एसएलसी प्रश्नपत्र छपाइ अध्ययन टोलीले आफ्नो प्रतिवेदन शिक्षामन्त्री सवेन्द्रनाथ शुक्ललाई बुझाएको छ । गत साता बुझाइएको प्रतिवेदनमा यस वर्ष पनि भारतमै प्रश्नपत्र छाप्न सुझाब दिइएको छ ।
सरकारी गोप्य सामग्री छपाउने प्रयोजनका लागि करोडौँको सेक्युरिटी प्रेस ल्याए पनि संक्रमणकाल रहेको र गोपनीयता रहने सम्भावना नदेखिएको भन्दै प्रतिवेदनमा सकभर नेपालमा एसएलसी परीक्षाको प्रश्नपत्र नछाप्न सुझाब दिइएको हो ।
संसद्को लेखासमिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत प्रश्नपत्र नेपालमै छाप्ने व्यवस्था गर्न निर्देशन दिएको थियो । लेखासमिति र आयोगको निर्देशनपछि शिक्षा मन्त्रालयले प्रश्नपत्र छपाइ अध्ययनका लागि पूर्वशिक्षासचिव जयराम गिरीको संयोजकत्वमा टोली गठन गरेको थियो ।
अध्ययन टोलीले नेपालमा छपाइको सम्भावना रहेका करिब एक दर्जन निजी, जनक शिक्षा सामग्री केन्द्र, त्रिवि प्रेस तथा मुद्रणालय विभागको प्रेसको अध्ययन गरेको थियो । अध्ययन टोलीलाई उद्धृत गर्दै शिक्षा मन्त्रालयका एक अधिकारीले भने, 'एसएलसीको प्रश्नपत्र छाप्न सक्ने क्षमता भएका प्रेस धेरै छन्, तर गोपनीयता कायम गर्न सक्ने अवस्था देखिएन ।'
देशको संक्रमणकालीन अवस्थाका कारण सकभर नेपालमा प्रश्नपत्र नछाप्न र छाप्नैपर्ने अवस्थामा सादा पोसाकका सुरक्षाकर्मी खटाउनुपर्ने र 'लिकेज'का सम्भावना भएका ठाउँ टाल्नुपर्ने सुझाब अध्ययन-टोलीको छ । यसका लागि जनक शिक्षामा सिसिटिभी, कन्ट्रोलरुमलगायत सुरक्षा संयन्त्रको व्यवस्था गर्नुपर्ने र साथै, छपाइमा सकभर निरक्षर वा कम साक्षर व्यक्तिलाई प्रयोग गर्नुपर्ने सुझाब पनि टोलीको प्रतिवेदनमा छन् । तर, एकै साथ सम्पूर्ण प्रश्नपत्र छाप्ने जिम्मेवारी जनक शिक्षालाई दिन नहुने सुझाब प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, 'सुरुका वर्षहरूमा नेपालमा थोरै संख्यामा प्रश्नपत्र छाप्नुपर्दछ । सुरक्षा र गोपनीयता कायम हुन सके क्रमशः भारतमा छाप्न लैजान छाड्नुपर्दछ ।'
एसएलसी परीक्षाको प्रश्नपत्र विदेशमा छाप्ने गरिएकोप्रति असन्तुष्टि जनाउँदै माध्यमिक शिक्षा सहयोग कार्यक्रममार्फत विदेशी दाताहरूले १६ करोड रुपैयाँ दिएका थिए । सो रकमबाट ल्याइएको शैक्षिक सुरक्षण छापाखाना -एजुकेसनल सेक्युरिटी प्रेस) जनक शिक्षामा तीन वर्षअघि नै स्थापना गरिएको थियो । सो प्रेसले हाल पाठ्यपुस्तक छाप्ने गरेको छ ।
सार्वजनिक लेखासमितिले सांसद लालमणि चौधरीको संयोजकत्वमा गठन गरेको जनक शिक्षा केन्द्रसम्बन्धी अध्ययन उपसमितिको प्रतिवेदनमा केन्द्रकै सेक्युरिटी प्रेसमा प्रश्नपत्र र उत्तरपुस्तिका छाप्नुपर्ने सुझाब दिइएको छ ।
शिक्षासचिव तथा एसएलसी परीक्षा बोर्डका अध्यक्ष शंकरप्रसाद पाण्डेले प्रश्नपत्र छपाइ अध्ययन टोलीको प्रतिवेदन कार्यान्वयनबारे सरोकारवालासँग छलफल गरिरहेको बताए । उनले टिप्पणीका लागि प्रतिवेदन परीक्षा नियन्त्रण कार्यालयमा पठाइसकेको जानकारी दिए । उनले आफूहरू पनि सधैँ विदेशमा गइरहनुहुँदैन भन्ने पक्षमा रहेको बताए ।
जनक शिक्षाका प्रबन्ध सञ्चालक रामचन्द्र सिलवालले छपाइमा सुरक्षा दिन आफूहरू तयार रहेको बताउँदै आएका छन् । भारतमै छपाएर ल्याए पनि प्रश्नपत्र 'आउट' हुँदा आपतकालीन अवस्थामा जनक शिक्षामा छपाउने र अरू वेला सुरक्षा हुँदैन भन्नु गलत भएको उनले बताए ।
१० चैतबाट एसएलसी परीक्षा०६७ को एसएलसी परीक्षा १० देखि १८ चैतसम्म सञ्चालन हुने भएको छ । शुक्रबार बसेको परीक्षा बोर्ड बैठकले परीक्षा मितिको निर्णय गरेको परीक्षा नियन्त्रक सूर्यप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार पहिलो दिन अंग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ । परीक्षाको तालिका एक-दुई दिनमा सार्वजनिक हुने उनले बताए ।
भवानीश्वर गौतम










0 comments:
Post a Comment