Translate

Wednesday

विद्यालय जीवनमै विवाह


मीना पुन १६ वर्षकी भइन्, तर उनी विवाह-बन्धनमा बाँधिएको भने दुई वर्ष बितिसकेको छ । हिमालय माध्यमिक विद्यालयमा कक्षा ९ अध्ययनरत पुनले  दुई वर्षअघि सात कक्षामा पढ्दा  गाउँकै युवासँग प्रेमविवाह गरेकी हुन् । उनका श्रीमान् उनीभन्दा आठ वर्ष जेठा छन् ।

गाउँमा चैत महिनामा मेला लाग्ने हुँदा उनले त्यही मेलामा आफूखुसी विवाह गरेकी हुन् । 'अहिलेको जमानामा प्रेम गरेर विवाह गर्नु कुनै पाप होइन,' विवाहपश्चात्  अध्ययनका लागि विद्यालय आएकी पुनले भनिन्, 'त्यही भएर हामीले पनि पहिले प्रेम गर्‍यौ अनि विवाह, पाप त गरेका होइनौं नि ?'

सुरुका एक वर्षसम्म दुबै पक्षका आफन्तले वास्ता नगर्दा मीना र उनका श्रीमान्ले सास्ती बेहोर्नुपरेको थियो । पछि परिवारलाई सम्झाइ-बुझाइ गरेपछि दुवैको जोडीलाई  परिवारले स्विकार गरिसकेका छन् । अहिले मीना नियमित रूपमा अध्ययनका लागि विद्यालय आउँछिन् भने श्रीमान् रोजगारीका क्रममा जिल्लाबाहिर छन् । उनकी साथी  विष्णु पुनले पनि परिवारको स्वीकृतिबिनै विवाह गरेकी हुन् । विष्णु १२ वर्षको उमेरमा दुई वर्षअघि सात कक्षा पढ्दापढ्दै विवाह-बन्धनमा बाँधिएकी हुन् । उनले पनि  आफूभन्दा सात वर्ष जेठो युवकसँग विवाह गरेकी हुन् । पुनले पढाइका कुरा व्यवहारमा थोरैले मात्र लागू गर्ने र त्यसको सिकार आफूहरु पनि भएको बताइन् ।

'सुरुमा त कम उमेरमा विवाह गरिस् भन्दै घरपरिवार, छरछिमेक सबैले गाली गरे,' उनले भनिन्, 'प्रेममा परेपछि घरपरिवारको समेत वास्ता हुँदो रहेनछ, त्यसैले दुवै  जनाले भागेर विवाह गरेका हौं ।' विवाह गरे पनि शारीरिक सम्पर्क उमेर पुगेपछि मात्र गर्ने उनले बताइन् ।

सुरुमा कसैले वास्ता नगरेपछि समस्यामा परेका दुवै जनाले पछि परिवारका सदस्यले आफैं कुरा बुझेको बताए । यो क्षेत्रमा मगर समुदायको बाक्लो बसोबास छ । यहाँ  परम्परागत रूपमा विवाह गर्ने भन्दा पनि आफू खुसी विवाह गर्नेहरूको संख्या उच्च छ । पछिल्लो समयमा विद्यालय अध्ययनरत युवायुवतीमा प्रेम-सम्बन्ध पछि भागेर  विवाह गर्ने प्रवृत्ति हाबी भएको छ । मगर समुदायका युवायुवती मात्र कम उमेरमा लगन गाँठो गाँस्न कस्सिएका भने होइनन् । यसको सिको कथित दलित समुदायका  युवायुवतीले पनि गर्दै आएका छन् । कक्षा सातमा अध्ययन गरिरहेकी १६ वर्षीया सुनिता परियारले अध्ययनका क्रममा गाउँभन्दा टाढाका २३ वर्षीय युवासँग विवाह गरिन् ।  विवाह योग्य उमेर नभए पनि परिवारिक अवस्थाका कारण उनले विवाह गरेकी हुन् । परिवारको दबाबमा विवाह गरे पनि उनी खुसी नै छिन् ।

