नयाँ पत्रिका
काठमाडौं, १ भदौ
राजधानीका अधिकांश पाँचतारे होटलले ग्राहक तथा पाहुनासँग इन्टरनेट प्रयोगबापत महँगो शुल्क लिने गरेका छन् । होटलमा सेवा लिने ग्राहकले निःशुल्क इन्टरनेट सुविधा पाउनुपर्ने भए पनि महँगो शुल्क तिर्नुपरिरहेेको छ ।
सबै तारे होटलमा वाइफाइ इन्टरनेट सुविधा भए पनि त्यसका लागि छुट्टै शुल्क तिर्नुपर्छ । कतिपय होटलमा घन्टाको हिसाबमा शुल्क लिइन्छ भने कतिपयले दिनको हिसाबले लिने गरेका छन् । होटल प्रशासनले युजर नेम र पासवर्ड उपलब्ध गराएपछि मात्र ग्राहकले वाइफाइ इन्टरनेट चलाउन सक्छन् ।
राजधानीको तारे होटल हायात रिजेन्सीले इन्टरनेटको प्रतिघन्टा ९ अमेरिकी डलर शुल्क लिने गरेको छ । त्यस्तो शुल्क सामान्य, डिलक्स र स्विट सबै कोठाका लागि बराबर छ । रिजेन्सी क्लबका कोठामा बस्नेले भने इन्टरनेट शुल्क तिर्नुपर्दैन । होटलको सभाहलमा कुनै कार्यक्रम गर्नुपरे इन्टरनेटको छुट्टै शुल्क तिर्नुपर्छ । त्यसका लागि प्रतिदिन १ सय ५० अमेरिकी डलर शुल्क तोकिएको छ । यसबाट ५ वटासम्म ल्यापटप वा कम्प्युटरमा इन्टरनेट चलाउन सकिन्छ ।
अर्को पाँचतारे होटल सांगि्रलामा पनि इन्टरनेटका लागि प्रतिघन्टा ३ सय ५० तिर्नुपर्छ, कार्यक्रमका लागि पनि सोही दर तोकिएको छ ।
होटल सोल्टी क्राउन प्लाजामा इन्टरनेटका लागि प्रतिघन्टा ८ सय ५० रुपैयाँँ छुट्टै शुल्क तिर्नुपर्छ । कार्यक्रमका लागि भने हल बुकिङ गर्दा भएको सम्झौताअनुसार शुल्क निर्धारण गरिएको हुन्छ ।
होटल अन्नपूर्णमा इन्टरनेटका लागि प्रतिघन्टा ३ सय ७३ रुपैयाँँ अतिरिक्त शुल्क तिर्नुपर्छ । २४ घन्टाको भने १२ सय ४३ रुपैयाँ तोकिएको छ ।
अर्को पाँचतारे याक एन्ड यतीले वाइफाइ इन्टरनेट प्रयोग गरेबापत प्रतिदिन ९ सय ९४ रुपैयाँँ अतिरिक्त शुल्क लिने गरेको छ । ब्रोडब्यान्डमा भने प्रतिघन्टा ६ सय रुपैयाँ तिर्नुपर्छ ।
होटल एभरेस्टले वाइफाइ इन्टरनेटको प्रतिदिन १२ सय रुपैयाँ शुल्क लिन्छ । कार्यक्रमका लागि भने प्रतिदिन ८ सय रुपैयाँ तिर्नुपर्छ ।
पाँचतारे बन्ने क्रममा रहेको होटल हिमालयले वाइफाइ इन्टरनेटको प्रतिदिन ८ सय रुपैयाँ शुल्क लिने गरेको छ । बिजनेस सेन्टरमा होटलकै कम्प्युटरमा इन्टरनेट प्रयोग गरे प्रतिदिन ४ सय तिर्नुपर्छ ।
लाजिम्पाटस्थित होटल र्याडिसनले भने इन्टरनेट प्रयोग गरेबापत ग्राहकसँग अतिरिक्त शुल्क लिँदैन । होटलका सबै कोठामा इन्टरनेट निःशुल्क प्रयोग गर्न सकिने होटल प्रशासनले जनाएको छ । होटलबाट कुपन लिएर २४ घन्टासम्म निःशुल्क इन्टरनेट चलाउन सकिन्छ ।
होटल तथा रिसोर्टको वर्गीकरणसम्बन्धी मापदण्ड ०५५ मा पाँचतारे होटलमा अनिवार्य रूपमा इन्टरनेट सेवा हुनुपर्ने उल्लेख भए पनि अतिरिक्त शुल्क लिन पाइने/नपाइने भन्ने विषयमा कुनै उल्लेख छैन । नेपालमा ४/५ वर्षअघिदेखि वाइफाइ इन्टरनेटको प्रयोग हुन थालेको हो । हाल सबै पाँचतारे होटलमा वाइफाइ इन्टरनेट छ । यसअघि रेडियो लिंक वा तारयुक्त इन्टरनेटको प्रचलन थियो ।
पर्यटन मन्त्रालयको पर्यटन उद्योग महाशाखाले तारे होटलमा इन्टरनेट महँगो भएको गुनासो नआएको बताएको छ । कुनै गुनासो आए अनुगमन गरिने महाशाखाले बताएको छ ।
तारे होटलको इन्टरनेट शुल्क
हायात रिजेन्सी ९ डलर प्रतिघन्टा
होटल सांगि्रला ३५० रुपैयाँ प्रतिघन्टा
याक एन्ड यती ९९४ रुपैयाँ प्रतिदिन
होटल सोल्टी ८ सय ५० रुपैयाँ प्रतिघन्टा
होटल अन्नपूर्ण ३७३ रुपैयाँ प्रतिघन्टा
होटल एभरेस्ट १६ डलर प्रतिदिन
होटल हिमालय ७०० रुपैयाँ प्रतिदिन
र्याडिसन होटल निःशुल्क










0 comments:
Post a Comment