधिक मत वक्षस्थलमा नजर जान्छ भन्ने पक्षमा थियो । सर्वेक्षणमा  सहभागी नेपाली सेलिब्रेटीमध्ये एक जनाले पनि युवतीको वक्षस्थल अथवा अन्य कामुक अंगमा पहिलो नजर जान्छ भनेनन् ।

हास्यकलाकार दीपकराज गिरीको पहिलो नजर युवतीको सम्पूर्ण शरीरमै जान्छ । गिरी भन्छन्— 'शरीरका अंग-अंग हेर्न थाल्यो भने अर्कै अर्थ  लाग्ला, त्यसैले म युवतीहरूलाई सम्पूर्ण रूपले हेर्छु ।' गिरी भन्छन्— 'म त पूरै युवती हेर्छु, आधा युवती हेर्दिनँ ।' भिडियो जक्की सुरजसिंह  ठकुरीको पहिलो नजर युवतीहरूको शारीरिक उचाइमा जान्छ, त्यसपछि व्यक्तित्वमा । ठकुरी भन्छन्— 'होचा युवतीहरू राम्रा हुँदैनन् भन्न खो जेको होइन, तर मेरो पहिलो नजरचाहिं उनीहरूको हाइटमै जान्छ । हाइट भएका युवतीहरूको व्यक्तित्व नै आकर्षक हुन्छ ।'

युवा पुस्ताका लोकप्रिय गायक निमा रुम्बाको पहिलो नजर युवतीको अनुहारमा जान्छ । निमा भन्छन् — 'अनुहारमा मेरो पहिलो नजर किन  पनि जान्छ भने उनीहरूको अनुहारमै सारा रहस्य लुकेको हुन्छ ।' नीमाले युवतीहरूको अनुहार आफैं बोल्ने भएकाले पनि पहिलो नजर  अनुहारमै जाने बताए । युवतीहरूमाझ लोकप्रिय नायक जीवन लुइँटेलको तर्क अलि बेग्लै छ । जीवन भन्छन्— 'गगल्स लगाएका युवतीहरू  छन् भने मेरो पहिलो नजर उनीहरूको अनुहारमा जान्छ, गगल्स  लगाएका छैनन् भने उनीहरूको आँखा हेर्छु ।' जीवनका अनुसार युवतीहरू को आँखामा सबै कुरा लुकेको हुन्छ । उनीहरूको आँखाको इसाराबाट धेरै कुरा बुझ्न सकिन्छ । आँखा र अनुहारपछि जीवन युवतीहरूको  शारीरिक बनावट पनि नियाल्छन् । 'त्यसपछि उनीहरूको बोली, व्यवहार कस्तो छ भन्ने कुरा मूल्यांकन गर्छु ।'

पपगायक कोसिस क्षेत्री पनि युवतीको आँखामै पहिलो नजर लगाउँछन् । 'मैले हेर्ने युवतीको आँखामा उनको मनको कुरासमेत पढ्न सक्छु,  क्षेत्रीका अनुसार युवतीको आँखाले ती युवतीले आफूप्रति कस्तो सोच राखेकी छिन् भन्ने कुरा पनि थाहा पाउन सकिन्छ । हास्यकलाकार निर्मल  शर्मा पनि मौका मिल्यो भने राम्रा युवतीतर्फ नजर दौहाइहाल्छन् । निर्मलको शैली भने अरूको भन्दा केही पृथक् छ । निर्मल भन्छन् — 'मेरो  पहिलो नजर युवतीको पहिरन अर्थात् डे्रसअपमा जान्छ ।' निर्मलका अनुसार पहिरनपछि उनी युवतीको मेकओभर हेर्छन् । निर्मल भन्छन्— ' पहिरनले नै युवती कुन वर्गकी, कस्तो चरित्रकी हुन् भन्ने थाहा पाउन सकिन्छ ।' युवतीको अनुहार तथा उनको शारीरिक बनावटलाई निर्मल  खासै ध्यान दिंदैनन् ।

