Translate

Friday

नर्सको एक हातमा मैन अर्कोमा सिरिन्ज

 

आफ्नो बिरामी सुतेको बेड पत्ता लगाउन नसकेर अर्कैको बेडमा पुगेकी सावित्रा बस्नेत पछुतो मान्दै थिइन्। 'घरबाट उज्यालो नल्याएर बर्वाद भो,' ढिकपुर गाविसबाट बिहीबार राति राप्ती उपक्षेत्रीय अस्पतालमा एकजना गर्भवतीलाई लिएर आएकी सावित्राले त सोचेकी थिइन्, 'अन्त बिजुली गए पनि अस्पतालमा त उज्यालो हुन्छ होला।' तर उनको सोचाईको ठीक उल्टो छ, जिल्ला सदरमुकाममा रहेको राप्ती उपक्षेत्रीय अस्पताल। छेउछाउका घरहरुमा इर्न्भटरको उज्यालो हुँदासमेत अस्पतालमा मैनबत्ति धिपधिपाइरहेको हुन्छ।
दिनदिनै बढ्दै गएको लोडसेडिङले गर्दा अहिले राप्ती उपक्षेत्रीय अस्पतालले निकै सास्ती खेप्नु परेको छ। त्यसमाथि पनि अस्पतालमा रहेको जनेरेटर बिग्रेको साता बितिसक्दासमेत व्यवस्थापनले ध्यान नदिएपछि बिरामी, कुरुवा अनि स्वास्थ्यकर्मीले थप सास्ती बेहोर्नुपरेको छ।

जिल्लामा अहिले करिब ७ सातघण्टा दैनिक बिजुली जान्छ। त्यसमाथि अस्पतालमा भएको जेनेरेटरसमेत चालु अवस्थामा छैन। जसले गर्दा स्वास्थ्यकर्मीलाई अस्पतालमा मैनबत्ति बालेर बिरामीको उपचार गर्नुपर्ने अवस्था छ भने बिरामीलाई औषधी खुवाउन तथा सौचालय ल्याउन लैजान बिरामी र कुरुवा दुवैलाई झनै सास्ती खेप्नुपरेको छ।

त्यसमाथि अस्पताल क्षेत्र नै पूरै अँध्यारो हुने भएकाले कम्पाउण्डभित्र हिंडडुल गर्नसमेत गाह्रो भएको छ। 'सौचालय कता छ भन्ने पनि थाहा छैन,' प्रसुती भवनमा बिरामी कुरुवा सावित्रा बस्नेतले भनिन्, 'घरबाट उज्यालो ल्याउने होसै भएन, अस्पतालमै यस्तो अन्धकार हुन्छ भन्ने के थाहा?'

'एक हप्ताभन्दा बढी भइसक्यो यस्तो अन्धकारमा काम गरेको, संवेदनशील काममा पनि मैन बत्तिको उज्यालोले काम चलाउँदै आएका छौं,' - उपक्षेत्रीय अस्पतालको प्रसुती वार्डमा कार्यरत स्टाफ नर्स सृजना खनालले भनिन्। उनले यो आफ्नो मात्रै समस्या नभएर समस्त अस्पतालमा काम गर्ने चिकित्सक देखि सफाइ गर्ने कर्मचारी र बिरामी अनि बिरामी कुरुवासम्मको रहेको पनि बताइन्। कतिपय अवस्थामा त मैनवत्ति सकिएर आफ्नै मोवाइल बालेर पनि उपचार गर्नुपरेको नर्सहरु बताउँछन्।

बर्षौ पहिला युनिसेफले अनुदान स्वरुप अस्पताललाई एउटा जेनेरेटर उपलब्ध गराएको थियो। विद्युत प्राधिकरणले लोडसेडिङ्को समय बढाइरहेका बेलामा जेनेरेटर बिग्रिएपछि विद्युत नभएका बेला अस्पताल पूरै अन्धकार हुने गरेको छ।अस्पतालका प्रशासनका स्टोर शाखा प्रमुख बामदेव शर्माले जेनेरेटर केही दिनमै बन्ने जानकारी दिए। 'प्राविधिलाईसमेत बोलाइसकेका छौँ, एकदुई,दिनमै जेनेरेटर बन्छु उनले भने। जेनेरेटरसमेत बिग्रिएपछि विद्युत नभएका बेला अस्पतालमा रहेका इन्जेक्सन तथा भ्याक्सिनलगायतका औषधिहरुसमेतमा असर पर्न थालेको सम्बन्धित स्वास्थ्यकर्मीहरुले बताएका छन्।
nagarik

0 comments:

Post a Comment