प्रधानमन्त्री माधवकुमार नेपालले कामचलाउ सरकारको सात महिना नेतृत्व गर्दा प्रधानमन्त्री पदका लागि तीन पात्रबीच अदृश्य खेल भए। ती पात्रमध्ये एक झलनाथ खनाल प्रधानमन्त्री बन्न सफल भए। पात्रहरूको भेटघाट जुराइदिने सबै नेताका 'प्रिय' व्यापारी अजय सुमार्गी बने। एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल, खनाल र कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाबीच झन्डै डेढ महिना छलफल चल्यो सुमार्गीको व्यवस्थापनमा, पार्टीभित्रकै सदस्यहरूले समेत त्यसको पत्तै पाएनन्।
एकल उम्मेदवारमा भएको चुनावी प्रक्रिया अन्त्यपछि पुनः उम्मेदवारीको प्रसंग तीन ठूला दलमा उठे। प्रधानमन्त्रीका लागि १६ औं पटकसम्मको चुनावपछि रिक्त समयमा देउवाको नाम एक पटक चर्चामा आयो सम्भावित प्रधानमन्त्री उम्मेदवारका लागि।
एमालेले अध्यक्ष खनाललाई उम्मेदवार बनायो। माओवादीले अध्यक्ष दाहाललाई। कांग्रेसमा अन्तिम समयमा बहुमतका आधारमा रामचन्द्र पौडेललाई पुनः उम्मेदवार बनाइयो। चुनावका दिन माओवादी स्थायी समितिले खनाललाई समर्थन गर्यो। त्यसमा उपाध्यक्ष बाबुराम भट्टराईले 'नोट अफ डिसेन्ट' जनाए।
माघ २० मा खनाल प्रधानमन्त्री चुनिए। त्यसको भोलिपल्ट देउवाले हेटौंडामा 'म उम्मेदवार भएको भए जित्थेँ' भने। देउवाले ती अभिव्यक्ति एकाएक दिएका होइनन्। उनीहरूबीच भएको 'होमवर्क'को अभिव्यक्ति हो। तीन पात्रमध्ये जो भए पनि प्रधानमन्त्री बन्ने निश्कर्षमा उनीहरू थिए। कांग्रेसमा देउवाले उम्मेदवारी पाउन गाह्रो थियो। त्यसैलाई आधार बनाएर दाहालले निश्कर्ष निकाले। 'पाए म, नभए खनाल' भनेर सार्वजनिक धारणा दिए।
तीन पात्रको चाल यतिमात्रै थियो– जसरी पनि 'भारतले नचाहेको व्यक्ति' प्रधानमन्त्री बन्ने। देउवा अमेरिकी लबी मानिने, दाहाल र खनाल चीनतिर झुकाव राख्ने 'मोर्चा'को थियो त्यो कसरत। उनीहरूको छलफल कांग्रेस सभापति सुशील कोइरालाले थाहा पाए। स्रोतका अनुसार त्यो पहललाई रोक्न कोइरालाले सुमार्गीलाई गुहारे। यता माओवादी उपाध्यक्ष मोहन वैद्यले पालुङटार बैठकमै देउवालाई बनाउँदा फरक नपर्ने धारणा राखेका थिए। त्यसको कारण अहिले वैद्य 'रिम'का अमेरिकी प्रतिनिधिसँग बढी हिमचिम हुनु हो।
पालुङटार बैठकमा दाहालले सिधै भनेका थिए– 'म के गरौं भएको छ। भारतले एक जनालाई अमेरिकीले अर्कोलाई भेटिरहेको थाहा पाउँछु मलाई जानकारी हुँदैन।' उनले त्यो संकेत भट्टराई र वैद्यप्रति गरेका थिए। पछिल्लो पटक अमेरिकी प्रतिनिधिहरूसँग वैद्य र उनका विश्वासपात्र नेत्रविक्रम चन्दसँग भेटघाट हुने गरेको दाहालले बताउँदै आएका छन्।
त्यही कुरा पालुङटारबाट फर्केपछि उनीनिकट पत्रकारहरूसँग नयाँबजार निवासमा बताएका थिए। भट्टराईले अध्यक्ष दाहाल नै प्रधानमन्त्री बन्नुपर्छ भन्ने धारणा जारी राखे। त्यही आधारमा उनले नोट अफ डिसेन्ट लेखे खनाललाई समर्थन गर्ने विषयमा। त्यो आधार भट्टराई भारतमा भएको एक राजनीतिक सम्मेलनमा सहभागी हुँदा भारतीय संस्थापन पक्ष माओवादीप्रति सकारात्मक भएको पाए। भारतीय संस्थापन पक्षहरूसँग भट्टराईको भेटघाटपछि वातावरण सहज बनेको खुलासा उनैले गरे।
