Translate

Tuesday

डांडा चढ्न डराए राजकुमार (फोटो फिचरसहित)



हायात होटलबाट सोमबार साँझ पैदल निस्कँदा साउदी राजकुमार अल वलिद विन तलालको गन्तव्य थियो- कपन गुम्बा। उनले सहयोगीमार्फत् गुम्बा जाने योजना सुनाएपछि प्रहरीले त्यही अनुसार योजना बनाएको थियो। रामहिटी आइपुगेपछि गुम्बा जान डाँडा उक्लनुपर्ने जानकारी पाएका राजकुमारले टाढैबाट गुम्बाका बत्ती हेरे र सहयोगीमार्फत् सुरक्षाकर्मीलाई सन्देश पठाए- भो डाँडा नचढौं।
विश्वका धनीहरूको सूचीमा १९ औं तलाल तीन दिने भ्रमण सकेर मंगलबार स्वदेश फर्कंदैछन्। नेपाल बसाइँका क्रममा उनले आइतबार टुसालदेखि पुरानो बानेश्वरसम्म पैदल यात्रा गरेका थिए भने राति मध्यरातमा बौद्ध र जोरपाटीको भ्रमण गरेका थिए। दैनिक एक घन्टा पैदल हिँड्ने उनी सोमबार पनि सुरक्षाकर्मी र सहयोगीसहित साँझ घुम्न निस्केका थिए।
प्रधानमन्त्री माधवकुमार नेपालसँग बालुवाटारमा भेट गरी होटल फर्किएका उनी साँझ ८ बजे सात निजी सुरक्षाकर्मी र नेपाल प्रहरीका ४० जनाको सुरक्षा घेरामा पैदल यात्रामा निस्किएका थिए ।


उनी ८ बजे हायात होटलको दक्षिण गेटबाट बाहिरिएका थिए। त्यसपछि उनी चुच्चेपाटी हुँदै महांकालतिर लागे। सडक सुनसान र अँध्यारो थियो। सहयोगीले दुई टर्च बालेर बाटो देखाइरहेका थिए। बाटो पहिल्याउन उनी आफैं पनि बेलाबेलामा मोबाइलको उज्यालो प्रयोग गरिरहेका थिए।
महाँकाल पानीट्यांकीअगाडि आएपछि उनी रोकिए। सडक किनारको एक पसलमा पसेर सहयोगीमार्फत् पसलेलाई सोधे, 'पसल कत्तिको चल्छ?' पसले धनकुमार राई अत्तालिए।

राजकुमार तलालले 'चिज बल' निकाले र सहयोगीमार्फत् फेरि सोधे, 'पसलको लगानी कति हो?'
हड्बडाएका राईले भने, 'तीन हजार।'
राजकुमारले डलरमा सोधेपछि उनकै सहयोगीले भने, ‘४० डलर।'
उनले आश्चर्य मानेजस्तो गरे र अगाडि बढे। तलाल हिँडेपछि बल्ल राईले सोधे, 'यिनै हुन् राजकुमार?'

महाँकाल चौर पुग्दा केही स्थानीय उनलाई हेर्न सडक किनारमा भेला भएका थिए। उनी देखिएलगत्तै सडक किनारमा उभिएका स्थानीयवासीले स्वागतमा ताली बजाए। ‘थ्यांक यु,' उनले हात हल्लाउँदै अभिवनदन फर्काए।
उनको सुरक्षामा प्रहरीको तीन र उनका निजी सुरक्षाकर्मीको एक घेरा बनाइएको थियो। पहिलो घेरामा लाठी बोकेका प्रहरी, दोस्रो घेरामा सट मेसिनगनसहितका प्रहरी र नजिकै तेस्रो घेरामा सुरक्षा महाशाखाका सुरक्षाकर्मी थिए। सबभन्दा नजिक भने उनकै सुरक्षाकर्मी खटिएका थिए।

राजकुमार तलालको इच्छा अनुसारै उनलाई कपन गुम्बा पुर्‍याउन चुच्चेपाटी, महाँकाल, रामहिटी, फैका हुँदै रुट मिलाइएको थियो। सुरक्षा र सहयोगका निम्ति खटिएका प्रहरी निरीक्षक फणिन्द्र प्रसाईलाई उनी सोध्दै थिए, 'त्यहाँ भिक्षुहरू छन्?' प्रसाईले 'छन्' भनेपछि उनले त्यतै जाने बताएका थिए।
प्रहरी निरीक्षक प्रसाईं अघि बढेर राजकुमार तलाललाई टाढैबाट गुम्बामा बलिरहेको बत्ती देखाउँदै भने, 'त्यो पहाडको टुप्पो हो, त्यहाँबाट पूरै काठमाडौं देखिन्छ, त्यहाँ पुग्न उकालो चढ्नुपर्छ।'

राजकुमारले टाढैबाट गुम्बालाई हेरेर चित्त बुझाउँदै डाँडा नउक्लने बताएपछि थाकेका प्रहरीले केही हलुका महसुस गरे। रुट परिर्वतनको जानकारी दिन प्रसाईले वाकिटकी खोल्दै भने, 'मेट्रो कन्ट्रोल सर्कल २१२ रुट परिर्वतन भयो। अब फैका, सरस्वतीनगर, गोपीकृष्ण, चाबहिल हुँदै हायात जाने।'

राजकुमारले स्थानीयसँग कुराकानी गर्ने इच्छा देखाए पनि पसलहरू बन्द भइसकेकाले त्यो पूरा हुन पाएन। तेन्जिङचोक, सरस्वतीनगर, गापीकृष्ण हल हुँदै चक्रपथ टेकिएपछि उनको सुरक्षामा प्रहरीको सिआरभी थपिएको थियो।

चाबहिल चोक पुग्दा राजकुमार तलालको गति केही कम भइसकेको थियो। उनी एक हातले मोबाइल समाउँदै अर्को हातले पसिना पुछिरहेका थिए। उनका सहयोगीले प्रहरीलाई होटल पुग्न लाग्ने समय पटक-पटक सोधिरहे। प्रहरीको जवाफ हुन्थ्यो, 'अब मात्र ३ मिनेट।
सवा ९ बजे हायातको गेटनजिकै पुगेपछि भने थाकेपनि राजकुमारको मुहार केही हँसिलो देखियो। (फोटोहरुः विकास कार्की/विजय राई/दीपेश श्रेष्ठ)





केपी ढुंगाना

0 comments:

Post a Comment