नायक भुवन केसीलाई युवतीको व्यक्तित्वले आकषिर्त गर्छ । 'युवतीको हेर्ने भनेको पर्सनालिटी हो, भुवन भन्छन्— 'पर्सनालिटी हेरिसकेपछि  मात्र अंगको कुरा आउँछ । राम्रो पर्सनालिटी भएकी युवतीको शारीरिक बनावट पनि आकर्षक नै हुन्छ ।' चलचित्र निर्देशक मनोज पण्डित  युवतीको सौन्दर्यलाई दार्शनिक ढंगले चित्रण गर्न रुचाउँछन् । पण्डित भन्छन्— 'बाँच्नका लागि गरिने संघर्ष नै एउटा कला हो । जहाँसम्म  महिलाहरूको सौन्दर्यको कुरा छ, मलाई उनीहरूको व्यक्तित्वले आकषिर्त गर्छ ।' पण्डितका अनुसार प्रायः सबै महिला सुन्दर हुन्छन् ।  पण्डितलाई युवतीहरूको व्यवहारले पनि आकषिर्त गर्दो रहेछ । पण्डितको प्रतिप्रश्न छ, के हेर्ने ? युवतीको आँखा हेर्ने कि उनको मन हेर्ने कि  दिमाग ? पण्डित आफैं जवाफ दिन्छन्— 'मचाहिं सर्वप्रथम युवतीको आँखा नै हेर्छु । आँखा हेरेपछि मात्र म उनको शारीरिक बनावटको कुरा  आउँछ । मेरो विचारमा त्यस्ता युवतीहरू सुन्दर हुन्छन् जो भित्रैबाट सुन्दर छन् । अनि यो सुन्दरता उनीहरूले पुरुषप्रति गर्ने व्यवहारबाट पनि  झल्कन्छ ।' 

पप गायक धीरज राईको पहिलो नजर युवतीको अनुहारमा पर्छ । 'अनुहारमै युवतीको सम्पूर्ण सौन्दर्य लुकेको हुन्छ,' धीरजको तर्क छ— ' उनीहरूका सबै कुरा अनुहारबाटै पढ्न सकिन्छ, सबै कुरा अनुहारले नै बताइरहेको हुन्छ ।' म्युजिक भिडियो, विज्ञापन तथा चलचित्र निर्देशक  आशिफ शाहचाहिं 'आँखा' नै हो भन्छन् । 'कुनै पनि युवती कस्ती स्वभावकी हुन् भन्ने कुरा उनको आँखा हेरेरै थाहा पाउन सकिन्छ,' आफिस  भन्छन्— 'अझ कुनै पनि युवतीलाई राम्री बनाउने अंग आँखा नै हो ।' आसिफलाई ठूला तथा गाजलु आँखा भएका युवतीहरू असाध्यै मन पछर् न् ।

पप गायक नवीन के भट्टराईको भनाइ पनि आसिफसँग मिल्दोजुल्दो छ । 'म युवतीहरूको आँखामा डुब्न मन पराउँछु,' नवीन भन्छन्— ' उनीहरूको आँखा नै सौन्दर्यको सागर हो ।' नवीनलाई युवतीको आँखापछि उनीहरूको बोलीले पनि आकषिर्त बनाउँछ । टेलिभिजनकर्मी तथा  निर्देशक दिनेश डिसीको पहिलो नजर युवतीको सौन्दर्यमा पर्छ । 'युवतीको सुन्दरताले नै मलाई आकषिर्त गर्छ,' डिसी भन्छन्— 'त्यसपछि मेरो  नजर उनीहरूको आँखा अनि ओठमा केन्द्रित हुन्छ ।'

गायक अमृत क्षेत्री अंग्रेजी भाषाको एउटा उखान सुनाउँछन्, 'आइज नेभर लाइज' अर्थात् आँखाले कहिल्यै झूटो बोल्दैन । 'बाहिरी सुन्दरतामात्र  सबै कुरा होइन,' क्षेत्री प्रश्न गर्छन्— 'भित्रैबाट राम्रा युवतीहरू कसलाई पो मन पर्दैनन् ?'

