Translate

Sunday

गालैमा रैछ डन्डिफोर..............

डन्डिफोरबाट छुटकारा कसरी ?
छालामा आउने स-साना राता फोका डन्डिफोर हुन् । सामान्यतया छालाका प्वालमा संक्रमण भयो भने डन्डिफोर देखा पर्छ । छालामा रहेका मसिना प्वालमा अवरोध हुँदा वा संक्रमित हुँदा यो समस्या देखिन्छ । जब डन्डिफोर बराबर देखिन थाल्छ, यसलाई डन्डिफोर बिग्रेको भनिन्छ । यस्तो हुनुमा धेरै कारण हुन सक्छन् । जस्तो ः छालामा रहेका मसिना प्वालमा ब्याक्टेरियाको संक्रमण एउटा कारण हुन सक्छ । यस्तो अवस्था आएमा तत्कालै उपचार गराउनुपर्छ । उपचार नगरिएमा अवस्था झनै गम्भीर बन्न सक्छ र छालामा नराम्रो दाग बस्छ ।
अधिकांश किशोर/किशोरीले डन्डिफोरको संक्रमण अनुभव गरेका हुन्छन् । किशोरावस्थामा हर्मोनमा हुने परिवर्तनसँग छालाले आफूलाई अनुकूल बनाउन खोज्छ । यद्यपि, धेरै किशोर/किशोरीमा डन्डिफोर बिग्रेर घाउ नै हुने गर्छ । महिलाको अनुहारमा महिनावारीको समयमा डन्डिफोर बढी आउने गर्छ । महिनावारीको वेला उनीहरूमा हर्मोन परिवर्तन हुने र चिल्लो पदार्थका कारण छालाको प्वाल टालिने हुँदा डन्डिफोर धेरै देखिने गर्छ । हाम्रो छालामा दसौँ लाख मसिना प्वाल हुन्छन् । यी प्वाल तैलीय ग्रन्थीसँग जोडिएका हुन्छन् । फोहोर वा अन्य कारणले यी प्वाल टालिए भने डन्डिफोर निस्कन्छ ।

डन्डिफोरको उपचार
डन्डिफोर बिगि्रएर घाउ हुने अवस्थामा पुग्नुअघि नै उपचार गराउनु उपयुक्त हुन्छ  । छाला हाम्रो शरीरका भित्री अंगलाई संरक्षण गर्ने कवच हो । बाँच्नका लागि हामीले विभिन्न खालका शारीरिक गतिविधि गर्नुपर्ने हुन्छ । यसो गर्दा छालामा अनावश्यक धुलो वा अन्य फोहोर पदार्थ आएर टाँसिन पुग्छन् । त्यसलाई हटाउन सफा साबुनपानीले नियमित रूपमा सफा गर्नुपर्छ । फोहोर जमेर टालिएको छालाको प्वाललाई खोलिदिएमा समस्या निकै हदसम्म कम हुन्छ । त्यस्तै डन्डिफोर आइसकेको छ भने आफैँ निचोर्न नखोज्नुहोस् । डन्डिफोर निचोर्नाले झन् संक्रमण बढ्ने र ठूलो घाउ हुन सक्छ ।
अनुहारमा डन्डिफोर आएको छ भने सधँै हात लगिरहने, मुसार्ने गर्नुहुँदैन । त्यसो गर्दा हातमा टाँसिएका विभिन्न प्रकारका जीवाणुले समस्या झन् जटिल बनाउँछन् । ब्याक्टेरिया प्रतिरोधक र चिल्लो पदार्थ नभएको साबुन प्रयोग गर्दा डन्डिफोर धेरै हदसम्म कम हुन्छ । तर, छालाको स्वास्थ्यका लागि उपयुक्त चिल्लो पदार्थ हुनु आवश्यक हुन्छ । आवश्यकताभन्दा धेरै सफा गर्दा पनि छाला सुख्खा भएर डन्डिफोर आउन सक्छ । त्यसैले ठिक्कसँग सफा गर्नुहोस् । केही छालारोग विशेषज्ञले पानी र सामान्य खालको साबुन प्रयोग गर्न सुझाब दिने गर्छन् । जुन पायो त्यही साबुनले एलर्जी गराउन सक्छ ।
मरेका कोष र हर्मोन र ब्याक्टेरियाका कारण डन्डिफोर आउँछ । डन्डिफोर पूरै निको हुन एक महिना पनि लाग्न सक्छ, जति कम निचोर्नुहुन्छ त्यत्ति नै चाँडो समस्या समाधान हुन्छ । सन्तुलित भोजनले पनि डन्डिफोर कम गर्न सकिन्छ । त्यस्तै दैनिक डेढदेखि दुई लिटर पानी पिउनु स्वास्थ्यका दृष्टिकोणले राम्रो मानिन्छ । जंकफुट, चिल्लो बढी भएको खाना खान छाड्नुहोस् । फलफूल र तरकारी बढी खाने गर्नुहोस् । फलफूलको रस पनि पिउन सक्नुहुन्छ । सम्भव भए दूध पिउनुहोस् । यसो गर्दा डन्डिफोर निकै हदसम्म कम गर्न सकिन्छ ।

0 comments:

Post a Comment