
प्रहरीले एयर फ्रान्समा काम गर्ने एक महिलालाई विमानभित्रै हुने पकेटमारीका घटनामा दोषी हुनसक्ने आधारहरु फेला पारेपछि पक्राउ गरेको हो । ती महिलाले विमानभित्रका यात्रुहरु निदाइरहेका बेला यात्रुहरुको हजारौँ यूरो चोरी गरेको पत्ता लगाएको छ । उनले नगद मात्र होइन, नगद झिक्न उपयोग गरिने डेबिट, क्रेडिट कार्डहरु, गरगहनाहरु चोरेकी छन् ।
केही महिनादेखि प्रहरीले विमानभित्र हुने पकेटमारीका घटनाका घटनालाई अनुसधान गरिरहेको थियो । लुसी आर भनी चिनिने ती महिलाको यसमा हात हुने आशंका गर्दै तिनलाई पक्राउ गरिएको हो । फ्रान्सबाट जापान तथा कोरियामा हुने विमान यात्राका क्रममा ४७ वषर्ीया ती महिलाको हात हुने प्रवल सम्भावना प्रहरीले फेला पारेका थिए ।
"उनको बैंक अकाउन्टमाथि विचार गर्दा उनको जीवन शैली र आम्दानीबीच आकाश जमिनको फरक देखियो", घटनामा अनुसन्धानरत् एक अधिकारीको भनाइ उद्धृत गर्दै अखबारहरुले लेखेका छन् ।
गएको जनवरी महिनामा ४ हजार यूरो चोरी भएपछि प्रहरीले यस सम्बन्धमा अनुसन्धान गरेको थियो । पाँच प्यासेन्जरले आफूले बोकेको नगद चोरी भएको गुनासो गरेका थिए । चोरले विमानयात्रुहरु निदाएको मौकामा चौका हान्ने गरेकी थिइन् । यात्रु निदाएका बेला तिनले लगाएका घडी, गहनागुरिया, क्रेडिट कार्ड र चेक बुकसमेत चोर्ने गरेकी थिइन् ।
प्रकाशित समाचारअनुसार ती महिला बिजनेस क्लासमा मात्र चोर्ने गर्थिन् र पहिलो चोरी मार्च २००९ मा थालेकी थिइन् । आफ्नो आर्थिक अवस्था खस्किदै गएपछि उनले चोर्न थालेको स्वीकार गर्दै अहिलेसम्म २६ पटक चोरी गरेको स्वीकारेकी एक अखबारले लेखेको छ ।
जनवरीदेखि अहिलेसम्म १ सय ४० चोरीका घटना भएको बताइएको छ । "जापानीहरु चोर्नका लागि निकै उपयुक्त व्यक्ति रहेछन्, किनभने उनीहरु प्रायः नगद नै बोक्ने गर्छन्", प्रहरी स्रोतले भन्यो- "उनीहरु प्रायः क्रेडिट कार्ड बोक्न उपयुक्त मान्दैनन् ।"
चोरीको अभियोगमा पक्राउ परेकी ती महिलाको घरमा ट्राभलर्स चेकहरु, खाली चेकुबकहरु र बैंक कार्ड नम्बरहरु फेला पारिएका थिए । त्यसयता उनलाई पक्राउ गरी कारवाहीका लागि जेल चलान गरिएको बताइएको छ ।










0 comments:
Post a Comment