'भागेर होस् वा परिवारको सहमतिमा एक दिन विवाह त गर्नु परिहाल्छ,' परियारले भनिन्, 'त्यही भएर कम उमेरमै भए पनि विवाह गरेकी हुँ ।' सानै उमेरमा विवाह गरे  पनि स्वास्थ्यलाई घात हुने कार्य नगर्ने र परिपक्व भएपछि मात्र शारीरिक सम्पर्क गर्ने उनले बताइन् । उनलेजस्तै केही साताअघि मात्र देउराली लाङ्दीकी १५ वर्षीया हेमा  परियारले परिवारको सल्लाहअनुसार विवाह गरिन् ।

६ कक्षामा अध्ययनरत हेमाले गाउँकै १९ वर्षीय युवासँग विवाह गरेकी हुन् । उनले पनि विवाह गर्नु ठूलो कुरा नभएको बरु विवाहपछि आइपर्ने परिस्थितिको सामना गर्नु  ठूलो कुरा भएको बताइन् । हेमाले आफू शिक्षित भएकाले कम उमेरमा विवाह गर्दा आइपर्ने समस्या सिर्जना हुन नदिने बताइन् । कम उमेरमै विवाह-बन्धनमा बाँधिएका  सबै छात्राछात्राले आफ्नो उमेर र स्वास्थ्यप्रति भने सचेत रहेको दाबी गरे । विवाह गर्नेमा कक्षा ६ देखि १० सम्मका छात्रछात्रा छन् ।

यो विद्यालयमा अध्ययन गर्ने १२ देखि १९ वर्षका एक दर्जन विद्यार्थी बर्सेनि विवाह-बन्धनमा बाँधिने गरेका छन् । विद्यालयमा पढ्दापढ्दै विवाह गरे पनि सबै जनाले विवाह  गरेको संकेत देखाउन हातमा चुरा र निधारमा टीका लगाएर आउने गरेका छन् । विद्यालय अध्ययनका क्रममा विवाह-बन्धनमा बाँधिए पनि उनीहरूले पढाइ भने छुटाएका  छैनन् ।

विद्यालयमा २०६२ सालदेखि विवाह गर्ने विद्यार्थीको संख्यामा वृद्धि भएको हो । माध्यमिक तहको पढाइका लागि विद्यार्थीहरू अन्यत्रै जान्थे । अन्य विद्यालयमा अध्ययनका  क्रममा एक/दुई जनाको विवाह भए पनि यो विद्यालयमा २०६५ सालमा माध्यमिक तहको पढाइ सुरु भएलगत्तै  विवाह गर्नेहरूको संख्या ह्वात्तै बढेको हो ।

'विद्यालयमा अध्ययन गर्ने केही विद्यार्थीले बाध्यताले र केहीले संस्कारले गर्दा विवाह गरेका हुन्,' प्रधानाध्यापक एकनाथ शर्माले भने, 'तर विवाह गरेर पनि पढ्न आउन  भने छोडेका छैनन् ।' शर्माका अनुसार मगर समुदायमा आफूखुसी विवाह गर्ने चलन हावी भएकाले यहाँ अध्ययन गर्ने विद्यार्थीले त्यसको सिको गरेका हुन् । शर्माले  पारिवारिक संस्कारले पनि विद्यार्थीलाई प्रभावित बनाएको बताए ।

०६२ सालयता उक्त विद्यालयमा अध्ययन गर्ने ४० भन्दा बढी विद्यार्थीले कसैले प्रेम गरेर त कसैले परिवारको दबाबमा कलिलै उमेरमा विवाह गरिसकेका छन् । 'हाम्रो  समाजमा भागेर विवाह गर्ने संस्कार व्याप्त छ,' स्थानीय बासिन्दा रणबहादुर पुनले भने, 'त्यही भएर कम उमेरमा विवाह गर्नेहरूको संख्या बढी भएको हो ।' पुनका  अनुसार कम उमेरमा विवाह भए पनि अहिलेसम्म अपि्रय घटना भने घटेको छैन ।