गायक राजेशपायल राईको पहिलो नजर पनि युवतीको आँखा मै जान्छ । मोडल तथा नायक एसराज पनि राजेशपायलसंग सहमत छन् ।  दुबैको  भनाइ एउटै छ, —'आँखाबाटै मन सम्म पुग्न सकिने भएकाले पहिलो नजर आँखामा गएको हो ।'

सानो पर्दाका नायक मोहितवंश आचार्यको कुरै बेग्लै ! उनी भन्छन्— 'हेर्न मिल्ने भए त पहिले मन नै हेरिन्थ्यो होला । मेरो पहिलो नजर आँखामै जान्छ ।' मोहित थप्छन्— 'आँखा यस्तो कुरा हो, जसबाट कुनै पनि मान्छेको मनको कुरा समेत बुझ्न सकिन्छ । त्यसैले म युवतीहरूको  आँखा नै हेर्छु ।'

'कस्तो रमाइलो प्रश्न...', गायक प्रमोद खरेल भन्छन्— 'अँ...मलाई युवतीहरूको आँखाले नै आकषिर्त गर्छ । किनभने आँखाबाटै युवतीहरूको  धेरै कुरा अध्ययन गर्न सकिन्छ । त्यसपछि भने मेरो नजर ओठमा पर्छ ।' हास्यकलाकार प्रकाश ओझाको पहिलो नजर युवतीहरूको फिगरमा  जान्छ । त्यसपछि उनीहरूको सम्पूर्ण व्यक्तित्वमा आफ्नो नजर जाने कलाकार ओझा बताउँछन् ।

गायक हेमन्त शर्माको पहिलो नजर पनि आँखामै जान्छ । 'तर म आँखामा मात्र सीमित हुन्नँ,' हेमन्त भन्छन्— 'आँखावरिपरिका सबै अंगमा  मेरो नजर दौडन्छ । आँखापछि ओठ, गाला, नाक आदि अंग नियाल्छु ।' हास्यकलाकार तथा गायक श्रीकृष्ण लुइँटेललाई भने युवतीको ओठ  असाध्यै मन पर्छ । 'मेरो पहिलो नजर ओठमै पर्छ,' लुइँटेल भन्छन्— 'युवतीहरूको सौन्दर्यको ५० प्रतिशत भाग ओठमै लुकेको हुन्छ ।'

नायक रेश मरहट्ठालाई भने युवतीको आकर्षक व्यक्तित्वले आकषिर्त गर्छ । 'गुड लुकिङ अनुहारबाट पनि म छिट्टै आकषिर्त हुन्छु,' रेशको तर्क  छ— 'राम्रो अनुहार हुने युवतीको व्यक्तित्व पनि आकर्षक हुन्छ ।' निर्देशक प्रमोद भण्डारी पनि युवतीको आँखा नै हेर्छन् । भण्डारीको तर्क छ—  'आँखाले नै कुनै पनि युवतीको मनको भावना प्रस्ट पार्ने भएकाले कुनै पनि युवतीलाई पहिलो पटक हेर्नुपर्दा म उनको आँखामै हेर्छु ।'

भिडियो जक्की नरेश भट्टराईको भने युवतीको सर्लक्क परेको नाकमा पहिलो नजर पर्छ । नरेश भन्छन्— 'युवतीको नाक नै सबैभन्दा पहिला दे खिने भएकाले मेरो नजर उनीहरूको नाकमै पर्छ ।' नरेशलाई सर्लक्क परेको नाक भएकी युवती आकर्षक लाग्छन् । निर्देशक सुरेशदर्पण पो खरेल भन्छन्— 'नढाँटी भन्ने हो भने मेरो आँखा सबैभन्दा पहिले युवतीको आँखामै जान्छ । म नारीको आँखामा उनीहरूको मन पढ्न सक्छु ।'

