Translate

Friday

संसारबाट बिदा हुने हस्तीहरू



आफ्नो समयमा विश्वलाई विभिन्न क्षेत्रमा योगदान दिने सयौं हस्तीलाई वर्ष २०१० ले बिदा गर्‍यो। जीवनसँगै मृत्यु बोकेर आउने हरेक मानिसझैं कुनै बेला पद र  शक्तिको उत्कर्षमा पुग्ने धेरै व्यक्तिले यो वर्ष संसार छाडे। कसैले लामो समयसम्म संसार नियाले, कोही अल्पायुमै बिते। तीमध्ये केहीलाई लामो समयसम्म संसारले  सम्झनेछ।

मार्सल निरेनवर्ग

अमेरिकी वैज्ञानिक मार्सल निरेनवर्गको वर्ष २०१० को जनवरी १५ मा निधन भयो । यी यस्ता वैज्ञानिक थिए, जसले मानिसको डीएनएमा प्रोटिन कसरी बहन्छ भन्ने  कुराको खोज गरेबापत नोबेल पुरस्कार पाएका थिए । सन् १९६८ मा उनलाई विज्ञानतर्फको नोबेल पुरस्कार प्रदान गर्दा मानिसको अनुवंशिक रहस्य पत्ता लगाउन  संसारभरिका वैज्ञानिकहरू प्रयासरत थिए । निरेनवर्गको उक्त खोजबाट डीएनए परीक्षणमा सजिलो भएको थियो । उनकै खोजीबाट मानिसको अनुवंशिक खोजमा नयाँ-नयाँ  तथ्य पत्ता लगाउन वैज्ञानिकहरूलाई सजिलो भएको  हो । मृत्यु हुँदा उनी ८२ वर्षका थिए । उनी लामो समयदेखि क्यान्सरबाट पीडित थिए । निरेनवर्ग ३० वर्षको  उमेरसम्म प्रेमका लागि भौंतारिने साधारण केमिस्ट्रियन थिए, तर जसै उनले आफ्नो प्रेममा असफलता पाए, त्यसपछि उनी केही नयाँ कुरा दिन रूसका चर्चित वैज्ञानिकह रूलाई भेट्न गए । त्यसबेला रूसका वैज्ञानिकहरू विश्वप्रसिद्ध भएकाले उनी अमेरिका छाडेर रूस पुगेका थिए । सुरु उनको सूत्रलाई कसैले पत्याएनन् । जब एउटा ठूलो  वैज्ञानिक सम्मेलनमा उनले आफ्नो सूत्रलाई विस्तृत रूपमा बताए, त्यही बेला उनको खोज वास्तविक एवं युगान्तकारी भएको स्वीकार गरियो ।

हेनरी एडबर्ड

आज विश्वका सबैभन्दा धनी व्यक्तिको नाम नसुन्ने मानिस कमै छन्, तर माइक्रोसप्टका मालिक बिल गेट्सलाई यहाँसम्म पुर्‍याउने व्यक्तिको नाम कमैलाई थाहा थियो ।  गत  वर्ष २०१० मा हेनरी एडबर्ड नामका एक व्यक्तिको निधन भएपछि, संसारभरिका अखबारले उनको समाचार छापे । त्यसपछि थाहा भयो, आजको बिलगेट्सका पछि  यिनै हेनरी एडबर्डको हात रहेछ ।

एडवर्ड त्यस्ता हार्डवेयर निर्माता हुन्, जसले पर्सनल कम्प्युटरको विशेष किट निर्माण गरेका थिए । यही छरितो किटकै कारण कोठाजत्रो कम्प्युटर एउटा टेबलमा अट्न  सक्ने भयो । उनको छरितो डिजाइनकै कारण कम्प्युटर बिक्रीमा क्रान्ति आयो, जसले बिलगेट्सलाई आजको अवस्थामा पुर्‍यायो । छरितो कम्प्युटर बनेपछि नै बिलगेट्स र  उनका मित्र पाल एलनले हेनरीको सहयोगले माइक्रोसप्ट कम्पनी निर्माण गर्ने प्रेरणा पाए । आफूले गरेको डिजाइनमा सफलता पाएपछि लामो समय माइक्रोसप्टमा काम  गरेका एडबर्ड पछिल्लो समय विशेष किसिमको यन्त्र निर्माणमा संलग्न थिए । यद्यपि उनको योजना पूरा नहुँदै गत फेब्रुअरीको पहिलो दिन उनको निधन भयो ।

रिचार्ड होलबुक

बुल्डोजर उपनामले परिचित अमेरिकाका प्रसिद्ध कूटनीतिज्ञ रिचार्ड होलबुकको गत महिना निधन भयो । उनको निधनले अफगानिस्तानमा भैरहेको आतंकवादविरोधी  युद्धलाई ठूलो धक्का लागेको महसुस गरिएको छ । उनको निधनमा अमेरिकाले मात्र होइन, बेलायत, फ्रान्स एवं भारतले समेत दुःख व्यक्त गरेको थियो । ५० वर्ष भन्दा  बढी अमेरिकाको कूटनीतिमा बिताएका होलबुकले यसअघि बोस्निया युद्ध तथा भियतनाम युद्धलाई निष्कर्षमा पुर्‍याएका थिए भने मृत्युअघिसम्म उनी अफगानिस्तान एवं  पाकिस्तानका लागि काम गरिरहेका थिए ।