स्कुले जीवनमा

डम्बरसिं राई

खोटाङ- दिक्तेलको एउटा स्कुलमा कक्षा ९ मा अध्ययनरत एक छात्राको झोलामा कन्डमको प्याकेट भेटियो । उनले पुस्तकमा च्यापेर राखेको अवस्थामा भेटिएको कन्डमका  कारण कक्षामा खुल्दुली मच्चिएको थियो । ती छात्राकी हितैषीका अनुसार उनी सधैं कन्डम बोक्थिन् । कक्षा १० मा अध्ययनरत एक छात्रसँग उनको नियमित यौनसम्पर्क  हुने कुरा उनको साथीलाई थाहा थियो । मोबाइलमा एसएमएस र उनीहरूबीचको गोप्य सम्बन्धका क्लिप्सहरू पनि साथीले देखेका रहेछन् ।

त्यस्तै अर्को एक स्कुलकी छात्राको पनि त्यस्तै अवस्था छ । केटा साथीहरू धेरै भएकाले उनले सामूहिक यौनसम्पर्क गर्ने गरेकी छिन् । उनले एकैचोटि चार युवासँग  विनाकन्डम सम्पर्क गरेको कुरा साथीलाई सुनाएकी थिइन् ।

उनले पनि चारै जनासँग सामूहिक यौनसम्पर्क गरेको क्लिप्स तयार गरेकी छिन् । एक दिन साथीलाई सुनाउँदै उनले भनिन्- 'सुरु-सुरुमा गाह्रो भयो, पछि त बानी पर्‍यो ।'  उनले कहिले साथीको कोठामा, कहिले आफ्नै कोठामा गोप्य सम्बन्धको क्लिप्स तयार गरेकी हुन् ।

केटा साथीहरूले भनेपछि नाइँ भन्न नसकेको उनले बताइन् । क्लास चलिरहँदा केटासाथीले यौन उत्तेजक एसएमएस पठाउने र क्लासमा बस्नै नसक्ने अवस्थामा पुगेपछि  कतिपय कक्षाबाट बाहिरिएको पनि उनले साथीसमक्ष खुलासा गरिन् । स्कुलको तथ्यांकअनुसार उनको उमेर १५ वर्ष मात्र छ ।

उनीजस्तै धेरै किशोर-किशोरीहरू स्कुल उमेरमै यौनसम्पर्क गर्छन् । गाउँका विद्यालयहरूमा समेत यो विकृति देखा परेको छ । यो प्रतिनिधि घटना मात्र हो । श्रीमान् वैदे शिक रोजगार वा घरबाहिर गएकाहरूका कतिपय श्रीमती पनि यस्ता प्रकरणमा संलग्न छन् । कतिपयले दोस्रो विवाह नै गरेका छन् भने कतिले गर्भ बसेपछि गर्भपतन  गराउँछन् ।

असुरक्षित गर्भपतन बढ्यो

जिल्लामा असुरक्षित गर्भ पतन गराउनेहरूको संख्या बढेको छ । एक स्वास्थ्यकर्मीका अनुसार जिल्ला अस्पतालमा मासिक २० जनाभन्दा बढीले गर्भपतन गराउँछन् । त्यसो  त अस्पताल नआई असुरक्षित गर्भपतन गराउँदा धेरै जना थलिएका पनि छन् । एक स्वास्थ्यकर्मीले भने-'अस्पतालमा आउनुअघि घरमै वा गाउँका स्वास्थ्य निकायहरूमा  गर्भपतन गराउन खोज्छन्, त्यसमा असफल भएपछि मात्र अस्पताल आउँछन् ।'

विमल खतिवडा

0 comments:

Post a Comment