निर्देशक श्याम भट्टराई पनि पोखरेलसँग सहमत छन् । भट्टराई भन्छन्— 'मेरो पहिलो नजर युवतीको आँखामै पर्छ ।' श्यामका अनुसार  युवतीहरूलाई हेर्ना साथ उनीहरूको आँखामा मायाको सागर उर्लिएको छ कि रिसको मुस्लो निस्कँदैछ, छुट्याउन धेरै समय लाग्दैन । श्याम  भन्छन्— हरेक युवतीको आँखामा एक छिन् नियालेर हेर्‍यो भने उनको स्वभाव मात्र होइन चरित्रसमेत थाहा पाउन सकिन्छ ।' नायक  राजबल्लभ कोइरालाको तर्क अलि बेग्लै छ । उनी युवतीहरूको स्वभावमा पहिलो नजर पर्ने बताउँछन् । युवतीहरूले कस्तो स्वभाव प्रदर्शन  गर्छन्, त्यसमै मेरो नजर केन्द्रित हुन्छ ।

आधुनिक युवतीहरू सौन्दर्यका दृष्टिकोणले समान हुने भएकाले पनि राजबल्लभ युवतीहरूको स्वभावतर्फ आकषिर्त भएका हुन् ।

हास्यकलाकार दमन रूपाखेतीको पनि पहिलो नजर जाने अनुहारमै हो । दमन अनुहारपछि युवतीको हेयरस्टाइल हेर्छन् । त्यसपछि मात्र म  उनको आँखा नियाल्छु, दमन भन्छन्— 'आँखामा उनीहरूको मनको भावना समेटिएको हुन्छ ।' दमनझैं अर्का हास्यकलाकार रवि डंगोल पनि  युवतीको आँखा नै हेर्छन् । 'सबै कुरा आँखाबाटै झल्कन्छ,' रवि भन्छन्— 'आँखापछि उनको हाउभाउ, शारीरिक बनावट अनि उनी कत्तिको  स्मार्ट देखिन्छिन् भन्ने कुरा हेर्छु ।' 

मोडल सविन श्रेष्ठ पनि सबैभन्दा पहिले युवतीको आँखा नै हेर्छन् । 'उनीहरूको आँखाले नै सबै कुरा बोलिरहेको हुन्छ,' सविन भन्छन्— 'आँखा  हेरिसकेपछि शरीरका अन्य अंगहरूमा नजर जान्छ ।' त्यसो त गायक सत्यराज आचार्य पनि युवतीको आँखा नै नियाल्छन् । आचार्य भन्छन्—  'आँखा नै हेर्छु, किनभने सुन्दर आँखाले नै युवतीहरूलाई थप सुन्दर बनाएको हुन्छ ।' सत्यराजले भने— 'एउटा भनाइ नै छ नि, ब्युटी लाइज  इन द आइज अफ द बिहोल्डर !'निर्देशक शंकर घिमिरको तर्क अलि पृथक् छ । उनी भन्छन्— 'गलत नजरले हेरेको भएचाहिं गलत ठाउँमा  हाम्रो नजर जान्थ्यो होला, त्यो नजरले कहिल्यै कुनै युवतीलाई हेरिएन । तैपनि झट्ट हेर्नुपर्दा अनुहार अनि आँखामै पहिलो नजर जान्छ ।'

सर्वेक्षणमा सहभागीहरू

नायकःजीवन लुइँटेल, राजबल्लभ कोइराला, रेश मरहट्ठा, भुवन केसी

गायकः निमा रुम्बा, राजेशपायल राई, नवीन के भट्टराई, धीरज राई, हेमन्त शर्मा, प्रमोद खरेल, अमृत क्षेत्री, कोसिस क्षेत्री, श्रीकृष्ण लुइँटेल,  सत्यराज आचार्य

हास्यकलाकारः प्रकाश ओझा, दीपकराज गिरी , निर्मल शर्मा, दमन रूपाखेती, रवि डंगोल

निर्देशकः मनोज पण्डित, शंकर घिमिरे, श्याम भट्टराई, प्रमोद भण्डारी, आशिक शाह, सुरेशदर्पण पोखरेल

टेलिभिजनकर्मीः दिनेश डिसी, सुरजसिंह ठकुरी, नरेश भट्टराई, मोहितवंश आचार्य

मोडलः सविन श्रेष्ठ, एसराज

कृष्ण भट्टराई

0 comments:

Post a Comment