– नारायण श्रेष्ठ-
सन २००८ को समरमा अमेरिका टेक्दा हपक्क तातो हावाले मलाई एकैपटक समात्यो। काठमाण्डौको मोडेरेट हावापानी छोडेपछिको त्यो मेरो पहिलो अमेरिकी अनुभव थियो। राजधानी छोड्दा मैले त्यस्तो ‘तातो’ र ‘ह्युमिड’ अमेरिका कल्पना गरेको थिईन। खुल्ला समाजको उदाहरण दिईने अमेरिकी व्यवस्था र सामाजिक संरचनाका बारेमा मेरा कल्पना अली फरक र अमूर्त थिए। अमेरिकी समाज युरोपसंग तुलना गरिने हुनाले कतिपय युरोपेली ठाउँजस्तै अमेरिका पनि केही चीसो होला भन्ने मेरो कल्पना थियो। सन २००८ को त्यो यात्रामा राष्ट्रपतीय चुनाव तयारीको ताप देख्ने मौका मिल्यो। अस्वेत मुलका बराक ओबामाको चुनावी दौड मेरा लागि रुचिको विषय थियो। युवाहरु र आप्रवासी समुदायमा उनको समर्थक प्रसस्तै थिए, तर मैले भेटेका कतिपय स्वेतहरु भने अमेरिकी समाज सोचेभन्दा बढी सांप्रदायीक भएको र अस्वेत अमेरिकी ओबामाले चुनाव जित्न नसक्ने तर्क गर्थे । अमेरिकी समाजको ‘अ’ पनि नबुझ्ने मेरा लागि जुनसुकै तर्कलाई पनि होला भन्नु बाहेक अर्को विकल्प थिएन। दुबैखाले तर्कहरुका अगाडि ‘हुनसक्छ’ भन्ने अर्थमा मुन्टो हल्लाउँदै ओबामाको अटोबायोग्राफी ‘ड्रिम्स फ्रम माई फाद(र)’ लिएर म नेपाल फर्किएं। 
त्यसको केही हप्तापछि काठमाण्डौमा अमेरिकी दुतावासका कर्मचारी र अमेरिकी गैर सरकारी संस्थाहरुमा काम गर्नेहरु बीचमा अमेरिकी चुनावका बारेमा एउटा प्रारम्भीक बहस भयो। त्यो बहसको लगत्तै ‘ओबामा’ लेखिएका स्टिकरहरु राजधानी काठमाण्डौको धुलाम्य सडकामा पनि देख्न पाईयो। रमाईलो के थियो भने आधा दीन समय फरक हुने अमेरिकाको चुनावमा नेपाली रुची निकै बाक्लो थियो।
ती घटना र दृष्यहरुको दुई वर्षपछि, सन २०१० को जुन महिनामा, म फेरि अमेरिका आउँदै थिएं। देशमा प्रधानमन्त्रि माधव नेपालले पदबाट राजीनामा दिएका थिए। तर सत्ता सम्हाल्ने अर्को मुखियाको टुंगो थिएन। काठमाण्डौबाट नयाँ दिल्ली लाग्दा विमानमा सयौं युवाहरु खाडी र मलेसिया उड्दै थिए। दर्जनौं भुटानीहरु नेपाल छोडेर तेश्रो देश स्थानान्तरण हुँदै थिए। केही युवाहरुको जोडी पी आर(स्थायी बसोबासको ब्यवस्था) मिलाएर क्यानडा लाग्दै थिए। नेपाली समाजको एउटा कम्प्लेक्स जहाजभित्र देख्दै थिएं म। बल भएका, बुद्दी भएका र केही नभएका – सबैको जोडबल देश बाहीर जानुमै थियो। समाजको यो बाध्यता, पलायनको यो तरिका झन झन द्रुत भैरहेको छ। युवाहरु सवभन्दा धेरै निरास थिए। पढेकाहरु देशमा केही गर्ने अवसर नभएकोमा दिक्दार थिए। पढ्न नपाएकाहरु बेरोजगार हुनु परेकोमा निरास थिए। देशभित्र रोजगारीको कुनै अवसर नभएकाले बाद्य भएर विदेश हिंड्नु परेको उनीहरुको दुखेसो थियो। 
