Translate

Friday

ग्ल्यामर कुरा Of The Week


आमा हुनुको गर्व

हलिउडकी नायिका तथा गायिका क्रिस्टिना अग्विलेराले आफू आमा बनेपछि मात्र जीवनमा खुसी भएको बताएकी छिन् । केही सयमअघि मात्र श्रीमान् जार्डन ब्रेटम्यानसँग  अलग भएकी क्रिस्टिनाले आमा भएपछि आफैंप्रति गर्व भएको बताएकी छिन् । उनको वैवाहिक सम्बन्ध पाँच वर्ष चलेको थियो । क्रिस्टिनालाई आफ्नो दुई वर्षीय छोरा  म्याक्सकी आमा हुनुमा गर्व छ । क्रिष्टिना भन्छिन्— 'आमा बनेपछि स-साना कुराले पनि धेरै खुसी दिन्छ ।' उनलाई छोरा काखमा लिएर बाल सुलभ गीत गाउन मन  लाग्छ । छोरासँग बसेर रमाइलो गर्दा उनलाई समय बितेको पनि पत्तै हुँदैन ।

ट्वाइलाइटकी क्रिष्टेन अब बलिउडमा

चलचित्र 'काइट्स'मा मेक्सिकन सुन्दरी बारबारा मोरीसित अभिनेता ऋतिक रोशनको रोमान्स हेर्न पाएका दर्शकले चाँडै नै तिनै ऋतिकलाई अर्की हलिउड सुन्दरीसित देख्न  पाउनेछन् । स्रोतका अनुसार निर्देशक शेखर कपुरले निर्माण गर्ने चलचित्र 'पानी' मा अभिनेता ऋतिकको जोडीका रूपमा हलिउड चलचित्र 'ट्वाइलाइट' की अभिनेत्री  क्रिष्टेन स्टेवार्टलाई देख्न पाइनेछ । शेक्सपियरको 'रोमियो एन्ड जुलियट' मा आधारित चलचित्र 'पानी' मा क्रिष्टेनले धनी युवती र ऋतिकले गरिब युवकको भूमिका निर्वाह  गर्नेछन् ।

गीत गाउँदै नेहा धुपिया

ग्ल्यामरस छवि बनाए पनि कम सफलता आर्जन गरेकी बलिउड बाला नेहा धुपियाले आफ्नो आगामी चलचित्रका लागि गीत रेकर्ड गराएकी छिन् । सुरुमा गीत गाउन  आनाकानी गरे पनि अन्ततः आफ्नो स्वरमा गीत रेकर्ड गराएकी नेहाले उक्त गीत चर्चित गायक कैलाश खेरसित गाएकी हुन् । स्रोतका अनुसार अभिनेत्री नेहाले उक्त  चलचित्रमा पुरुषवर्गलाई घृणा गर्ने मुन्नी मेडमको चरित्र निर्वाह गरेकी छिन् ।

एउटा विज्ञापनको सवा करोड

हलिउडका सेलिब्रेटीमध्ये नायिका जुलिया रोबर्ट्स ब्रान्ड छनौट गर्ने मामिलामा सधैं अग्रपंक्तिमा रहन्छिन् । उनी आफू सन्तुष्ट भएको ब्रान्डमा मात्र काम गर्न मन पराउँछिन् । हलिउडमा उनी महँगी नायिकाका रूपमा चिनिन्छिन् । पुनः एकपटक उनले आफूलाई महँगो भएको प्रमाणित गरेकी छिन् । हालै मात्र यी नायिकाले एउटा  इटालियन कफीको विज्ञापनका लागि निकै मोटो रकम हासिल गरेकी छिन् । विज्ञापनमा उनले केवल कफीको वासना सुँघ्नका लागि करिब सवा लाख युरो (झन्डै सवा करोड रुपैयाँ) पारिश्रमिक लिएकी छिन् । विज्ञापन जम्मा ४५ सेकेन्डको छ । विज्ञापनमा जुलियाले एक शब्द पनि बोलेकी छैनन् । विज्ञापन एउटा पेन्टरबाट प्रारम्भ हुँदै  जुलियामा आएर अन्त्य हुन्छ । यो महँगो विज्ञापनमा मोडलिङ गरेपछि जुलियाको अभिनय करियर ओरालो लाग्यो भनेर आलोचना गर्नेहरू अचम्ममा परेका छन् ।

एन्जोलिना जोली मन्दिर

हलिउडकी एक्सन नायिका एञ्जोलिना जोली देवीका रूपमा पुजिने भएकी छिन् । हालै प्रकाशित एक समाचार अनुसार कम्बोडियामा एउटा मन्दिरको नाम नै एञ्जो लिनाप्रति समर्पित गरिएको छ । युभिनर्स सोसाइटी अफ हिन्दुइज्मका अध्यक्ष राजन जैनका अनुसार उक्त मन्दिर १२ औं शताब्दीमै निर्माण गरिएको हो । यो मन्दिरलाई ' ओल्ड ब्रह्मा' पनि भनिन्छ । यसभन्दा अघि यो मन्दिरको नाम 'राजाविहार' राखिएको थियो । अहिले आएर उक्त मन्दिरको नाम 'एञ्जोलिना जोली मन्दिर' राखिएको छ ।  भनिन्छ, 'टम्ब राईडर' श्रृंखलाको पहिलो चलचित्रमा यो मन्दिरका थुप्रै दृश्य समावेश छन् । जोलीले नै उक्त चलचित्रमा अभिनय गरेकी छिन् । जोलीले निकै अघि उक्त  प्राचिन मन्दिरको संरक्षणमा सहयोग गर्ने घोषणा गरेकी थिइन् । राजनका अनुसार जोलीले उक्त धार्मिक धरोहरको संरक्षणप्रति जागरूकता फैलाउन सल्लाह दिएकी छिन् ।  स्मरण रहोस्, जोलीले कम्बोडियाकै मेडक्सलाई धर्मपुत्र बनाएकी थिइन् ।

क्याटरिना अब राधाका रूपमा

ग्ल्यामरस, बोल्ड र सेक्सी क्याटरिना कैफ पछिल्लो पटक चलचित्र 'राजनीति' को डिग्ल्यामराइज्ड भूमिकामा पनि उत्तिकै चर्चामा रहिन् । अब क्याटरिना कैफ धार्मिक  चरित्र राधाको भूमिका देखा पर्ने भएकी छिन् । चलचित्र 'मैं कृष्णा हुँ' मा क्याटरिनाले राधाको भूमिका निर्वाह गर्ने बताइएको छ । उक्त चलचित्रमा आफ्नो भूमिकालाई  जीवन्त बनाउन अभिनेत्री कैफले भगवान् श्रीकृष्णको जीवनीमा आधारित पुस्तकहरू अध्ययन गर्न थालेको समाचार एजेन्सीहरूले बताएका छन् ।

sapthahik

0 comments:

Post a Comment