लेसिल निल्सेन

सन् १९२६ मा जन्मिएका लेसिल निल्सन हलिउडका प्रसिद्ध कलाकार हुन् । ७८ वर्षको उमेरसम्म उनले अंग्रेजी सिनेमामा काम गरेका थिए । उनी बालकथा एवं  हास्यप्रधान चलचित्रका बिकाउ कलाकार मानिन्थे । उनले साना ठूला गरेर करिब २ सय चलचित्र एवं १ हजारवटा टेलिश्रृंखलामा काम गरे । तीमध्ये द न्याकेट गनको  सिरिज निकै लोकप्रिय भयो । उनी निर्देशन, श्वारांकन एवं निर्माताका रूपमा पनि प्रख्यात थिए ।

गर्ग हिकेनलुपर

चर्चित डकुमेन्ट्री मेकर गर्ग हिकेनलुपर 'हर्ट एन्ड डार्कनेस' डकुमेन्ट्रीबाट हलिउडमा प्रवेश गरेका थिए । उनले आफ्नो २२ वर्ष लामो करियरमा डकुमेन्ट मेकरका रूपमा यति ख्याति पाए कि उनलाई अमेरिकी नेसनल बोर्ड अफ रिभ्यु एवार्डद्वारा विभूषित गरिएको थियो । यस्तो एवार्ड ओस्कार एवार्ड प्राप्त गर्ने विशिष्ट व्यक्तिलाई मात्र प्रदान  गरिन्छ । गर्गद्वारा लिखित 'रिल कन्भरसेसन' फिल्म स्कुलमा अध्ययन गर्नेहरूका लागि टेक्स्ट बुकसरह मानिन्छ । उनको गत अक्टुबर २९ का दिन कामकै सिलसिलामा   निधन भएको थियो । चिकित्सकहरूले उनको मृत्यु हृदयगति बन्द भएका कारण भएको बताएका छन् । उनले जम्मा २० वटा मात्र डकुमेन्ट्री बनाए पनि ती डकुमेन्ट्रीले  विश्व सिनेमाको नयाँ परिभाषा कोरेको दाबी गरिएको छ ।

पेट्रिसिया नील

सन् ५० को दशकमा बलिउड सिनेमामा सौन्दर्यका लागि प्रख्यात मानिने पेट्रिसिया नीलको गत अगस्ट ८ मा निधन भयो । सन् १९५१ मा रिलिज भएको 'द डे द अर्थ  स्टुड स्टिल' चलचित्रले उनलाई एकैपटक विश्वकै नामुद स्टारमा परिणत गरायो । यो चलचित्र दोस्रो विश्वयुद्धको त्रासदीको सेरोफेरोमा उनिएको थियो । सन् ०६१ मा  रिलिज भएको चलचित्र 'ब्रेकफास्ट एट द टिफानिज' नीलको जीवनकै उत्कृष्ट चलचित्र बन्यो । यद्यपि उनले सन् ०६३ मा रिलिज भएको 'हुद' बाट उत्कृष्ट अभिनयका  लागि एकेडेमी अवार्ड हात पारिन् । उनको निधन क्यान्सरबाट भएको हो ।

लुइस औचिनक्लोस

दोस्रो विश्वयुद्धको मार्मिक चित्रण गरिएको उपन्यास 'द इनडिफिरेन्ट चिल्ड्रेन' बाट ख्याति कमाएका विश्वप्रशिद्ध लेखक लुइस औचिनक्लोसको वर्ष २०१० को जनवरीको २६  मा निधन भयो । दोस्रो विश्वयुद्धमा जलसेनामा रहँदा उनले उक्त युद्धलाई नजिकबाट निकाल्ने अवसर पाएका थिए । पहिलो पुस्तक नै लोकप्रिय भएपछि उनी सेनाको  जागिर छाडेर पूर्णकालीन लेखक बने । त्यसयता उनले ३१ वटा उपन्यास लेखेर आफूलाई विश्वप्रसिद्ध उपन्यासकारका रूपमा उभ्याए । त्यसबाहेक उनका १७ गैर  आख्यानात्मक कृति पनि प्रकाशित छन् । उपन्यासकारको छाप छाड्ने क्रममै उनले १८ वटा कथासंग्रह पनि प्रकाशित गरे । उनले टेलिभिजनका लागि पनि प्रशस्त स्क्रिप्ट  लेखेका थिए । पछिल्लो समयमा उनलाई फ्रान्सेली राज्यक्रान्ति अघिको राजतन्त्रको वर्णन गर्ने उपन्यास 'द क्याट अफ द किङ' ले विश्वप्रसिद्ध बनाएको थियो ।

sapthahik

0 comments:

Post a Comment