परदेश हिंडेका तन्नेरिहरुको अवस्था देख्दा लाग्थ्यो – आशा केहीमा छ भने राजनीति गर्ने नेताहरुमा मात्रै छ। उनीहरु आफैभित्र रमाएका छन, आफैभित्र आशाको एउटा धर्को पालेर बसेका छन। तर यो बेहालका बारेमा उनीहरुलाई कुनै मतलव छैन। आफु मात्रै ठीक अरु बेठीक, आफ्नै डम्फुको तालमा सवैले नाच्नै पर्छ नत्र भर्सेलै परोस भन्ने सैलीको राजनीति देख्दा मन खिन्न भएर आयो। बुद्दी, ताकत र शक्तिको पलायन त अत्यास लाग्दो छंदै थियो; देशका नेताहरु किन जनताको हितमा भन्दा आफू र आफ्ना कार्यकर्ताका लागि मात्र काम गरिरहेका छन् भन्ने देख्दा स्खलीत नेताहरुको तस्विर मात्र आउँन थल्यो।
त्यस्तै सोच्दै म सपना र अवसरहरुको भूमि मानिने अमेरिका आईपुगें। यो पटकको आगमनमा मेरा केही योजनाहरु थिए। मेरो नियमित कार्यक्रम ‘साझा सवाल’ तयार गर्नु थियो। अमेरिकामा बसोबास गर्ने नेपाली तथा अमेरिकी नेपालीहरुसंग कुराकानी गर्ने योजान थियो। नेपालको राजनीति र आर्थिक अवस्थालाई उनीहरुले कसरि हेरिरहेका छन भन्ने जान्नु थियो।
यसपटक आईपुग्दा ‘परिवर्तन हामी सक्छौं’ भन्ने ओबामाले राष्ट्रपतीय चुनाव जीतिसकेका थिए। अमेरिकी मिडियामा जन स्वास्थ्य, मेक्सिकोको खाडी नजिक समुद्र पींधबाट पोखिएको तेल लगायतका मुद्दामा वहस चल्दै थियो। आर्थिक मन्दीले गाँजेपछि तंग्रिन लागेको अमेरिकी समाजमा कुरा चाहीं आशा र विश्वासकै थियो। प्रत्येक व्यक्तिमा जसरि पनि अगाडि नै बढ्नु पर्छ, काम गर्न सके राता रात सफल हुन सकिन्छ भन्ने विश्वास देखिन्थ्यो। यो मान्यता र आत्मविश्वास मेरा लागि गजवको विषय हो। असफल कोही पनि हुँदैनन, सफल बन्ने सपना नै बुनिरहेका छन हर कोही अमेरिकामा।
अमेरिकामा भेटिएका र मैले कुराकानी गरेका मध्ये कतिपय बिद्यार्थीहरु थिए। भिसा स्ट्याटस मिलाउन, कलेज धान्न र पढाई खर्च पुर्याउन तिनीहरु रातोदिन घोटिईरहेका छन। भिसा जोगाईराख्न कम्तिमा पनि निश्चीत कोर्स पढेकै हुनु पर्ने अमेरीकी नीति पुरा गर्न तिनीहरु कमाएको रकमको महत्वपुर्ण हिस्सा कलेजहरुलाई तीर्न बाध्य छन। गैरकानुनी बसोबास गर्ने पनि छन। कानूनि रुपामा बसोबास गर्ने र केही पुरानाहरुको चाल बेग्लै छ। कलेज पढाउने र राम्रो सरकारी वा कम्पनिमा काम गर्नेहरुको अवस्था लोभलाग्दो छ। केही केही छन जो नेपाली माटो र व्यवस्थालाई जतिखेर पनि गाली गर्छन। तिनीहरुलाई अमेरिकामा पनि काठमाण्डौको बाग्मति गनाउँछ, फोहरले सताउँछ। त्यस्ताहरु चैं कुनै न कुनै नाममा देश, नीति र नेतालाई दोश दिएर अमेरिकामै फुरुङ्ग छन।
जतिबेला पनि देशकै कुरा, देशकै चिन्ता र चिन्तन गर्ने पनि छन। देश नगएको वर्षौं भयो र पनि उनीहरुमा देशप्रति आस्था र प्रेम देख्दा मलाई खुसी लाग्यो । अलि अलि भए पनि नेपाललाई सघाउँ, आफै पढेको स्कुललाई भए पनि राम्रो बनाउँ भन्ने सकारात्मक सोचकाहरु पनि छन। कतिपय नेपालीहरु अमेरिकामा अध्ययनपछि नेपालै फर्कने र केहि गर्ने सपना देखिरहेका छन। अर्को एउटा तप्का छ जो नेपाल नगएको वर्षौं भेसकेको छ। कल्पनाकै भरमा नेपाली निती र प्रणालीलाई गाली गर्नेहरुमा ती माहीर देखिन्छन। सारमा अमेरिकी आप्रवासी समाजको विविधता नेपाली अमेरिकीमा पनि देखिन्छ।
