समितिले दैनिक रुपमा कालीमाटी भित्रिने तरकारीको विवरण राख्छ। यसले दैनिक तीन पटक बजारमा बिक्री हुने तरकारी, फलफूल, माछाको मूल्य संकलन गर्छ।मंसिर सुरु भएपछि कालीमाटी तरकारी बजारमा दुई ट्रक (३४ टन) मात्र प्याज आएको छ। दैनिक २० देखि २५ टन प्याज भित्रिने बजारमा अहिलेसम्म ३४ टनमात्र आएकोले मूल्य आकासिएको हो।
'भारतबाट प्याज आउन कम भएकोले मूल्य बढेको हो,' व्यापारी प्रल्हाद भण्डारीले भने। भारतको नासिक र इन्दौरमा पानी परेको हुँदा व्यापारीले प्याजको आयात घटाएका छन्। पानीले भिजेको प्याज ल्याउँदा आधा कुहिने भएकोले व्यापारीले ल्याउन छाडेका हुन्।
शुक्रबार बिहान प्याजको मूल्य बढीमा ५५ रुपैयाँ मात्र थियो। आइतबार बिहान यो भाउ एक्कासी ९५ रुपैयाँ पुग्यो। 'थोक मूल्य बढीमा ९५ भएपनि खुद्रा मूल्य एकसय रुपैयाँ नाघेको छ,' भण्डारीले भने। थोक व्यापारीसँग प्याज किनेर खुद्रा व्यापारीले आफ्नो पसलमा लगेर केही नाफा राखेर बेच्छन्।
सरकारले बजेट ल्याउने तयारी गरेको दिन शुक्रबार देशभरिका भन्सारबाट कुनै पनि बस्तु प्रवेश गराउन रोक लगाएको थियो। उक्त एक दिन भन्सार नाका बन्द भएपनि १ गतेदेखिनै प्याज आउने क्रम कम भएको व्यापारीले बताएका छन्।
स्रोतका अनुसार, काठमाडौं ल्याउन लागिएको प्याज सिधै गोरखाको पालुङटार लगिएकोले पनि यहाँ महंगो भएको हो। आइतबारदेखि पालुङटारमा माओवादीको विस्तारित बैठक सुरु भएको छ। यो बैठकको लागि एक साता अघिदेखिनै ठूलो तयारी त्यहाँ भैरहेको छ।
माओवादीको यो बैठकमा झण्डै ६ हजार नेता, कार्यकर्ता सहभागी छन्। त्यसको लागि काठमाडौं, बीरगन्ज, नारायणगढदेखि तरकारी संकलन गरेर क्याटरिङ सञ्चालकले त्यहाँ लगिरहेका छन्।
नेपालमा खपत हुने प्याजमध्य ९५ प्रतिशत भारतको उत्पादन हो। सरकारले प्याजमा देशलाई आत्मनिर्भर बनाउन चार वर्षदेखि 'मिसन प्याज कार्यक्रम' सञ्चालन गरेपनि परनिर्भरता कम हुन सकेको छैन।
यसैबीच आइतबार साँझ कालीमाटी तरकारी बजारमा झण्डै ५० टन प्याज भित्रिएको छ। 'यो प्याजले अहिले देखिएको अभावलाई केही समाधान गरेपनि मूल्य भने अब तत्कालै घट्ला जस्तो छैन,' भण्डारीले भने।
प्याज ल्याउने व्यापारीले साँझ ५५ रुपैयाँमा बेचेका छन्। उपभोक्ताकोमा पुग्दा कम्तिमा ६५ रुपैयाँ पुग्छ। आयात सहज भएको समय (कात्तिक अन्तिम साता) यसको मूल्य बढीमा ४५ रुपैयाँमात्र थियो।










0 comments:
Post a Comment