पालुङटार बैठकमा भट्टराईले भारतमा अध्ययन गरेर विद्यावारिधि गर्नु 'घाँडो' भएको बताए। उनले भारतलाई प्रधान अन्तर्विरोध भनेर भन्न नसकिने तर्क त्यहाँ राखे। जुन पार्टीमा अहिले उनको फरक मतका रूपमा दर्ज भएको छ। भट्टराई बढी भारतपरस्त भनेर चुनावाङ बैठकअघि आरोप खेपे। भट्टराईलाई कारबाही गरियो। जसलाई कार्यकर्ताले पार्टीको अन्तर्विरोधलाई 'दिल्ली प्रकरण' भनेर नाम दिए। भट्टराई भारतमा अधिकांश समय दाहालसँगै रहे। एकाएक भारतमा नेता पक्राउ पर्न थालेपछि दाहालले भट्टराईप्रति शंकाले हेर्न थाले। त्यसैको परिणाम थियो उनको कारबाही।
गिरफ्तार नेताले पार्टीभित्र देखिएका भट्टराई पक्षधरले भारतको जासुसी संस्था 'र' सँग मिलेर पक्राउ गराएको खुला आरोप लगाए। संयोग वा नियत, भारतको अलि कडा आलोचक मानिने नेताहरू बढी गिरफ्तारीमा परे। भट्टराई पक्षधरले सैद्धान्तिक रूपमै फरक मत राख्न थाले। त्यसले अप्ठेरो पारेको महसुस गरेर हेडक्वार्टर भारतबाट माओवादीको त्यतिबेलाको 'आधार इलाका'मा फर्किने निर्णय गर्यो। त्यसलगत्तै माओवादीले भारतसँग 'सुरुङ युद्ध' गर्ने भनेर सीमाक्षेत्र लगायत देशभर सुरुङ खन्यो।
विवाद २०६२ कात्तिकमा चुनावाङ बैठकसम्म आयो। बैठकले सबै एक हुँदै सात दलसँग गठबन्धन गर्ने, शान्तिप्रक्रियाका लागि संविधानसभा, गणतन्त्र स्थापनाको कार्यनीति तय गर्यो। जुन कार्यनीतिबाटै माओवादी यहाँसम्म आएको र त्यो कार्यनीति भट्टराईले आफ्नो भनेका छन्। १२ बुँदे सहमतिदेखि सबै सहमति, सम्झौतामा सहभागी हुने भट्टराई पछिल्लो पटक खनाल नेतृत्व सरकार निर्माण प्रक्रियामा कतै सहभागी छैनन्।
खन्ना गार्मेन्टमा दाहालले एकाएक भट्टराईलाई भारतले प्रधानमन्त्री बनाउन चाहेको कार्यकर्तालाई बताए। दाहालको अभिव्यक्तिपछि भट्टराई झन् टाढिए। लगत्तै भट्टराई प्रधानमन्त्री हुने भन्ने हल्ला पार्टीभित्र र बाहिर चलाइयो। पार्टीभित्र विकल्प खुला राख्ने निर्णय गरियो। खुला राख्ने नीति भनिए पनि दाहालले पुनः आफैं प्रधानमन्त्रीको उम्मेदवारी बन्ने प्रस्ताव गरे। त्यसलगत्तै भारतीय विदेशमन्त्री एसएम कृष्णा आउँदा होटल द्वारिकामा एक्लै भेटघाट गरे भट्टराईले। त्यो पार्टीमा विवाद बन्यो। उनले अध्यक्ष दाहाललाई जानकारी गराएर गएको प्रष्टीकरण दिए।
राष्ट्रपति निर्वाचन क्रममा उनले भारतपरस्तको बढी आरोप खाए। रामराजा सिंहलाई राष्ट्रपति बनाउन उनी बढी सक्रिय देखिए। माओवादीभित्र एकथरीले रामराजाले बम पड्काएर राजतन्त्रलाई थप बलियो बनाएको र उनी सधैं भारतमा रहेको टिप्पणी गर्छन्। त्यही आधारमा तत्कालीन जनमोर्चाका अध्यक्ष अमिक शेरचनले राष्ट्रपति रामवरण यादवलाई मतदान गरेको प्रष्ट्याएका थिए।