काठमाण्डौको राजनीतिमा विदेसी प्रभाव छ भनेर विश्वास गर्नेहरु धेरै छन। उनीहरुको तर्कमा छिमेकी देश र सात समुन्द्रपारिको अमेरिका लगायतका मुलुकहरु नेपाल जस्तो सानो देशको आन्तरिक मामलामा हावी छन। तर अमेरिकामा रहेका नेपाली समुदाय – अमेरिकी नीति निर्माताहरुका लागि खासै चासोको मुद्दा बनेको मैले देखिन। अमेरिकामा रहेका नेपाली समुदायको महत्वपुर्ण भनिएका कतिपय औपचारिक कार्यक्रमहरुमा कतै पनि अमेरिकी कंग्रेसम्यान वा सिनेटेरको उपस्थिती हुंदैन। सायद यहाँ रहेका नेपालीहरुका लागि त्यहाँसम्म पहुँच विस्तार गर्ने खाँचो नै परेको छैन वा उनीहरु पनि त्यहाँ पुग्ने सपान मात्रै बोकिरहेका छन।
अमेरिकी समाजका लागि नेपालीहरुको उपस्थिती सानो अंस मात्रै हो । यसले अमेरिकी ध्यान खिच्न सकिरहेको छैन। तर अवको एक दशकपछि अमेरिकी कांग्रेसमा सांकेतिक भए पनि नेपाली उमेद्वार उठाउने सपना देख्ने पनि छन। 
सिंहदरबारको राजनीति ताक्नेहरु बेला मौका अमेरिका धाउन मन पराउँछन। त्यसले नेपाली नेता र समाजमा पार्ने मनोबैज्ञाक असर त केही होला। तर अमेरिका आएर नेताहरुले खासै ठूलो उपलव्धी हात लाउन नसकेको यहाँ रहेका नेपालीहरुको गुनासो हुने गर्छ। सायद अमेरिकाको चील्ला सडक, पुल माथि पुलको खात र अग्ला भवनहरु देखेर नेताहरु अचम्मीत हुँदा गर्न सकिने संभावित कुटनीतिक पहल नै बिर्सएका हुन सक्छन। यस्तो पनि तर्क सुन्न पाईन्छ कि यी चिल्ला राजमार्गमा ८० माईल प्रतिघण्टाको गतिमा नेताहरुलाई सयर गराउने हो भने उनीहरुले देश र जनतालाई केहि गर्न नसकेको र साँच्चै आफुले गरेका गल्ति महसुस गर्नेछन। ती कल्पना वास्तविकतामा परिणत हुन सक्छन या सक्दैन तर यथार्थमा नेताहरु अमेरिका छोडेर एअरपोर्ट पुग्ने वित्तिकै विकासको यो नमुना बिर्सिदिन्छन। संझने भए कम्तिमा भएका कानून पालना गराउन केही प्रयास त हुन्थ्यो होला !
अमेरिकी राष्ट्रपति ओवामाले आफ्नो पुस्तक ‘ड्रिम्स फ्रम माई फाद(र)’ मा ज्ञानका लागि अमेरिका पढ्न आएका पहिलो पुस्ताका केन्याली आफ्ना बाबुका बारेमा – ‘अमेरिकी अर्थव्यवस्थाको ज्ञान लिएपछि पिताजी केन्या फर्किएको’ बताएका छन। पुस्तकमा उल्लीखित ओबामाका संघर्षमय दिनहरु हरकोहीका लागि उर्जा थप्न योग्य छन। दुई वर्षको अन्तरालमा उक्त पुस्तक मैले पढें। र यतिवेलाको अमेरिका यात्रामा मनमनै कल्पना गर्दै छु के पछिल्लो पुस्ताको नेपाली अमेरिकी यो देशको कंग्रेसम्यान या सिनेटर बन्ने हैसियत राख्लान? 
(यो लेख अमेरिकाबाट प्रकाशित नेपाली खबरबाट साभार गरिएको हो)
Translate
Monday
Subscribe to:
Post Comments (Atom)










0 comments:
Post a Comment