रोजिन शाक्य         
                                     किन हुन्छ तनाव ?
कुनै पनि दम्पती आफ्नो वैवाहिक जीवन तनावयुक्त होस् भन्ने चाहँदैनन्, तथापि दैनिक व्यस्तता, दौडधुप, भागदौड र कामको बोझका कारण नचाहँदा-नचाहँदै पनि तनावको स्थिति सामना गर्नुपर्ने हुन्छ । दैनिक जीवनको तनावले सबैभन्दा बढी प्रभाव दम्पतीको वैवाहिक जीवनमा पर्छ । जसको प्रत्यक्ष असर उनीहरूको यौनजीवन एवं शारीरिक निकटतामा पर्छ र बिस्तारै यौनसम्बन्ध नै समाप्त हुने स्थितिसम्म पुग्छ । दम्पती शारीरिक रूपमा मात्र नभएर मानसिक एवं भावनात्मक रूपबाट पनि नजिकिने भएकाले यौनको भूमिकालाई नकार्न सकिँदैन । आजको समयमा जीवनको मूलभूत आवश्यकता पूर्ति गर्न मुस्किल भैरहेको छ, फलस्वरूप सहरीया जीवनमा प्राथमिक आवश्यकता पूरा गर्न श्रीमान्-श्रीमती दुवैले नोकरी गर्नैपर्ने बाध्यता छ । आजको युगमा हरेक व्यक्ति सुखसुविधा र आरामसित बाँच्न चाहन्छन् । यसका लागि उनीहरूले अतिरिक्त आयको व्यवस्था गर्नुपर्ने हुन्छ । कडा मेहनत र आफ्नो इच्छा पूर्तिका लागि गरिने भागदौडले आपसी सम्बन्धलाई अघि बढाउन समयको कमी महसुस हुन्छ । संवादको कमी बढ्दै गएपछि सम्बन्धमा चाहेका-नचाहेका गाँठाहरू देखा पर्न थाल्छन् । अन्ततः त्यस्तो समय पनि आउँछ जहाँ दम्पती अशान्त र बोझले भरिएको तन-मनका साथ एक-अर्कासित बाँच्न बाध्य भएको अनुभूति हुन्छ र यहीँबाट आपसी सम्बन्धमा कलह, विवाद एवं दोषारोपण प्रारभ्भ हुन्छ ।
सन्तुलन आवश्यक छ
कामकाजी दम्पतीले आफ्नो निजी जीवनलाई दबाबबाट जोगाउन अतिरिक्त प्रयास गर्नुपर्ने हुन्छ । दुवै जनाबीच सहकार्य भएन भने सन्तुलन कायम राख्न मुस्किल हुन्छ । यद्यपि प्रयास र समझदारीबाट जीवनलाई सुखद् बनाउन नसकिने होइन । दाम्पत्य सम्बन्ध अन्य सम्बन्धभन्दा संवेदनशील हुन्छ । अतः यसलाई सुमधुर राख्न अलि बढी मेहनत गर्नुपर्छ । आपसी समझदारी, भावनात्मक लगाव र स्वस्थ यौनसम्बन्ध सुखी दाम्पत्यका लागि आवश्यक शर्त हो । यदि दम्पती एक-अर्कालाई प्रेम र सम्मानको नजरबाट हेर्न सक्दैनन् भने तनाव उत्पन्न हुन्छ र स्वाभाविक रूपले त्यसको प्रभाव बेडरुमसम्म पुग्छ ।
प्राथमिकता तय गर्नुपर्छ
श्रीमान्-श्रीमतीको व्यक्तिगत जीवन उनीहरूमा एक-अर्काप्रति कस्तो दृष्टिकोण छ भन्ने कुरामा निर्भर गर्छ । साथीको उपेक्षा गर्नु, जहिले पनि आफ्नो कुरा मान्न लगाउने प्रयत्न गर्नु, आफ्नो अहम्का लागि गलत कुरालाई पनि पुष्टि गर्नु यसका प्रमुख कारण हुन सक्छन्, जसले एक-अर्कामा अविश्वास र मिस अन्डरस्ट्यान्डिङ सिर्जना गर्छ । त्यसैले एक-अर्काको भावना र इच्छाको सम्मान