Translate

Wednesday

ब्रायन एडम्स कन्सर्टको टिकट मूल्य कति?

ब्रायन एडम्स कन्सर्टको टिकट मूल्य कति?

 क्यानाडेली गायक ब्रायन एडम्सले काठमाडौंको रंगशालामा आफ्नो एकल कन्सर्ट गर्ने भएका छन्। काठमाडौंको कन्सर्ट फागुन ७ गते शनिबार पारिएको छ। त्यस दिन दिउँसो २ बजे कन्सर्टको मुख्य ढोका खोलिने छ। त्यसपछि साँझ ६ देखि ७ बजेसम्म नेपाली सांगीतिक समूहले गीत गाउनेछ। ब्रायन र उनको ब्यान्डको प्रस्तुति भने साँझ ७ देखि ९ बजेसम्म चल्नेछ। कन्सर्टको लागि ५० जनाको हाराहारीमा ब्रायनको सांगीतिक टोली शुक्रबार काठमाडौं आउनेछन्। ब्रायन भने शनिबारमात्र काठमाडौं ओर्लिने छन्।

कन्सर्टको लागि जेपिआरले रंगशालामा अन्तर्राष्ट्रिय स्तरको भव्य स्टेज निर्माण गर्नेछ। भीडलाई नियन्त्रण गर्न सुरक्षा व्यवस्थापनका लागि नेपाल प्रहरीसँग आयोजकले छलफल गरिरहेको छ।

'शनिबारको दिन भएकोले कन्सर्ट हेर्न आउने दर्शकको भीड बाक्लै हुन्छ। फलस्वरूप सम्भावित दुर्घटना हुन नदिन सुरक्षामा ध्यान दिएका छौँ,' आयोजकले बताए। दशरथ रंगशालाले करिब १८ हजारको दर्शक धान्न सक्ने भए पनि आयोजकले त्योभन्दा बढी दर्शकको अपेक्षा गरेको छ।
'भएसम्म हामी बढीभन्दा बढी दर्शक अटाउने प्रयास गर्छौं। क्षमताभन्दा बढी पनि हुन सक्छ,' आयोजकले भने। उनका अनुसार टिकटको दर दुई हजारदेखि ३५ सय रुपैयाँ तोकिएको छ। तर टिकटको मूल्य बढ्ने सम्भावना रहेको आयोजक बताउँछ।
सन् २०११ को सिजन अन्तर्गत् अन्तर्राष्ट्रिय कन्सर्टको क्रममा ब्रायनले आउँदो माघ २८ देखि फागुन ४ सम्म भारतका विभिन्न पाँच सहर आफ्नो एकल कन्सर्ट गर्दैछन्।

भारतको भ्रमण सिध्याएपछि फागुन ७ मा उनको कन्सर्ट हुने जनाइएको छ। ओडिसी नेटवर्क नामक नेपाली समूहले ब्रायनलाई काठमाडौंमा ल्याउन लागेको हो।

सन् १९८० को दशकमा 'ब्रायन एडम्स' नामक एल्बमबाट सांगीतिक क्षेत्रमा लागेका ब्रायनले सन् २००८ मा 'एलाभेन' रिलिज गरेपछि कन्सर्टतर्फ ध्यान दिएका हुन्। कन्सर्टमै गाएर लाइभ एल्बम निकाल्ने चलन उनले सुरू गरेका हुन्।

सन् १९९० को दशकमा उनले अन्तर्राष्ट्रिय कलाकारहरूसँग संयुक्त रूपमा एल्बममा काम गरेका थिए। ३२ वर्षको सांगीतिक यात्रामा उनले ग्य्रामी अवार्ड, अमेरिकन म्युजिक अवार्ड अन्तर्गत् १८ जोनो अवार्ड र क्यानेडियन ग्य्रामी अवार्ड जितिसकेका छन्। यसै अन्तरालमा करिब २० को हाराहारीमा उनका एल्बमहरू सार्वजनिक भइसकेको छ। उनी एक रक गायकमात्र नभएर म्युजिसियन, लेखक, समाजसेवी र फोटोग्राफर समेत हुन्। उनको 'रेकलेस' नामक चौथो एल्बम सर्वाधिक बिक्री भएको एल्बम हो।
'समर अफ सिक्स्टी नाइन', 'एभ्रीथिङ्स आइ डु' र 'प्लिज फर्गिभ मी'जस्ता उनका गीत श्रोतामाझ चर्चित छन्।

 

ब्रायन एडम्सको काठमाडौं कन्सर्ट निश्चित





  धेरैको धड्कन बनेका रक गायक ब्रयान एडम्सको काठमाडौं कन्सर्ट निश्चित भएको छ। एडम्सको कन्सर्ट आयोजना गर्ने आधिकारिक इभेन्ट व्यवस्थापन कम्पनी जेपीआर इभेन्ट्सको भिडियोमा उनले फेब्रुअरीमा नेपाल आउने बताएका हुन्। 'तपाइँका लागि गाउन हामी फेब्रुअरीमा नेपाल आउँदैछौं', जेभीआरको भिडियोमा एडम्सले भनेका छन्। फेब्रुअरी महिनामा उनी काठमाडौं आउने तय भए पनि मिति भने खुलाइएको छैन।

भारतका सहररुमा कन्सर्ट गर्न आएको समय पारेर एडम्स नेपाल आउन लागेका हुन्। ब्रयानले फेब्रुअरी ११ देखि १६ सम्म भारतीय सहररु पुने, मुम्बइ, बेङ्ग्लोर, नयाँ दिल्ली र हैदरबादमा कन्सर्ट यात्रा गर्दैछन्। सन् १९८० मा 'ब्रायन एडम्स' एल्बममार्फत सांगीत विश्वमा हाम्फालेका उनका 'एभ्रीथीङ आइ डु', 'प्लिज फरगिभ मी' सहितका गीतले विश्वकै संगीतप्रेमीको मन तरङ्गित पारिरहेका छन्। सन् २००८ मा स्टुडियो रेकर्ड एल्बम 'एलाभेन' निकालेपछि उनको सांगीतिक यात्रा कन्सर्टतर्फ बढ्दै गएको छ। कन्सर्टमै गाएका गीतहरुलाई रेकर्ड गरेर लाइभ एल्बम निकाल्ने प्रयोग एडम्सले गरिरहेका छन्।
धन्य ब्रायन ! स्टुडियो रेकर्डिङमै सन्तुष्ट मानेको भए काठमाडौंले हेर्न पाउने थिएन तिम्रो कन्सर्ट !!


nagarik

0 comments:

Post a Comment