Translate

Wednesday

फेसबुक बन्द हुने हावा खबर नि पत्याएछन्


खासमा गम्भीर कुरै हैन।
  • अर्को ग्रहका यानले पृथ्वीमा यही वर्ष आक्रमण गर्ने।
  • माइकल ज्याक्सनले आफू मरेको नाटक गरेका हुन्।
  • आफ्नो आत्मा शैतानहरुलाई कसरी बेच्‍ने ?
आदि हावाहावा हँसाउने खबर राख्‍ने एउटा साइट विक्ली वर्ल्ड न्युजले एउटा त्यस्तै उट्पट्याङ्गे खबर छापेछ- आउँदो मार्च १५ तारिखदेखि फेसबुक बन्द हुने। त्यस्तै हावा खबर राख्‍ने साइटले यो खबर राखेको नयाँ कुरा भएन, नयाँ कुरा त यसले विश्वभर फैलाएको हल्ला पो भयो त। फेसबुक बन्द हुँदैछ भन्ने हल्ला फेसबुक र ट्विटरहरुमार्फत् विश्वभर यसरी फैलियो कि फेसबुक स्वयंले ‘ए बाबा, हामीले बन्द गर्न लागेका हैनौँ’ भनेर भन्नुपर्‍यो। विश्वको एउटै मात्र भरपर्दो समाचार नारा राखेर उट्पट्याङ्गे खबर छाप्‍ने हाँसेको मान्छेको अनुहार भएको लोगो भएको साइट विक्ली वर्ल्ड न्युजले समाचार भने मान्छेले पत्याउने झैँ गरेर लेख्‍दो रहेछ।  त्यो समाचारमा पनि साइटका मालिक मार्क जुकरवर्गलाई उल्लेख गर्दै कम्पनीलाई व्यवस्थापन गर्दागर्दा तनाव भएकोले यो पागलपनलाई रोक्न फेसबुक मार्च १५ देखि बन्द गर्ने भनिएको रहेछ। अझ कम्पनीका एक पदाधिकारीलाई उल्लेख गर्दै मार्च १५ देखि साइट बन्द हुँदैछ, तपाईँका फोटोहरु डाउनलोड गरिहाल्नुस् भनिएको रहेछ। बस्, अब के चाहियो र। ५९ करोडभन्दा बढी सदस्य रहेको फेसबुकका प्रयोकर्ताहरुलाई समाचारको सत्यता खोज्ने फूर्सदसम्म भएन। फेसबुक बन्द हुने यो समाचारमा मात्रै ९ हजारभन्दा बढीको कमेन्ट छ। सामाजिक सञ्जालका साइटमा लिङ्क शेयर भएको त कति हो कति। अनि त फेसबुक आफैले बन्द हुन लागेको हल्लाको खण्डन गर्नुपर्‍यो।
इन्टरनेटबाट हल्ला फैलन सजिलो छ, यो त देखिहालियो। तर मान्छेले कतिको विश्वास गरेर यो हल्ला फैलाउन सहायक भए, त्यो चाहिँ बुझ्नुपर्ने विषय हो। टाइम म्यागेजिनले भर्खरै वर्ष पुरुष घोषणा गरेको बेला अनि भर्खरै त्यत्रो अर्बको लगानी भित्र्याएको फेसबुक बन्द हुन्छ भनेर पत्याउने कस्ता ?
कतै नेपालका कुनै जिल्लामा ‘हिमानी हिरोइन बन्ने’ अप्रिल फूलको समाचारलाई साँच्चै मानेर पत्रिकामा नै छापे जस्तो फेसबुक बन्द हुने समाचार पनि छापिएको त छैन ?
झापाबाट निस्कने पूर्वसन्देशको २०६७ वैशाख १ गतेको अंक। अप्रिल फूलको समाचार यहाँ छापिएको थियो। फोटोः निशेष आचार्य



By Salokya,

0 comments:

Post a Comment