नयाँ पत्रिका     
कीरा र लेउ भेटिएको रियल जुस अब संविधानसभाको एउटा संसदीय समितिमा पनि निषेध भएको छ । व्यवस्थापिका संसद्को महिला, बालबालिका तथा समाजकल्याण समितिले रियल निषेध गरेको हो । 
समितिको गत बिहीबार बसेको बैठकमा सभापति सन्ध्या देवीले 'आइन्दा समितिको बैठकमा रियल जुस नल्याउनू' भनी निर्देशन दिएकी थिइन् । समितिको बैठकमा सभासद्हरूका लागि खाजासँगै रियल जुस पनि ल्याउने गरिन्थ्यो । नयाँ पत्रिकाले २५ साउनको अंकमा रियल जुसभित्र कीरा, लेउ र कालो लेदो पदार्थ भेटिएको समाचार 'रियलको रियालिटी' शीर्षकमा प्रकाशित गरेको थियो । कपिलवस्तु, काठमाडौं र पोखराका उपभोक्ताले रियल जुसभित्र स्याउँस्याउँती कीरा, लेउ जमेको र कालो लेदो पदार्थ भेटेको समाचारमा उल्लेख थियो । समाचार प्रकाशित भएको दुई दिनपछि बसेको बैठकमा सभासद्हरूले आपत्ति जनाएपछि सभापति सन्ध्याले समितिको बैठकमा रियल निषेध गरेकी हुन् । 
संयोगले, स्वास्थ्यसम्बन्धी छलफल भइरहेको समितिको सो बैठकमा सभासद्हरूको खाजामा रियल जुससमेत ल्याइयो । त्यही बैठकमा सभासद्हरूले रियल जुससम्बन्धी समाचार प्रकाशित भएको नयाँ पत्रिका बोकेर गएका थिए । नेपालगञ्जमा भएको झाडापखालाबारे अध्ययन गर्न गएको समितिको टोलीले तयार गरेको प्रतिवेदनमाथि बैठकमा छलफल हुँदै थियो । 
खाजामा रियल जुस नै देखेपछि सभासद्हरूले आपत्ति जनाए । 'मिडियामा रियल जुसको वास्तविकता यसरी देखाइएको छ । खाजामा फेरि हामीलाई यही ल्याइएको छ । अब यो कसरी खाने ?' बैठकमा सभासद् विनोद पहाडीले नयाँ पत्रिकाको समाचार देखाउँदै प्रश्न गरे । सर्वसाधारणको जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने यस्ता खाद्यपदार्थका बारेमा सम्बन्धित निकाय मौन बसेकोमा पनि सभासद् पहाडीले आपत्ति जनाए । 'समितिले खाद्यपदार्थको गुणस्तर जाँच गर्ने निकायका बारेमा पनि छानबिन गर्नुपर्छ,' उनले भने ।
केही सभासद्ले रियल जुस पिउन थालिसकेको र केही पिउने तयारीमा रहेको अवस्थामा सभासद् पहाडीले यस्तो प्रश्न उठाएपछि सबै गम्भीर बने । पहाडीले उठाएका कुरालाई सभासद्हरू गिरिराजमणि पोखरेल, मिना पुन र गोविन्द नेपालीले पनि गम्भीरता साथ लिए ।
उनीहरूले पनि रियल खाद्यपदार्थको गुणस्तर जाँच गर्ने निकायप्रति रोष प्रकट गरे । 'मिडियामा फोटोसहित यति आउँदा पनि हामी यही खाँदै छौँ । सबैभन्दा पहिला हामी आफैं सचेत हुनुपर्यो अनि सर्वसाधारणको स्वास्थ्यसित प्रत्यक्ष सरोकार राख्ने यस्ता कुराहरूमा पनि गम्भीर हुनुपर्यो,' सभासद् पोखरेलले भने ।सभासद् पुनले रियलको बारेमा मिडियामा आएको कुुराप्रति समिति गम्भीर बन्नुपर्ने बताइन् । 'समग्रमा हाम्रो समिति गम्भीर हुनुपर्यो । नराम्रो भइसकेपछि केही गर्नुभन्दा सुरुमै ध्यान दिनुपर्छ,' उनले भनिन् । सभासद् नेपालीले पनि खाद्यपदार्थमा देखिएको समस्यालाई समितिले हलुका ढंगले लिन नहुने बताए । उनीहरूले रियल जुसको वास्तविकता मिडियामा आइसकेपछि पनि आफूहरूले त्यस्तो पेयपदार्थ खान नहुने बताए । 
सभासद्हरूको कुरा सुनिसकेपछि सभापति सन्ध्या देवीले समितिको बैठक बस्दा खाजामा रियल जुसजस्ता खाद्यपदार्थ नल्याउन निर्देशन दिइन् । 'बरु चिया-कफी नै खान ठीक हुन्छ । आइन्दा रियल जुस बैठकमा नल्याउनू, निषेध गर्नू,' सभापति सन्ध्याले समितिमा दिएको निर्देशन उद्धृत गर्दै सभासद् विनोद पहाडीले भने ।
आउँदो मंगलबार बस्ने समितिको बैठकमा पनि अखाद्य वस्तुबारे छलफल हुने भएको छ । 'खाद्यपदार्थमा मिसावट मात्रै होइन, मिति नाघिसकेका वस्तुहरू पनि बजारमा छ्यापछ्याप्ती बिक्री भइरहेका हुन्छन् । सम्बन्धित निकाय मौन बसेको छ । त्यसबारे पर्सि (मंगलबार) बस्ने बैठकमा छलफल हुन्छ,' सभासद् पहाडीले भने ।
बिक्री-वितरणमा रोक लगाउन माग
महोत्तरी/ ठाउँ-ठाउँमा रियल जुसमा कीरा र लेदो फेला परेको कुरा सार्वजनिक भएपछि महोत्तरीका उपभोक्ताले विरोध जनाएका छन् । उनीहरूले रियल जुस बिक्री-वितरणमा रोक लगाउन माग गरेका छन् । 
महोत्तरीका प्रमुख व्यापारिक केन्द्र जलेश्वर, मटिहानी, गौशाला, रामगोपालपुर, बर्दिबास, पिपरा, सहोडवा, बलवा, सरपल्लो, सम्सीवरिपरिका बासिन्दाले कीरा र लेदो फेला परेका पेयपदार्थको गुणस्तर चेकजाँच नगरेसम्म बिक्री-वितरणमा रोक लगाउन माग गरेका हुन् । सम्बन्धित निकायले अखाद्य वस्तुहरूको चेकजाँचमा चासो नदेखाएको उनीहरूको आरोप छ । 
जलेश्वर- ५ मा कपडा पसल गरेका मनोज साहले चिसो पेयपदार्थको नाममा अखाद्य पदार्थ उत्पादन गर्ने त्यस्ता कम्पनीलाई तत्काल कारबाही गर्न माग गरे । 'हामीले त जानी-नजानी त्यस्तो पेयपदार्थको माध्यमबाट धेरै अखाद्य वस्तु खाइसक्यौँ । अब भने हामी त्यस्ता अखाद्य वस्तु आफू पनि खान चाहन्नौँ र अरूलाई पनि खान्न दिन्नौँ,' उनले भने । अखाद्य वस्तुहरूको बिक्री-वितरण रोक्न आफूहरूले सक्दो सहयोग गर्ने जलेश्वर उद्योग वाणिज्य संघका महासचिव कृपाशंकर साहले बताए ।










0 comments:
Post a Comment