Translate

Friday

कसरी बुझ्ने, तपाईं प्रेममा हुनुहुन्छ ?



प्रेम अनुभूति हो । प्रेम शब्दरहित अभिव्यक्ति पनि हो । जहाँ नजरबाटै धेरै कुरा व्यक्त हुन्छ, तर कैयन अवस्थामा त्यो भावना बुझ्न धेरै गाह्रो हुन्छ । यस स्थितिमा कसरी  बुझ्ने कि, तपाईं प्रेममा हुनुहुन्छ ?

आज फेरि सुगन्धित रातमा पनि बिरहमा जले सरह अनुभव भयो, आज फेरि धड्कनको आवाज बुझ्न गाह्रो भयो, आज फेरि खुल्ला आँखाले तिम्रा विषयमा सपना देखेर  रात बित्यो, आज फेरि चन्द्रमालाई पनि समस्या अनुभव भयो । मनको यस्तै बेहाल स्थितिले प्रेम अभिव्यक्त गर्छ ।

बिहान उठ्ने बित्तिकै वा बिहानीपखको निद्रामा पनि उनको सम्झना आउँछ र उनीसित भेट्न मन बेचैन हुन्छ । मनमा उनको झलक आइरहन्छ । हावामा पनि हरेक पल  उनकै सुगन्ध महसुस हुन्छ ।

उनलाई भेट्न, उनीसित कुरा गर्न राम्रो लाग्न थाल्छ । मन हरेक क्षण उनीसित भेट्न तडपिरहन्छ । स्मृतिका हरेक पानामा उनको नाम कोरिएको पाइन्छ भने, पक्कै तपाईं  कसैको प्रेममा हुनुहुन्छ ।

मनलाई उनी आउने प्रतिक्षा मात्र छ, उनलाई भेट्न चाहना जति खेर पनि उत्तिकै छ ।

जब जीवन उनीविना विरानो अनुभव हुन थाल्छ र उनको उपस्थितिले मन शान्त हुन्छ भने तपाईं कसैको प्रेममा हुनुहुन्छ ।

उनका लागि केही पनि गर्दा एक किसिमको तृप्ति अनुभूति हुन्छ ।

आवश्यक कामका बीच पनि ध्यान कोही विशेष व्यक्तिमा आएर रोकिन्छ र लामो समयपछि मात्र आफूले के गर्न खोजेको हो, थाहा हुन्छ । बारम्बार उनकै याद आइरहन्छ  भने तपाईं प्रेममा पर्नुभयो भन्ने बुझ्नुपर्छ ।

उनको उपस्थिति नभएकाले भीडमा पनि एक्लो महसुस हुन्छ ।

जब तपाईं केही राम्रो गर्नुहुन्छ तब यो सोचेर गर्नुहुन्छ कि त्यसले उनलाई खुसी प्रदान गर्छ । त्यो कामले तपाईं र उनीबीचको आत्मीयता अझ प्रगाढ हुने अपेक्षा  गर्नुहुन्छ भने त्यो प्रेम हो ।

जब कुनै कुरा प्राप्त गर्नुहुन्छ चाहे त्यो कामको सफलता होस वा सम्मानको उपलब्धि तब तपाईं त्यो खुसीमा उनको सहभागिता खोज्नुहुन्छ । आफ्नो अनुभूति र उपलब्धि  उनीसित बाँड्न चाहनुहुन्छ भने तपाईं कसैको प्रेममा हुनुहुन्छ ।

जब तपाईंको सोच उनको वरपर नै घुम्छ, तपाईं उनलाई खुसी राख्ने, सुख दिने अनेकौं उपाय खोज्नुहुन्छ । जब तपाईं उनको प्रतिक्रियाको प्रतीक्षा गर्नुहुन्छ । उनको  कुरामा समय बितेको चाल पाउनुहुन्न र पनि उनीसित समय बिताउनु चाहनुहुन्छ भने तपाईं कसैको प्रेममा हुनुहुन्छ ।

तपाईं यो संसारलाई सुन्दर मान्नुहुन्छ, कारण यो संसारमा उनी छिन् । उनको कारणले संसार सुन्दर महसुस हुन्छ भने तपाईं कसैको प्रेममा हुनुहुन्छ ।

जब आफ्ना बारेमा कम र उनका बारेमा बढी सोच्न थालिन्छ उनको रुचि-अरुचिका बारेमा विशेष ख्याल राखिन्छ । आफूलाई हानी पुर्‍याएर पनि उनको फाइदाका बारेमा  सोचिन्छ । उनको खुसीका लागि आफ्नो खुसी त्याग गर्न थालिन्छ । उनको खुसीमै आफनो खुसी खोजिन्छ, अर्थात् हरेक प्रार्थनामा मात्र उनको चाहना छ । हरेक धड्कनमा मात्र उनको भावना छ भने तपाईं कसैको प्रेममा हुनुहुन्छ ।

जब उनको खुबीका साथमा उनको कमी कमजोरी पनि राम्रो लाग्न थाल्छ र उनमा कुनै सुधारको चाहना नराखी उनलाई त्यही रूपमा स्वीकार्न तयार भइन्छ, तब  बुझ्नुहोस्— तपाईंलाई प्रेमरोगले छोयो ।

जब तपाईंलाई उनी हाँस्नु, मुस्कुराउनु, जिस्क्याउनु, ख्याल ठट्टा गर्नु, रिसाउनु, सरी भन्नु आदि सबै कुरा राम्रो लाग्न थाल्छ ।

जब उनीसितको प्रत्येक भेटमा नयाँपनको अनुभूति हुन्छ र मन खुसीले प्रफुल्लीत बन्छ तब बुझ्नुपर्छ कि तपाईं कसैको प्रेममा हुनुहुन्छ ।

जब कसैसित बिताएका हरेक क्षण तपाईंको मन मस्तिष्कमा कैद हुन्छ र यी सम्पूर्ण तस्बिर एक पटक नभै बारम्बार आफ्नो आँखा अगाडि देखा परिरहन्छ, मन-मस्तिष्कमा  छाइरहन्छ भने मान्नुहोस्- तपाईं प्रेममा पर्नुभयो ।

0 comments:

Post a Comment