सञ्चारमाध्यमका सर्वेक्षण, पानाहरू, काँचका पर्दामा सर्वाधिक छाइरहन्छन् भट्टराई। राजनीतिक वृत्त, बुद्धिजीवी, अन्तर्राष्ट्रिय समुदायमा बढी चिनिने भट्टराई यतिबेला संविधानसभाको ठूलो दल एकीकृत माओवादीका उपाध्यक्ष छन्। सबै कुरामा प्रथम हुने भनी परिचर्चा गरिने भट्टराई पार्टीमा भने तेस्रो स्थानमा छन्। उनले आफ्नो क्षेत्रको चुनावमा भने नेपालका सबै सभासदले भन्दा बढी मत लिए। सांगठनिक हिसाबले उनी पार्टीमा कमजोर छन्। बाहिरी चर्चा पाइरहने भट्टराई 'मिसन पत्रकारिता'का सोखिन हुन्।
गोरखाको खोप्लाङमा २०११ सालमा जन्मेका हुन् उनी। खोप्लाङदेखि केही वर लुइँटेल गाउँमा खुलेको मिसन स्कुलमा माध्यमिक तह पढे। २०२६ सालको एसएलसीमा बोर्ड फर्स्ट भए। अन्तर्मुखी स्वभावका भट्टराई बोर्ड फर्स्टसँगै राजधानी छिरे।
राजनीतिक वृत्तमा हरेक पटक भट्टराई प्रधानमन्त्री भए देश बन्ने थियो भन्ने धारणा आइरहन्छ। उनले अर्थ मन्त्रालयलाई राम्रो बनाएको भनी स्याबासी पाए। उनले वामहरूले भन्ने नियोजित अर्थतन्त्र नीतिबाट त्यो स्याबासी पाएका होइनन्। उदार अर्थतन्त्र र नियोजित अर्थतन्त्रलाई मिश्रित बनाएर उनले कार्यकाल सफल बनाए।
उनले कोलम्बो प्लानअन्तर्गत चण्डीगढबाट बी. आर्किटेक्ट गरे। जहवरलाल नेहरू विश्वविद्यालयबाट विद्यावारिधि।
अखिल भारत नेपाली विद्यार्थी संघका संस्थापक अध्यक्ष बनेका भट्टराई त्यतिबेला प्रजातान्त्रिक धारतिर थिए। जुन वैद्यानन्द झा नेपाली राजदुत भएका बेला उनको आर्थिक सहयोगमा संघ सञ्चालित हुन्थ्यो, त्यही बेला भारतमा मसाल निकट अखिल भारत नेपाली एकता समाज संस्था स्थापना भयो। एमालेले पनि जनसम्पर्क समिति बनायो। त्यहाँ नेपाली मजदुरमाझ समाजले रक्तिम सांस्कृतिक कार्यक्रम गर्थ्यो। त्यहाँ भट्टराईलाई अतिथि बनाइन्थ्यो।
त्यही क्रम बढ्दै गएपछि मसालका महामन्त्री मोहनविक्रम सिंह र निर्मल लामाले उनलाई पार्टी सम्पर्कमा लिए। ३७ सालतिर उनले मसालको सदस्यता प्राप्त गरे। उनी यति साधारण थिए कि विद्यावारधि गर्ने विद्यार्थीको 'स्ट्यार्न्ड' कायम राख्न सक्दैनथे। जुन कुरा उनका समकालीन बताउँछन्। मजदुर, चौकिदारसँग असाध्यै घुलमिल गर्थे उनी त्यसबेला।
उनमा पार्टी पद्दति त्यति थाहा हुन्नथ्यो। कुन पदमा कसरी पुगिन्छ भन्ने उनमा अभाव देखिन्थ्यो भारतमा रहँदा। अयोध्यायमा सम्पन्न मसालको पाँचौं महाधिवेशनमा विभाजन आयो। त्यो विभाजनको असर एकता समाजमा पर्यो। त्यो बेला एकता समाज फुट्यो। गोविन्दसिं थापाले नेतृत्व गरेको एकता समाज दिल्ली पक्षमा बहुमत पुग्यो। सिपी गजुरेलले नेतृत्व गरेको कलकत्ते पक्ष अल्पमतमा परेर विभाजन भयो। भट्टराई दिल्ली पक्षमा लागे।
त्यही बेला उनी एकता समाजको पश्चिम–उत्तोर क्षेत्रीय समिति अध्यक्ष बने। आफूले चलाउँदै आएको जनप्रवाह पत्रिकालाई बन्द गरे। अर्को प्रकाशनका लागि एकता समाजका अध्यक्ष थापा प्रकाशक र भट्टराई सम्पादक भएर 'नेपाली एकता' मासिक बुलेटिन छाप्न थाले। उनी बेलाबेला ऋषिकेश शाह, पद्मरत्न तुलाधरलाई नेपालबाट बोलाएर कार्यक्रम गर्थे। पार्टीका मान्छे सोध्थे– 'डाक्टर साब, यो भएन। उहाँहरूसँग वर्गीय कुरै मिल्दैन?' उनले नेपालको राजनीति बु‰न उनीहरूसँगको छलफल लाभदायक हुने तर्क गर्थे।
