अनिद्राका कारण पीडितले आरामको निद्राका लागि निद्रा लगाउने औषधि, योग तथा अनेक प्रयास गर्ने गरेका छन् । तर, अब उनीहरूले आरामदायी निद्राका लागि कुनै औषधि तथा योगको प्रयास गर्नै पर्दैन । किनभने, वैज्ञानिकहरूले हालै अनिद्राबाट पीडितका लागि चमेली फूल निकै लाभदायी हुने बताएका छन् ।
जर्मन वैज्ञानिकहरूले गरेको अध्ययनले अनिद्राका सिकार भएका व्यक्तिले चमेली फूलको बास्ना लिएमा आरामको निद्रा लाग्ने तथा त्यसले उनीहरूको शरीरमा नकारात्मक असर नगर्ने तथ्य देखाएको छ । चमेली फूलको बास्नाले निद्रा लगाउने औषधिको नकारात्मक प्रभावबाट बचाउने र मानिसलाई चैनको निद्रा दिने वैज्ञानिकहरूले बताएका छन् ।
बायोलोजिकल क्यामेस्ट्रीमा प्रकाशित उक्त अध्ययन प्रतिवेदनअनुसार चमेलीको बास्ना लिँदा दिमागमा हुने आणविक हलचलको तनाबलाई कम गरी मानिसलाई आरामको निद्रा दिन सहयोग गर्छ ।
डुसलडार्फस्थित हाइनरिस विश्वविद्यालय र बोखुममा रहेको रुहर विश्वविद्यालयका वैज्ञानिकहरूले संयुक्त रूपमा गरेको सो अनुसन्धानले अनिद्राका सिकार व्यक्तिलाई चमेली फूलको बास्नाले आरामदायी निद्रा दिनुका साथै नियमित निद्राको औषधि सेवन गर्नुपर्ने लतबाट जोगाउने नयाँ जानकारी पत्ता लगाएका हो । 'निद्राको औषधि र चमेली फूलको बास्नाले दिमागमा गर्ने रासायनिक प्रक्रिया एकै हो,' प्रतिवेदनमा भनिएको छ, 'तर, निद्राको औषधिले नकारात्मक असर गर्छ भने चमेलीको बास्नाले कुनै नकारात्मक असर देखाउँदैन ।'
अनुसन्धानका नेतृत्वकर्ता प्रो हेस हाटका अनुसार मानिसमा चमेली फूलको बास्नाको परीक्षण गर्नुपूर्व मुसामा अनुसन्धान गरिएको थियो । 'मुसामा यसको राम्रो प्रभाव देखिएपछि मानिसमा यसको परीक्षण गरिएको हो,' उनले भने, 'मानिसमा पनि यसले सकारात्मक प्रभाव देखाएकाले हामीले सबैलाई निद्राको गोलीभन्दा चमेली फूलको बास्ना प्रभावकारी हुने सुझाब दिन थालेका छौँ ।'
Naya Patrika










0 comments:
Post a Comment