
गत बर्ष जिबिसको २० लाख सहयोगमा ताल सफाइ गरिएको थियो । एक बर्ष पुरा नहुंदै ताल कुरुप बनेको छ । जलकुम्भी र करौते लगायत अतिक्रमणकारी झारले पुरै ढाकिएको छ । तालमा चरा अवलोकन गर्न सकिदैन । ताल संरक्षणका लागि भएका प्रयास दिर्घकालिन छैन ।
चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत गणेश पन्तले दिगो संरक्षणका लागि स्थायी संरचनाको खांचो रहेको बताए । विभिन्न समयमा संघसंस्थाले ताल सफाइ गर्दै आएपनि त्यसले निरन्तरता पाउन सकेको छैन । उनले गत बर्ष आफनै संयोजकत्वमा निर्माण गरिएको ताल व्यवस्थापन योजना वन मन्त्रालयले स्विकृत गरेपछि संरक्ष्ाणका लागि स्थायी संरचना तय हुने बताए । योजना अहिले वन मन्त्रालयबाट स्विकृत हुन बांकी छ ।
बर्षभरी पानीको एउटै सतह नहुँदा अतिक्रमणकारी झार फष्टाएको पन्तले बताए । संरक्षण र प्रचार प्रसार कमीले तालमा घुमफिरका लागि आउने पर्यटक घटेका छन् । सन २००३ मा रामसार साइटमा सुचिकृत ताल संरक्षणका लागि निकुञ्जले ठोस पहल गर्न सकेको छैन । बर्ड एजुकेशन सोसाइटीका अध्यक्ष् बासु बिडारीले जलकुम्भी र करौते मौलाएर ताल सुक्दै जाने हो भने चराको अस्तित्व संकटमा पर्ने बताउनुभयो । 'पहिले तालमा हिमाल छर्लङ्ग देखिन्थ्यो,' उनले भने-'अहिले पानी देखिन्न ।'
६ बर्ष अघि वाघ गैंडा संरक्षण समाजको पहलमा २ महिना ताल सफाईको काम गरिएको थियो । त्यस बेला सफाइमा ५ लाख खर्च भएको थियो । गत बर्ष ताल संरक्षण र स्थानीय बासिन्दाको जिविकोपार्जनका लागि संयुक्त राष्ट्र संघको साना उद्यम कार्यक्रम अन्तर्गत ५० हजार डलर आर्थिक सहयोग प्राप्त भएको छ । त्यसमा स्थानीय सरोकारवालाले १३ हजार डलर थप गरेका छन ।
बिसहजारी ताल संरक्षण परियोजनाका संयोजक तथा मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष बासुदेव चापागाइले पहिलो चरणमा तालमा प्रत्यक्ष संरक्षणका काम गर्न नसकिएको बताए । अहिले समुदायमा जनचेतना फैलाउँने र जीविकोपार्जनका काम भइरहेको जनाए । प्राकृतिक रुपमा स्वरुप बिग्रदै गएका बेला परियोजनाको अवधि सकिन लागेकाले ताल व्यवस्थापन योजना चांडो स्विकृत गुर्नुपर्नेमा उनको जोड छ ।
मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष यम बहादुर परियारले महत्वपुर्ण सिमसार क्षेत्रका रुपमा रहेको तालको संरक्षण राज्यले नै गर्नुपर्ने बताए । उनले संरक्षणका लागि दिगो संरचनामा जोड दिए । तालमा २ सय ९४ प्रजातीका चरा पाइन्छन । साईवेरीया , श्रीलंका , भारत लगायतका स्थानवाट वसाईसराई गरी आउने चराका लागि वच्चा जन्माउने र हुर्काउने थलोको रुपमा ताल रहेकोे छ । मध्यवर्ती क्षेत्रको वराण्डाभारमा रहेको यस तालमा गोही ,कछुवा जस्ता जलचरका साथै विभिन्न जातका माछा पाईन्छन् ।










0 comments:
Post a Comment