ऋषिकेश शाहसँग उनको निकटता 'वर्ल्ड हेल्थ अर्गनाइजेसन'मा काम गर्ने उनका भाइमार्फत भएको हो। भारतमा रहँदा उनको एसडी मुनिसँग राम्रो हिमचिम थियो। त्यसबेला टेलिग्राफमा कार्यरत पत्रकार युवराज घिमिरेसँग पनि उनको बढी हिमचिम हुन्थ्यो।
त्यहीबेला उनी दिल्लीमा ठूलो दुर्घटनामा परे। उनलाई जेएनयुका भिसीलगायतले अल इन्डिया मेडिकल इन्स्टिच्युटमा माथिल्लो तहबाट उपचारको व्यवस्था मिलाइदिए। त्यो खालको उपचारले मात्र उनी खतरामुक्त भएको समकालीन सम्झन्छन्।
विद्यावारिधिपछि उनी नेपाल आए। नेपालमा आएपछि उनी मसालको काठमाडौं जिल्ला समितिमा बसे। त्यही क्रममा ०४६ को जनआन्दोलन सुरु भयो। वाम मोर्चामा नअटेका साना कम्युनिस्ट पार्टीहरूको छुट्टै मोर्चा बन्यो। संयुक्त राष्ट्रिय जनआन्दोलन समिति संयोजक बने। जसले चैत २४ गते नेपाल बन्दको आह्वान गरेर ०४६ सालको जनआन्दोलनलाई चरमोत्कर्षमा पुर्यायो। दलहरूबीच चैत २४ र २६ गतेको विवाद अझै कायम छ।
जनआन्दोलन समाप्तिपछि पहिलो संसदीय निर्वाचनलाई बहिष्कारको नीति लिएका मोहनविक्रमबाट उनी अल्लगिए। मसाल छाडेपछि भट्टराई त्यसबेला गठित नेकपा (एकता केन्द्र)मा सामेल भए। त्यसको खुला मोर्चा संयुक्त जनमोर्चा नेपालको अध्यक्ष बने। त्यसबीचमा केही समय उनले अध्यक्ष पद छोडे। त्यसको ठाउँमा पम्फा भुसाल अध्यक्ष बनिन्। भट्टराई अध्यक्ष बनेका बेला ०४८ को पहिलो संसदीय चुनावमा ९ सिट लियो। जनयुद्ध सुरु गर्नुअघि देउवा सरकारलाई ४१ बुँदे माग उनकै नेतृत्वमा बुझाइयो।
भट्टराई यतिबेला 'जनयुद्ध सुरु गर्नुअघिदेखि चुनावाङको खाका, शान्तिप्रक्रियामा आउन गरिएको १२ बुँदा पार्टीको घोषणापत्र, दाहालले प्रधानमन्त्री छोड्दाको वक्तव्यसम्म आफूले तयार पारेको' बताउँछन्। युद्धकालमा कारबाही भोगे। उनका समर्थकले सधंै दुःखबाहेक अरू पाएका छैनन्। पालुङटार बैठकमा उनले भनेका थिए– 'मैले सधैं ठोकाइबाहेक केही खाएको छैन। खाँदाखाँदा मेरा छाला बाक्लिइसके, सहन सक्छु।'
भट्टराईलाई हेरिने भित्री बाहिरी अनेक कोण छन्। उनले नै दर्ता गरेको 'जनादेश' साप्ताहिकमा बेलाबखतको कुरा स्तम्भ लेखेर चर्चा बटुलेका भट्टराई राजा वीरेन्द्र शाहको वंशनाशका बेला 'कोतपर्वलाई मान्यता दिनुहुँदैन' भनेर लेखे। माओवादी जनयुद्धको केही वर्ष भट्टराईकै नाम चर्चामा आयो। जनयुद्धकै समयमा उनी पार्टी कारबाहीमा परे। जुन बेला मोहनविक्रम सिंहले समेत 'बाबुरामको जीवन रक्षा गर' भनेर लेखे। सिंह र भट्टराई जो एकअर्का नाम सुन्न नसक्ने वैचारिक विरोधी हुन्।
पालुङटार बैठकपछि भट्टराईले आफूलाई व्यवस्थित गर्दै आफ्नो कार्यकर्ता संरक्षण गर्ने अवस्थामा देखिएका छन्। नेपाली राजनीतिमा पार्टीभित्र, बाहिर चर्चा परिचर्चा पाइरहने भट्टराई चुनबाङ बैठकपछि बढि चर्चामा आउने पात्र हुन। यतिबेला पार्टीमा नोटअफ डिसेन्ट लेखेर चर्चामा रहेका भट्टराई यो सरकार निर्माण प्रक्रियाबाट किन अलग छन्? आखिर को हुन, बाबुराम यो रहश्यमै छ।
nagarik