गर्नु आवश्यक छ । यदि नोकरी आवश्यक छ भने त्यसको निर्णय लिँदा आपसी सहमति पनि आवश्यक छ । यस स्थितिमा दुवैको दायित्व के हुन्छ भने एक-अर्कालाई धेरैभन्दा धेरै सहयोग दिनु । हिजोआजका मानिसहरू आर्थिक रूपमा सक्षम हुन एवं भौतिक सुखसुविधा जुटाउन चाहन्छन् तर पैसालाई चाहिनेभन्दा बढी महत्त्व दिन थाले आपसी सम्बन्धको धरातल कमजोर हुन पुग्छ । अतः भौतिक सुखसुविधाको सीमांकन गर्नु आवश्यक हुन्छ, किनभने मानसिक एवं शारीरिक सुख-शान्ति बिना सम्बन्ध सुमधुर रहन सक्दैन र यस्तो स्थितिमा भौतिक सुखसुविधाको अर्थ पनि रहँदैन । सुविधामुखी भए पनि साथीको साथको सुखबाट वञ्चित भएर जीवनलाई अघि बढाउन सम्भव हुँदैन । किनभने एक-अर्काको साथ-सहकार्यबिना दाम्पत्य जीवन सम्भव छैन ।
तनावको प्रभाव
मनोचिकित्सकहरूका अनुसार मानसिक तनावले यौनजीवनमा प्रत्यक्ष प्रभाव पार्छ । उनीहरूका अनुसार यी दुईबीच 'साइक्लिक रिलेसनसिप' हुन्छ, अर्थात् कामकाजी जीवनको तनावको छायाँ व्यक्तिको मन-मस्तिष्कमा पर्छ र त्यसले यौनजीवनमा असन्तुष्टि उत्पन्न गर्छ । यसको परिणामस्वरूप तनाव झाँगिंदै जान्छ । अतः सुखद् दाम्पत्य जीवनका लागि कामकाजी दम्पतीले आफ्नो जीवनको हरेक पक्ष र स्तरमा आपसी समझदारी कायम गर्नुपर्छ । आपसमा कुराकानी गर्दै एक-अर्कालाई सकेसम्म बढी समय दिनुपर्छ । आपसी सम्वाद कम हुँदै गए दूरी अझ बढ्छ, साथै सम्वादहीनताले असमझदारीलाई बढावा दिन्छ । यदि आपसी सम्वादले पनि समस्या समाधान नभए सम्बन्धित विज्ञको परामर्श लिनु बुद्धिमानी हुन्छ ।
एक-अर्काको साथ
नोकरी गर्ने निर्णय स्वयं आफ्नो विवेक र समझदारीले नै लिएको भन्ने कुरा कामकाजी दम्पतीले बुझ्नु आवश्यक छ । यो निर्णय उनीहरूले आफ्नो जीवनलाई अझ राम्रो, सुविधासम्पन्न एवं सुरक्षित बनाउन लिएको हो । यसकारण दुवैले एक-अर्काको साथ-सहयोग दिनु आवश्यक छ । कामकाजी दम्पतीको धेरैजसो समय कार्यक्षेत्रमै व्यतीत हुने भएकाले त्यसको केही प्रभाव तिनको घरेलु जीवनमा पर्नु स्वाभाविक हो तर यसलाई कम गर्न दुवैले प्रयास गर्नु आवश्यक हुन्छ ।
कामकाजी श्रीमतीबाट हाउस वाइफको जस्तो अपेक्षा राख्नु ठीक होइन । आपसी सम्बन्धलाई सुमधुर एवं सुदृढ राख्न घरेलु कार्यको विभाजन गर्नु राम्रो हुन्छ, ताकि दम्पतीमध्ये कोही एकलाई बढी दबाब नपरोस् । कामको दबाब र तनावलाई निजी जीवनमा स्थान दिनुहुँदैन । घरमा कामको चिन्ता लिएर उपस्थित हुनुभन्दा घरको आवश्यकता बुझ्नु राम्रो हुन्छ । ततपश्चात् मात्र जीवन तनावमुक्त रहन सक्छ र जीवनको हरेक पलको मन खोलेर आनन्द उठाउन सम्भव हुन्छ ।










0 comments:
Post a Comment