Translate

Friday

महिला र धूम्रपान:


प्रत्येक वर्षको मे ३१ मा ँविश्व धूम्रपानरहित दिवस’ मनाइन्छ । विश्व स्वास्थ्य संगठनको आह्वानमा मनाइने यो दिवसले यसपटक महिलालाई लक्षित गरी कार्यक्रम अघि सार्‍यो । 'लैंगिकतामा आधारित सुर्तीजन्य व्यवसायः महिलालाई नबनाऔं प्रवर्द्धनका उपाय’ विषय तथा 'सुर्तीजन्य पदार्थको प्रयोग र प्रवर्द्धनमा महिलालाई लक्षित नगरौं’ यो वर्षको नारा रहे ।

सुर्ती उत्पादक कम्पनीहरूले महिलालाई सुर्तीजन्य पदार्थको विज्ञापन र प्रवर्द्धनमा प्रयोग गर्दै आएको सन्दर्भलाई महत्व दिई त्यस्तो कार्यको प्रतिरोध र नियन्त्रणमा विशेष जोड दिइएको हो । यो प्रवृत्ति विकासशील देशहरूमा बढ्दो क्रममा छ । स्वास्थ्यप्रति सचेत मुलुकले धूम्रपानमाथि रोक लगाइसकेका छन् । त्यहाँ धेरै कडा कानुन पनि बनिसकेका छन् । त्यसैले चुरोट उत्पादकहरू विकासशील मुलुकतर्फ मोडिएका छन् । त्यसमा पनि उनीहरू महिलालाई विज्ञापनमा प्रयोग गरेर चुरोट बेच्दैछन् । धूम्रपानका अम्मलीहरूको सन्दर्भ हेर्ने हो भने महिलाहरूको वृद्धिदर उच्च छ, त्यो पनि विकसित र विकासशील दुवै मुलुकमा ।

विश्वको कुल जनसंख्याको १ अर्ब २० करोडभन्दा बढीले धूम्रपान गर्ने तथा त्यसमा २० करोड महिला रहेको तथ्यांकले देखाएको छ । नेपालमा पनि धूम्रपान गर्ने महिलाको संख्या बढिरहेको तथा बर्सेनि १५ हजारभन्दा बढीको मृत्यु हुने गरेको एक प्रतिवेदनमा उल्लेख छ । धूम्रपानका कारण मृत्यु हुने १५ हजार नेपालीमध्ये ९ हजार पुरुष र ६ हजार महिला भएको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जनाएको छ ।

जुनसुकै रूपमा पनि तमाखु सेवन मुख, घाँटी, फोक्सो, पेट, मिर्गौला, मूत्राशय आदि शरीरका विभिन्न भागको क्यान्सरका लागि जिम्मेवार हुन्छ । विश्व स्वास्थ्य संगठन -डब्लूएचओ) का अनुसार बर्सेनि तमाखुले ५० लाख व्यक्तिको ज्यान लिन्छ अर्थात् विश्वमा प्रत्येक ६ सेकेन्डमा एक जना तमाखुले गर्दा मर्ने गरेका छन् । यसरी बर्सेनि मर्नेहरूमध्ये १५ लाख महिला छन् । १० अर्ब धूमपानका अम्मलीमध्ये ८० प्रतिशतभन्दा बढी न्यून र मध्यआय भएका मुलुकमा बस्छन् ।

डब्लूएचओको आँकलनअनुसार बर्सेनि ४ लाख ३० हजार मानिस अपरोक्ष धूम्रपानले मर्ने गरेका छन् । त्यसमध्ये करिब ६४ प्रतिशत महिला छन् । धूम्रपानका कारण पुरुषको औसत १३ दशमलव २ तथा महिलाको १४ दशमलव ५ वर्ष आयु घट्छ भन्ने कुरा थाहा भएर पनि मानिस यसको कुलत छोड्न सक्दैनन् । यो आज निकै ठूलो चुनौतीका रूपमा देखापरेको छ । प्रत्येक खिल्ली चुरोट उपभोग गर्दा मानिसको आयु ११ मिनेटले घट्छ ।

तथ्यांकले धूम्रपानका नयाँ ग्राहक महिला भैरहेको जनाएको छ । विश्वका ९ प्रतिशत महिला तथा ४० प्रतिशत पुरुष धूम्रपानका अम्मली छन् तर स्वास्थ्य संगठन भन्छ, ँविश्वका १ सय ५१ देशमा गरिएको एक अध्ययनअनुसार धूम्रपानमा युवापुस्ता आकषिर्त भएको छ । युवा उमेरका अम्मलीमा ७ प्रतिशत युवती छन् भने १२ प्रतिशत युवक छन् । विश्वव्यापी फेसन तथा संगीतको साथ दिने क्रममा नयँपुस्ता यसतर्फ आकषिर्त भएको बताइन्छ । खेल र संगीतका कार्यक्रमलाई प्रायोजन गरेर पनि चुरोट कम्पनीहरू नयाँपुस्तालाई अम्मली बनाउन चाहन्छन् र त्यसै गर्दैछन् । विश्व स्वास्थ्य संगठनले आफ्नो प्रतिवेदनमा भनेको छ, ँविश्वका केही मुलुकमा महिलाले पुरुषलाई धूम्रपानमा उछिनिसकेका छन् । ती युरोपेली मुलुक हुन्-बुल्गेरिया, क्रोयसिया तथा चेक रिपब्लिक । यस हिसाबले महिलालाई धूम्रपानबाट हुने रोग बढ्ने सम्भावना पनि उत्तिकै छ । यसका अतिरिक्त अरूले गरेकै धूम्रपानबाट गर्भवती महिला तथा बालबालिका प्रभावित हुन्छन् ।

चुरोट कम्पनीहरूले सन् १९२० देखि नै महिलालाई लक्षित गर्दै विज्ञापन अभियान थालेका हुन् । बजार स्थायी हुँदै जाँदा ती कम्पनीले यसलाई अझ सशक्त बनाउँदै लगेका छन् जुन क्रम अझै जारी छ ।

0 comments:

Post a Comment